पश्चिमाञ्चल अस्पतालको ६ करोड उसैलाई

मन्त्रिपरिषद् निर्णयबारे जानकारी दिँदै मन्त्री रामशरण बस्नेत र कानुन सचिव दलबहादुर अधिकारी । तस्बिर- समाधान
समाधान संवाददाता
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि भनेर संघ सरकारले पठाएको झन्डै ६ करोड रुपैयाँ गण्डकी प्रदेश सरकारले प्रतिष्ठानलाई उपलब्ध गराउन सहमति दिएको छ । प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल प्रदेशले आफू मातहत मागेको थियो । तर संघ सरकारले नदिएपछि उसका नाममा आएको बजेट प्रदेशले उसैलाई स्थानान्तरण गरेको हो ।
गण्डकी प्रदेश सरकारको बुधबारको बैठकले प्रतिष्ठानको ५ करोड ९६ लाख रुपैयाँ स्थानान्तरण गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले दिए । संघ सरकारले विभिन्न ८ शीर्षकमा झन्डै ६ करोड रुपैयाँ पठाएको थियो । मन्त्री बस्नेतका अनुसार पाठेघर खस्ने समस्याको शल्यक्रिया, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण, जन्मदोष नियन्त्रण, प्रसूति, स्टाफ नर्स, अनमी नियुक्त, परिवार नियोजन तथा पोषण कार्यक्रमका लागि उक्त रकम आएको हो । प्रतिष्ठानमा बजेट नभएकै कारण चालु आर्थिक वर्षमा यी कार्यक्रम अवरुद्ध छन् । कर्मचारी र करारका डाक्टर तथा स्वास्थ्यकर्मी तलबविहीन भएका छन् ।
मन्त्रिपरिषदले नवलपुरमा घरेलु तथा साना उद्योग कार्यालय खोल्ने निर्णयसमेत गरेको छ । प्रदेश सरकारले २०७५ असोज ३ गतेको मन्त्रिपरिषद बैठकबाट नवलपुरमा घरेलु तथा साना उद्योग कार्यालय खोल्न संघ सरकारसँग कर्मचारी मागसहित अनुरोध गरेको थियो । तर संघले त्यसबारे कुनै सुनुवाइ गरेन । सुनुवाइ नभएपछि प्रदेश आफैंले कार्यालय खोल्ने निर्णय गरेको हो ।
नवलपुरमा घरेलु तथा साना उद्योग कार्यालय स्थापना गर्दा आर्थिक भार नपर्ने गरी कर्मचारी व्यवस्था गर्ने मन्त्री बस्नेतले बताए । ‘फागुन २८ गतेभित्रै नवलपुरमा घरेलु उद्योग कार्यालय खोल्छौं’, मन्त्री बस्नेतले भने, ‘माग आएको आयै छ । उद्योग दर्ता हुन पाएका छैनन् ।’
प्रदेशमा विषादीयुक्त तरकारी र फलफूल आउन नदिन नाकामा जाँच गर्ने व्यवस्था प्रदेश सरकारले मिलाउने भएको छ । त्यसका लागि स्याङ्जाको मालुंगा र तनहुँको आँबुखैरेनीमा विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला खोल्ने निर्णय पनि प्रदेश सरकारले गरेको जानकारी प्रवक्ता बस्नेतले दिए । ‘पछि प्रदेशभित्रै उत्पादित तरकारी फलफूलको विषादी जाँच गर्ने व्यवस्था पनि हुनेछ,’ उनले भने ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया