चिनबाट फर्किएका ७१ चिनियाँ कामदार क्वारेन्टाइनमा

समाधान संवाददाता २०७६ फागुन २८ गते १२:१३

ईश्वर देवकोटा
पोखरा

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका ७१ जना चिनियाँ कामदारलाई क्वारेन्टाइनमा राखिएको छ । चीनको छेन्दु र बेइजिङबाट नयाँ वर्षको बिदा मनाएर नेपाल फर्किएका कामदारलाई आयोजना भित्रकै क्वारेन्टाइनमा राखिएको हो । नेपाल आउँदा स्वास्थ्य जाँच प्रमाणपत्र लिएर आएका कामदारहरु आफैंले सम्भावित संक्रमणबाट सावधानी अपनाउन क्वारेन्टाइन रोजेको आयोजना प्रमुख विनेश मुनकर्मीले बताए । ‘चीनमै १४ दिन क्वारेन्टाइनमा बसेर स्वास्थ्य जाँच प्रमाण पत्र लिएर उनीहरु काममा फर्किएका हुन्,’ उनले भने, ‘सावधानी अपनाउन र थप जोखिम नउठाउन उनीहरुकै रहर अनुसार आयोजनाले तत्काल काममा नपठाई क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाएको छ ।’

निर्माण पक्षले दिनको ३ पटक ज्वरो नाप्ने काम गरिरहेको आयोजना प्रमुख मुनकर्मीले जानकारी दिए । प्रदेश स्वास्थ्य निर्देशनालयलाई खबर भएपनि आजभोलिमा आइपुग्ने खबर पाएको उनको भनाइ छ । हालसम्म सबैको अवस्था सामान्य रहेको र ज्वरो देखिएमा मात्र अस्पताल रिफर हुने आयोजना प्रमुख मुनकर्मीले बताए ।

Advertisement

मार्च ४, ५ र ६ मा गरी ७१ जना कामदार पोखरा आएका हुन् । केही साताअघि ३६ जना कामदार बिदा मनाएर फर्किदा उनीहरुलाई पनि त्यसरी नै क्वारेन्टाइनमा राखिएको थियो । आयोजना प्रमुख मुनकर्मीले भने, ‘पहिलो चरणमै हामीले सावधानीपूर्वक ३६ जना कामदारलाई १४ दिन आयोजनास्थलकै क्वारेन्टाइनमा राखेका थियौं । निर्माण पक्षबाटै स्वास्थ्य जाँच सम्बन्धी काम भएको थियो । तीसहित अहिले १ सय ९० चिनियाँ कामदार फिल्डमा खटिएका छन् ।’ आयोजनामा २ सय ८० जना नेपाली कामदार पनि संलग्न छन् । चिनियाँ कामदार आउने जाने क्रम चलिनै रहने आयोजनाको भनाइ छ ।

विमानस्थलमा काम गरिरहेका चिनियाँ कामदारको स्वास्थ्यबारे निरन्तर अपडेटमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदबिन्दु शर्माले बताए । ‘आइतबार बिहान हामी आयोजना क्षेत्रमा गएका थियौं । चीनबाट आएका कामदारहरुको अवस्था भनेको अनिवार्य १४ दिन क्वारेन्टाइनमा बसेर हेल्थ सर्टिफिकेट लिएर आएका छन्,’ उनले भने, ‘डबल स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न पनि कामदारहरु सेल्फ क्वारेन्टाइनमा बस्नुहुन्छ ।’ व्यवस्थापकीय तहका कामदार पनि स्वयं बिदा लिएर क्वारेन्टाइन रोजेको निर्देशक डा. शर्माले सुनाए ।

Advertisement

विमानस्थलसहित प्रदेशका आयोजनामा कार्यरत रहेका चिनियाँ कामदारहरुको स्वास्थ्य अवस्थाबारे निर्देशनालयले निगरानी र निरन्तर सम्पर्कमार्फत जानकारी लिइरहेको उनले बताए । ‘नवलपुरको होङ्सी सिमेन्ट कारखाना, नारायणगढ बुटवल सडकखण्ड र म्याग्दीको हाइड्रोमा कार्यरत चिनियाँ कामदारको स्वास्थ्य अपडेट लिइरहेका छौं । हालसम्मको सबै कामदारको स्वास्थ्य सामान्य अवस्थामा देखिएको छ । बाहिर भइरहेको हल्ला जस्तो खतरा कुनैपनि आयोजनाको कामदारमा छैन्,’ उनले भने । निर्देशनालयका अनुसार होङ्सी सिमेन्ट कारखानामा १ सय ९, लमजुङको मस्र्यादी गाउँपालिकास्थित न्यादी हाइड्रोपावरमा ३८ र बुटवल नारायणगढ सडक खण्डमा २६ जना चिनियाँ कामदार खटिएका छन् ।

चिनको वुहानबाट विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण नेपालमा पनि देखिन सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले जारी गरेको सूचनापश्चात्त थप त्रासको अवस्था सिर्जना भएको छ । यही अवस्थाको मौका छोप्दै पोखरामा पनि अत्यावश्यक मेडिकल सामग्रीको कृत्रिम अभाव सिर्जना हुँदा चिन्ता थपिएको हो । बजारमा सहजै उपलब्ध हुने मास्क, सेनिटाइजर, ग्लोप्स् लगायतका सामग्रीको कालोबजारी भइरहेको तर्फ सरकारी निकायबाट पर्याप्त अनुगमन नभएको गुनासो जनस्तरबाट सुनिएको छ । तर, बजारलाई नियन्त्रण गर्ने अधिकार आफूसँग नभएपनि अधिकारप्राप्त निकायसँग समन्वय गरिरहेको निर्देशनालयका निर्देशक डा बिनोदबिन्दू शर्मा सुनाउँछन् । ‘केहीदिनअघिदेखि स्वास्थ्य सामग्रीको कालोबजारी गर्ने औषधि पसलहरुमा अनुगमन गरी ५० हजार जमानत लिइ जिल्ला प्रशासन कास्कीले अनुसन्धान गरिरहेको छ । अनुगमनका लागि प्रदेश सरकार, जिल्ला तहका निकाय र उपभोक्ता मञ्चबीच समन्वय निरन्तर छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया