पूर्वसचिव अर्जुन कार्कीलाई बाह्रखरी गल्फकाे उपाधि

समाधान संवाददाता २०७७ माघ २५ गते ८:५३

समाधान संवाददाता, पोखरा

एनसेल बाह्रखरी गल्फ उपाधि पूर्वसचिव अर्जुन कार्कीले हात पारेका छन् । पोखराको हिमालयन गल्फ कोर्समा भएको आमन्त्रण गल्फ प्रतियोगितामा उनले ३५ स्कोर गर्दै उपाधि हात पारेका हुन् ।

कार्कीले सुनको बलसहित ट्रफी पाए । उनका निकटतम प्रतिद्वन्द्वी भारतीय खेलाडी रवीन्दर साइनी, एआइजी हरिबहादुर पाल र वसन्त गौचनले ३३ स्कोर गरे । साइनी काउन्ट ब्याकमा उपविजेता बने ।

Advertisement

साइनीले दोस्रो हाफमा १९ स्कोर गरे । जहाँ पालले १७ र गौचनले १५ स्कोर गरेका थिए । बेस्ट ग्रसको उपाधि सुरेन्द्र फुयाँलले हात पारे । त्यसको निम्ति उनले २८ ग्रस पोइन्ट हासिल गरेका थिए ।

महिलातर्फको स्पर्धामा रेखा घिमिरे २३ अंकसहित विजयी बनिन् । जसमा पोर्जुगलकी खेलाडी सोफी ह्यामन १८ स्कोर गरी दोस्रो भइन् । ६० वर्षमाथिका खेलाडीको स्पर्धामा टेन्डी शेर्पा ३० अंक बटुलेर विजेता बने ।

Advertisement

पोखराका खेलाडी रमेश गुरुङले ३ बडिज प्रहार गर्दै मोस्ट बडीजतर्फको उपाधि हात पारे । क्याप्टेन नोर्बु छिरिङ शेर्पाले लङ्गेस्ट डइभको उपाधि जिते ।

चौथो होलमा राखिएको होल इन वान कारको उपहार प्राप्त गर्न प्रतियोगिताका ७४ खेलाडी सफल हुन सकेनन् । तथापि क्लोजेस्ट टु द पिनको उपाधि पोखराका खेलाडी बलराम थापाले हात पारे । उनी होल इन गर्नबाट ६ इन्चले चुकेका थिए । १ दिवसीय प्रतियोगिता १८ होल स्टेबल फोर्ड फर्म्याटमा ३ चौथाइ ह्यान्डीक्यापमा खेलाइएको थियो ।

प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेको प्रतियोगितामा विजयी खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको अध्यक्षता र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यमा पुरस्कार वितरण गरिएको थियो ।

मुख्यमन्त्री गुरुङले प्रतियोगिताले पोखरामा पर्यटकको सम्भावनालाई बढाएको बताए । उनले भने, ‘कोरोनाका कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्न यो प्रतियोगिताले ठूलो भूमिका खेलेको छ ।’

उनले बाह्रखरीले गरेको कार्यक्रमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको बताउँदै अब आउँदो प्रतियोगिता मनाङमा गर्न अनुरोध गरेका थिए । उनले फरक फरक क्षेत्रमा प्रतियोगिता गर्न आयोजकलाई सुझाव दिए ।

पर्यटन मन्त्री ढकालले पर्यटन प्रवद्र्धन गर्न लागि यस्ता खालका गतिविधि आवश्यक रहेको उल्लेख गरे । उनले सरकारले क्षमताले भ्याएसम्म व्यवसायीहरुलाई राहत दिइरहेको दाबी गरे । उनले भने, ‘पर्यटनसँग सम्बन्धित गतिविधि बढाएर आन्तरिक पर्यटकलाई आकर्षित गर्न व्यवसायीले पनि भूमिका खेल्नु पर्छ ।’

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले बाह्रखरीसँगको सहकार्यले पर्यटन प्रवद्र्धनका लागि सहयोग गर्न पाउँदा खुसी लागेको बताए । बाह्रखरी मिडियाका अध्यक्ष प्रतीक प्रधानले गल्फ प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । प्रतियोगिताबाट पोखरासहित नेपालको पर्यटन क्षेत्र प्रवद्र्धनमा टेवा पुग्ने बताए ।

विभिन्न स्पर्धामा विजयी खेलाडीलाई सशस्त्र प्रहरी महानिरीक्षक सैलेन्द्र खनाल, वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, अभिनेतृ मनिषा कोइराला र मिस नेपाल नम्रता श्रेष्ठले सम्मान गरेका थिए ।

पोखराको पर्यटनमा नवीन ऊर्जा सञ्चार गराउन यो वर्ष पोखरामा एनसेल बाह्रखरी गल्फ आयोजना गरिएको आयोजकले जनाएको छ । गल्फर बाहेकका पाहुनाका लागि अल्ट्रालाइट, प्याराग्लाइडिङ, जिप फ्लाइङ, बन्जी जम्पिङ्, ¥याफ्टिङ, क्यानोनिङ र डुंगा सयरको व्यवस्था गरिएको थियो ।

पोखरामा आन्तरिक पर्यटन र पर्यटनको पुनरुत्थानप्रति विशेष जागरुकता फैलाउने उद्देश्यले शुक्रबार साइकल ¥याली आयोजना गरिएको थियो ।

¥याली पोखराका मेयर मानबहादुर केसीले उद्घाटन गरेका थिए । प्रतियोगितामा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाले सहकार्य गरेका थिए ।

तपाईको प्रतिक्रिया