खानेपानी आयोजनाबाट ५९ घरधुरीका ३ सय ४३ उपभोक्ता लाभान्वित

कृष्ण न्यौपाने
तनहुँ भीमाद नगरपालिका ५ मा साढे ८४ लाखको लागतमा खानेपानी आयोजना निर्माण भएको छ । स्थानीयवासीलाई स्वच्छ खानेपानी पुर्याउने उद्देश्यका साथ विसं २०७४ मंसिर २९ गतेबाट निर्माण सुरु भएको आमडाँडा खानेपानी आयोजना ८४ लाख ४७ हजार २ सय ७१ रुपैयाँ लागतमा निर्माण भएको हो ।
पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना दोस्रो चरणको आर्थिक तथा प्राविधिक सहयोगमा खानेपानी आयोजना निर्माण गरिएको परियोजना सल्लाहकार वासुदेव पाण्डेले जानकारी दिए । खानेपानी आयोजनाका लागि नेपाल सरकारले ३० लाख २८ हजार २ सय ६२, फिनल्यान्ड सरकारले ३० लाख २८ हजार २ सय ६२ आर्थिक सहयोग गरेको छ । आयोजनाका लागि भीमाद नगरपालिकाले ८ लाख ४४ हजार ७ सय २७ र स्थानीय उपभोक्ताले ५ लाख ८३ हजार ४ सय ५३ लागत सहभागिता व्यहोरेका छन् भने ९ लाख ६२ हजार ५ सय ६७ बराबरको जनश्रमदान गरेका छन् ।
खानेपानी आयोजनाबाट ५९ घरधुरीका ३ सय ४३ उपभोक्ता लाभान्वित भएको आमडाँडा खानेपानी तथा सरसफाइ योजनाका अध्यक्ष विवेक रानाले बताए । ७ घर दलित र ५२ घर आदिवासी जनजातिको बसोबास रहेको यस ठाउँका १ सय ७० महिला र १ सय ७३ पुरुष आयोजनाबाट लाभान्वित भएका छन् । सोही वडाको भालुखोलाबाट पानी लिफ्ट मार्फत् ट्यांकीमा संकलन गरी उपभोक्ताको घर घरसम्म वितरण गरिएको रानाले जानकारी दिए । १ घर १ धारा अन्तर्गत सबै उपभोक्ताको घर घरमा धारा जडान गरिएको छ । खानेपानी योजना नहुँदा अस्थायी मूलबाट पानी ल्याउनुपर्ने बाध्यताले स्थानीय हैरान थिए । रानाले भने, ‘दैनिक २-३ घण्टा हिँडेर खानेपानीको जोहो गर्नुपर्ने बाध्यता थियो । अब भने उपभोक्तालाई सजिलो भएको छ ।’
खानेपानी योजना अन्तर्गत मूल इन्टेक १, सेमिमेन्टेसन ट्यांकी १, २ घनमिटरको रिजरभ्वायर १, १२ घनमिटरको रिजरभ्वायर १, ६ घनमिटरको ओभरहेड ट्यांकी १, २ घनमिटरको आरसिसी रिजरभ्वायर १, ९ घनमिटरको आरसिसी रिजरभ्वायर १ जडान गरिएको छ । खानेपानी योजनाको सोमबार उद्घाटन गर्दै भीमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले सबै नगरवासीलाई स्वच्छ खानेपानी पुर्याउन नगरपालिका प्रतिबद्ध रहेको बताए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया