एमाले पोखरा नगर अध्यक्षमा ५ उम्मेदवार

कास्कीका ३ पालिका मादी, रुपा र अन्नपूर्णमा सर्वसम्मत नेतृत्व चयन

सञ्जय रानाभाट २०७८ कार्तिक ११ गते १२:२३

पोखरा ।
नेकपा एमालेको पोखरा महानगर कमिटीको नेतृत्वका लागि ५ जनाले उम्मदेवारी दिएका छन् । महानगरपालिका कमिटीको अधिवेशनका क्रममा बुधबार उम्मेदवारी दर्ताको कार्यक्रम थियो ।


तेजनारायण अधिकारी, दिलीप न्यौपाने, दीपक पौडेल, धनबहादुर नेपाली र हरिप्रसाद त्रिपाठीले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । न्यौपाने महानगर कमिटी पूर्वसचिव हुन् । अधिकारी र पौडेल महानगर पूर्वअध्यक्ष हुन् । नेपाली महानगरमा वडा नम्बर ५ का वडाध्यक्ष छन् । त्रिपाठी अवकाशप्राप्त प्राध्यापक हुन् ।


उपाध्यक्षमा उमा परियार, बैनबहादुर गुरुङ, मोहन गुरुङ, राजकुमारी भुजेल र सुस्मिता केसी भट्टराईको उम्मेदवारी परेको छ । जीवनप्रसाद आचार्य र गोकर्ण अधिकारीको उम्मेदवारी सचिवमा परेको छ ।

Advertisement


उपसचिव पदका लागि भने १६ जनाको उम्मेदवारी परेको छ । सिमबहादुर गुरुङ, दुर्गाप्रसाद श्रेष्ठ, बलराम गिरी, रामचन्द्र थापा, प्रकाश पौडेल, शिवप्रसाद आचार्य, हरिप्रसाद लम्साल, मीनबहादुर थापा, विष्णु पुन, वीरेन्द्र भण्डारी, दलबहादुर खत्री, हरिमाया गुरुङ, सूर्य भण्डारी, विष्णुहरि तिमिल्सिना, सुवास ढुंगाना र सीता विकले उपसचिवमा उम्मेदवारी दिएका छन् ।


भौगोेलिक क्षेत्रका सदस्यमा मात्रै ४६ जनाको उम्मेदवारी परेको छ । समावेशी महिला उम्मेदवार १० जना छन् । दलित महिला सदस्यमा ९ जनाले उम्मेदवारी दिएका छन् । अपांग महिला सदस्यमा २ जनाको उम्मेदवारी परेको छ । खस आर्य महिला सदस्यका लागि २५ जनाले उम्मेदवारी दिएका छन् । खुला महिला सदस्यमा ३६ जनाको उम्मेदवारी परेको छ । अल्पसंख्यक महिला सदस्यमा २ र श्रमिक महिला सदस्यमा १ जनाको मात्रै उम्मेदवारी छ ।

Advertisement


दलिततर्फ ११ जना उम्मेदवार छन् । जनजातिमा १८, अपांगमा ३, खसआर्यमा १८ जना सदस्य उम्मेदवार छन् । खुलातर्फ भने ६२ जनाको उम्मेदवारी परेको छ । अल्पसंख्यक सदस्यमा ३ र श्रमिक सदस्यमा ३ जनाको उम्मेदवारी परेको छ ।


कास्कीका सबै पालिकाको प्रथम अधिवेशन मंगलबार सुरु भएको थियो । यसअघि पार्टीको स्थानीय कमिटीको वडा तहको अधिवेशन सकिएको छ । पोखरा महानगरका ३३ वडाका करिब ८ सय प्रतिनिधिले नगर कमिटी अधिवेशनमा भाग लिएका छन् । तिनै मतदाता पनि हुन् । यो अधिवेशनबाट ५ पदाधिकारीसहित १ सय १ सदस्यीय कमिटी चयन हुनेछ ।


बिहीबार दिउँसो १ बजेबाट मतदान हुने गरी सम्पूर्ण तयारी गरिएको निर्वाचन अधिकृत झपट रानाभाटले जानकारी दिए । ३३ वटा वडाबाट सदस्य हुनेमध्ये निर्विरोध भएकाहरुको नाम घोषणा बिहीबार बिहान गरिने पनि उनले बताए ।


मादी, रुपा र अन्नपूर्णमा सर्वसम्मत
नेकपा (एमाले)ले कास्कीका ३ पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । मंगलबारदेखि सुरु भएको पहिलो पालिका अधिवेशनमा मादी, रुपा र अन्नपूर्ण गाउँपालिकामा सहमतिमा नेतृत्व चयन गरिएको हो । पोखरा महानगरपालिका र माछापुच्छ«ेमा भने सहमति नहुँदा नेतृत्व चयन हुन सकेको छैन ।


मादी गाउँपालिका कमिटीको अध्यक्षमा बालकृष्ण गुरुङ, उपाध्यक्षमा एकजंग गुरुङ, सचिवमा सुवास सापकोटा र उपसचिवद्वयमा राजु अधिकारी र प्रतीक्षा पौडेल चयन भए । अन्नपूर्णको अध्यक्षमा विवेक देवकोटा, उपाध्यक्षमा मीनाकुमारी गुरुङ, सचिव मदनप्रसाद पौडेल, सहसचिवमा दानबहादुर केसी र विराज सुवेदी छन् ।


रुपा गाउँपालिका कमिटी अध्यक्षमा सवाबक्स मियाँ निर्विरोध चयन भएको एमाले कास्की जिल्ला कमिटीका सचिव दामोदर बैरागीले जानकारी दिए । माछापुच्छ«े गाउँपालिकाको अधिवेशन भने स्थगन गरिएको छ । उद्घाटन समारोहपछि नेतृत्व चयन प्रक्रिया सुरु भएकामा आकांक्षीबीचमा सहमति नजुटेपछि उम्मेदवारको सहमतिमा अधिवेशन स्थगन गरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए । अध्यक्षका आकांक्षीबीच छलफल गरेर उनीहरुबीचको सहमति अनुसार निर्वाचन प्रक्रिया सुरु हुनेछ । अध्यक्षका लागि विक्रम गुरुङ, महेश्वर दवाडी, यदुराम अधिकारी र पानबहादुर जिसीले मनोनयन दर्ता गराएका छन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया