…अनि कोरोना संक्रमितलाई गाउँपालिका अध्यक्षका छोराले अस्पताल पुर्‍याए

समाधान संवाददाता २०७७ जेठ १९ गते १८:४१

अनुप पौडेल, पोखरा

नवलपुरको विनय त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीको मोबाइलमा बिहानै साढे ५ बजे फोन आयो । फोन गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख ध्रुवराज काफ्लेको थियो । गाउँपालिकाको क्वारेन्टाइनमा बसेका १ जनामा कोरोना देखिएको जानकारी उनले अध्यक्ष जिसीलाई गराए ।

१४ वर्षीय ती संक्रमितलाई अस्पताल लैजान जिसीले जिल्लाभरका सबै एम्बुलेन्सलाई सम्पर्क गरे । तर चालकले अस्पतालसम्म लैजान मानेनन् । एम्बुलेन्सवालाले जवाफ दिए, ‘सरकारले प्रहरी, स्वास्थ्यकर्मी सबैको बिमा गरेको छ । तर हाम्रो गरेको छैन । हामी असुरक्षित भएर काम गर्न सक्दैनौं ।’

Advertisement

त्यसपछि अध्यक्ष जिसीले एम्बुलेन्स चालक नआएको जानकारी छोरा आशिषलाई गराए । ‘बिरामीलाई त्यहीँ छोडिराख्दा संत्रमण फैलिने डरले अस्पताल लैजान एम्बुलेन्स खोजें । सुरक्षित नभएको भनेर कोही आउन मानेन् । त्यसपछि छोरालाई जानकारी गराएँ । उसले म लैजान्छु भन्यो,’ अध्यक्ष जिसीले भने ।

उमेरले २७ पुगेका आशिषले संक्रमितलाई आफूले नै अस्पताल लिएर जाने दृढता देखाए । ‘बुवाले बिहानैबाट एम्बुलेन्सलाई फोन गरेको देखेको थिएँ । कोही नआएपछि मलाई भन्नुभयो । त्यसपछि म आफैले संक्रमितलाई लिएर जान्छु भनें,’ आशिषले भने ।

Advertisement

स्थानीय लालीगुराँस युवा क्लबको अध्यक्ष हुँदा आफ्नै पहलमा किनेको एम्बुलेन्स उनलाई काम लाग्यो । ‘२०७१ सालमा क्लब दर्ता गरेर आफ्नै सक्रियतामा एम्बुलेन्स किनेको थिएँ । त्यही एम्बुलेन्समा हालेर संक्रमितलाई अस्पताल लगें,’ उनले सुनाए ।

संक्रमित बालकलाई अस्पताल पु¥याउने आशिष जिसी

उनले गाउँपालिकाको वडा नम्बर ६ मा भेटिएका कोरोना संक्रमितलाई एम्बुलेन्सले आनाकानी गर्दै अस्पताल लगेको देखेका थिए । आफूले कोरोनाका बारेमा विभिन्न सामग्री पढ्ने गरेकाले संक्रमित सँगै भएपनि डर नलागेको आशिषले सुनाए ।

‘कोरोना फैलिन सुरु गर्दा डर लाग्थ्यो । पछि कोरोनासम्बन्धी सामग्री पढ्न थालें । डराउनुभन्दा पनि सतर्कता अपनाउनु राम्रो हुन्छ भन्ने थाहा थियो,’ उनले भने, ‘सुरक्षाका लागि पिपिई लगाएर अस्पताल लगें ।’ १ घन्टा लगाएर ४० किलोमिटरको दुरी पार गर्दै संक्रमित बालकलाई मध्यविन्दु अस्पतालको आइरसोलेसनसम्म पु¥याएको उनले जानकारी दिए ।

‘मानवता नै बिर्सिएर आफ्नो पेसागत धर्मभन्दा बाहिर एम्बुलेन्स चालक गएजस्तो लाग्यो । संक्रमितले उपचार नपाउनु राम्रो भएन । मसँग सवारी चलाउने सिप थियो । त्यही सिप प्रयोग गरें,’ उनले भने ।

नवलपुरमा अहिलेसम्म ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये २ जना विनय त्रिवेणी गाउँपालिकाका हुन् । सोमबार बिहान संक्रमण पुष्टि भएका १४ वर्षे बालकलाई गाउँपालिकाले गत जेठ ९ गते सुनौली नाकाबाट उद्धार गरेर क्वारेन्टाइनमा राखेको प्रमुख प्रशासकीय अधिकृत बोधराज बस्यालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया