मुख्यमन्त्रीसँग जिएमसीका विद्यार्थीको गुनासो

समाधान संवाददाता २०७५ चैत १ गते १२:३७

समाधान संवाददाता
पोखरा

गण्डकी प्रदेश सरकारले जनताको गुनासो, सुझाव सुन्न व्यवस्था गरेको ‘हेलो मुख्यमन्त्री कक्ष’मा स्वयं उपस्थित भएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग बिहीबार गण्डकी मेडिकल कलेजका विद्यार्थीले दुःखेसो पोखेका छन् ।

साँझ ५ बजेदेखि झन्डै साढे ६ बजेसम्ममा मुख्यमन्त्री गुरुङले १०८४ नम्बरको फोनमा आएका गुनासो सुनुवाइ र सम्बोधन गरेका थिए । त्यसक्रममा ७ वटा गुनासो सर्वसाधारणले गरे । तीमध्ये ३ वटा गुनासो जिएमसी कलेजका विद्यार्थीले गरे । विद्यार्थीले आफूहरु बढी शुल्कको मारमा परेको र जायज माग राख्दै आन्दोलनमा उत्रँदा अनेक अड्चन देखाएर पठनपाठन अवरुद्ध भएको भन्दै गुनासो गरे ।

Advertisement

दोस्रो फोनमा लेखनाथबाट सम्पर्क गरेकी अनिशा ढुंगानाले विद्यार्थीले राखेका माग र कलेजले लिइरहेको बढी शुल्कको विषयमा प्रदेश सरकारले चासो राखिदिन मुख्यमन्त्री गुरुङलाई आग्रह गरिन् ।

प्रतिक्रियामा मुख्यमन्त्री गुरुङले मेडिकल कलेज प्रदेश सरकारको मातहतमा नरहेकाले देखिने गरी नियमन गर्न नसकेको जानकारी गराए । ‘सञ्चालकविरुद्ध विद्यार्थी कानुनी कारबाहीका लागि सुरक्षा निकायमा पुगेको हामीलाई जानकारी छ । प्रदेश सरकारले कलेज कसरी चाँडै खोल्ने र गुणस्तरीय शिक्षाका लागि कसरी पहल गर्न सकिन्छ भन्नेबारे छलफल गरिरहेको छ,’ उनले भने ।

Advertisement

सञ्चालकले विद्यार्थीमाथि पूर्वाग्रह साँधेको हुनसक्ने भन्दै न्यायालयमा हुने बहसमा योग्य वकिलहरु मार्फत बहस गराउन विद्यार्थीलाई मुख्यमन्त्रीले सुझाए । डेढ घन्टाको बीचमा ९ वटा गुनासो सम्बोधन गरेका मुख्यमन्त्रीले छैटोैं र आठौं फोनमा समेत जिएमसीका विद्यार्थीको उस्तै प्रकृतिको गुनासो सुने । विद्यार्थीको आन्दोलनका कारण ४५ दिनसम्म पठनपाठन अवरुद्ध हुँदा मर्कामा परेको र विद्यार्थीको मागलाई कलेजले सम्बोधन गर्न नसक्दा पीडित भएको मुख्यमन्त्री समक्ष उनको गुनासो थियो ।

मुख्यमन्त्री गुरुङले जिएमसीका विद्यार्थीको समस्याबारे संघीय सरकारलाई ध्यानाकर्षण गराउने आश्वासन दिए । ‘म आजै बेलुका प्रधानमन्त्री समक्ष गण्डकी मेडिकल कलेजको विषयमा तुरुन्तै एक्सन लिन भन्छु,’ उनले भने, ‘गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयका मन्त्रीहरुको पनि ध्यानाकर्षण गराउँदै कानुनी कारबाहीका लागि पहल थाल्न अनुरोध गर्दछु ।’

प्रदेश सरकारकै पहलमा सञ्चालकविरुद्ध गृह मन्त्रालयमार्फत कलेजका सञ्चालक खुमा अर्यालसहितका अन्य ११ जनालाई ठगी मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको भन्दै प्रदेशले खेल्ने भूमिका सशक्त हुने मुख्यमन्त्री गुरुङले विश्वास बाँडे ।

मादी गाउँपालिका निवासी दशरथ सापकोटाले आफ्नो गाउँपालिकामा नियमित विद्युत प्रसारणमा समस्या आएकाले दैनिकी असहज भएको सुनाए । महिना वा पन्ध्र दिनको समयमा स्वयं उपस्थित भएर जनताको गुनासो, सुझाव लिन थालेका मुख्यमन्त्री गुरुङ ‘हेलो मुख्यमन्त्री कक्ष’मा यससहित तेस्रोपटक उपस्थित भएका हुन् ।

तपाईको प्रतिक्रिया