युद्ध सङ्ग्रहालय शक्तिखोरमा बनाउनुपर्ने माग

समाधान संवाददाता २०७५ फागुन २२ गते ८:५२

रासस

तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको शक्तिखोर क्षेत्रमा युद्ध सङ्ग्रहालय बनाउनुपर्नेमा जोड दिइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले चितवन वा रोल्पामा युद्ध सङ्ग्रहालय बनाउने जनाएलगत्तै यहाँको स्थानीय तहले शक्तिखोरमा सङ्ग्रहालय बनाउनुपर्नेमा जोड दिएको हो । 

तेस्रो डिभिजन रहेको ठाउँ हाल कालिका नगरपालिकामा पर्दछ । सो नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले अध्यक्ष दाहालले २ जिल्लामध्ये जहाँ जग्गा उपलब्ध हुन्छ, सोही ठाउँमा सङ्ग्रहालय बनाउने जनाएको भन्दै शक्तिखोरमा जग्गा उपलब्ध गराउन सकिने बताउनुभयो । जनयुद्ध र त्यसपछिको शान्ति प्रक्रियाका क्रममा शक्तिखोरको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले युद्ध सङ्ग्रहालय बनाउन उपयुक्त हुने बताउनुभयो । 

Advertisement

सो क्षेत्रका प्रदेशसभा सदस्य घनश्याम दाहालले युद्ध सङ्ग्रहालय शक्तिखोरमा बनाउन उपयुक्त हुने बताउनुभयो । स्वदेशी र विदेशी पर्यटकका लागि सङ्ग्रहालय महत्वपूर्ण हुने भन्दै उहाँले चितवन मध्यभागमा रहेकाले पनि सङ्ग्रहालय बनाउँदा सबैले सहज रुपमा अवलोकन गर्नसक्ने बताउनुभयो । 

मुख्य रुपमा सशस्त्र द्वन्द्वका समयमा प्रयोग भएका हातहतियार, बन्दोबस्तीका सामान, आक्रमणका रणनीतिक दस्तावेजलगायत सङ्कलन गरेर सङ्ग्रहालय बनाउन लागिएको हो । 

Advertisement

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले चितवन देशकै मध्यभागमा रहेको र विदेशी पर्यटकसमेतको आवतजावत बढी हुने भएकाले शक्तिखोरमा सङ्ग्रहालय बनाउनुपर्ने विचार राख्नुभयो 
जिल्लाको पर्यटकीय क्षेत्र सौराहा नजिकै शक्तिखोर रहेकाले पनि युद्ध सङ्ग्रहालय शक्तिखोरमा उपयुक्त हुने उहाँले बताउनुभयो । 

तपाईको प्रतिक्रिया