बिरामी भएर संसद जान सकिनँ, संशोधनमा समर्थन छ–केसी

समाधान संवाददाता २०७७ जेठ ३१ गते १९:००

पोखरा

कास्कीबाट प्रतिनिधित्व गर्ने सांसद सूर्यबहादुर केसीले आफू बिरामी भएको हुँदा संविधान संशोधन गर्ने कार्यसूची भएको दिन शनिबार संसदमा उपस्थित हुन नसकेको बताएका छन् ।

उनले आफू संविधान संशोधनको पक्षमै रहेको पनि बताए । उनले समाधानसँग भने, ‘राष्ट्रियताको पक्षमा मेरो समर्थन नहुने कुरै भएन ।’

उनले संविधान संशोधन गर्ने पक्षमा आफू रहेको भन्ने पार्टी नेपाली कांग्रेस र प्रतिनिधि सभालाई शुक्रबार नै लेखेर पठाएको पनि सुनाए ।

‘मेरो साथ र समर्थन छ भनेर हिजै (शुक्रबार) लेखेर पठाएको थिएँ,’ उनले भने, ‘बिरामी छु, संसद पुग्न सकिनँ ।’

कोरोना भाइरसको महामारीबाट जोगिन पनि सांसद केसी पोखरास्थित आफ्नै घरमा बसिरहेका छन् । उनी लामो समयदेखि बिरामी छन् ।

गएको आम निर्वाचनअघि उनी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । कांग्रेसले उनलाई समानुपातिक सूचीमा राखेर सांसद बनाएको हो । त्यसअघि उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा थिए ।

Advertisement

सांसद केसीसहित अरु केही सांसद पनि शनिबार संसदमा उपस्थित भएनन् । उपस्थित २५८ जना सबै सांसदले संविधान संशोधनको पक्षमा मतदान गरे । विपक्षमा शून्य मत पर्‍यो ।

संशोधनपछि अब नेपालको संविधानको अनुसूची ३ मा रहेको निसानछापमा रहेको नेपालको नक्सामा पश्चिममा लिम्पियाधुरासम्मको भूभाग समेटिएको नक्सा रहनेछ ।

संशोधनमाथि संशोधन हालेकी जनता समाजवादी पार्टीकी सांसद सरीता गिरी संसद गएर पनि फर्केकी थिइन् । २७५ सदस्यीय संसदमा २५८ बाहेकका सांसद गयल थिए, जसमा कास्कीका सांसद सूर्यबहादुर केसी पनि रहे ।

Advertisement

संविधान संशोधनको मतदानमा अनुपस्थित भएका सांसद

१ सूर्यबहादुर केसी

२ अमृतादेवी अग्रहरि

३ गोपालबहादुर बम

४ फुलारीदेवी खत्बेनी

५ धनबहादुर बुढा

६ नागेन्द्रकुमार चौधरी

७ शिवकुमार मण्डल

८ सरिता गिरी

९ सूर्यनारायण यादव

१० हरिबोल गजुरेल

११ ज्ञानकुमारी छन्त्याल

१२ प्रमोद शाह

१३ विजय गच्छदार (निलम्बित भएको हुँदा उपस्थित हुनै नपाउने)

१४ मोहम्मद अफताब आलम (निलम्बित भएको हुँदा उपस्थित हुनै नपाउने)

१५ रेशम चौधरी (निलम्बित भएको हुँदा उपस्थित हुनै नपाउने)

१६ हरिनारायण चौधरी (निलम्बित भएको हुँदा उपस्थित हुनै नपाउने)

तपाईको प्रतिक्रिया