अस्ट्रेलियन युनिभर्सिटीमै सुरक्षित छैनन् हाम्रा चेलीहरु

समाधान संवाददाता २०७५ चैत १२ गते ७:५५

 नीना भण्डारी -बिबिसी-


रिया सिंह (परिवर्तित नाम) अरु दिन झैँ सिडनी सेन्ट्रल स्टेशनबाट आफ्नो युनिभर्सिटी जाँदैथिइन् । पहिले नै भरिएको युनिभर्सिटीको बसमा चढ्ने बित्तिकै एक पुरुष कर्मचारीले रियालाई धक्का दिन र सुमसुम्याउन सुरु गर्‍यो ।

“२० मिनेटको यात्राका दौरान यो सबै भइरह्यो । मलाई अत्यन्तै नराम्रो लाग्यो तर म डराएकी थिएँ । मलाई के गरु भन्ने बारेमा केही थाहै थिएन । कोसँग जाउँ भन्ने ठम्याउँनै सकिनँ । मैले यो बारेमा कसैलाई भनिनँ किनकि यो बारेमा मेरा अभिभावकलाई केही जानकारी नहोस् भन्ने चाहन्थे । यो यस्तो कुरा पनि थिएन कि म आफ्नो सानो भाईसँग साट्न सकुँ । मैले आफ्नी सबैभन्दा नजिककी साथीलाई यो घटनाका बारेमा बताएँ तर उसलाई पनि के गर्ने भन्ने बारेमा कुनै उपाय आएन,’’ उनले भनिन् । 

Advertisement

२०१८ मा अष्ट्रेलियन युनिभर्सटीमा यौन हिंसा र यौन उत्पीडनमाथि अष्ट्रेलियाली मानवाधिकार आयोग (एएचआरसी) ले एक राष्ट्रिय प्रतिवेदन प्रकाशित गरेको थियो । प्रतिवेदनको नाम थियो– ‘चेन्ज द कोर्स’ । यो घटना उक्त प्रतिवेदन प्रकाशित हुनुभन्दा केही दिन अगाडिको हो । 
‘‘म चुपचाप रहेँ तर मलाई यस्तो घटनाका बारेमा कसैलाई किन भन्न सकिनँ भनेर आफैँदेखि रिस उठिरहेको थियो । दक्षिण एशियाली मुलुकबाट आएका अधिकांश छात्राहरु यौन उत्पीडनका बारेमा कसैसँग कुरा गर्नुलाई गलत ठान्छन्,’’ बाल्यावस्थामै परिवारका साथ अष्ट्रेलिया पुगेकी रिया भन्छिन्, ‘‘किनकी यौन उत्पीडनका घटनाले परिवारको सम्मानमा ठेस पुग्न सक्छ भनेर चिन्तित हुन्छन् । प्रतिवेदन प्रकाशित भएपछि यस्ता घटनाहरुे रोक्न र घटनाका विरुद्ध लड्न जागरुकता आएको छ ।’’

एएचआरसीले प्रतिवेदनमा २०१५ र २०१६ मा छात्राहरुमाथि सार्वजनिक यातायातका साधनहरुमा यौन उत्पीडनका अधिकांश घटनाहरु भएको उल्लेख गरेको छ । युनिभर्सिटीमा यौन हिंसाको सामना गर्ने ५१ प्रतिशत छात्राले यौन दुर्व्यवहार गर्ने व्यक्तिलाई आफूहरुले चिनेको बताएका थिए । 

Advertisement

मित्रताको दबाबमा शोषण
‘‘मित्रताको दबाबमा मैले आफ्नो साथीको घर जाने निमन्त्रणा स्वीकार गरे । हामीले थोरै मदिरापान पनि गर्‍यौं । त्यसपछि उसले यौन सम्पर्क गर्ने प्रयास गर्‍यो,’’ मलेसियाबाट अध्ययनका लागि अष्टे«लिया पुगेकी छात्रा एमिली ली –परिवर्तित नाम) भन्छिन्, ‘‘मेरो दिमागले यस्तो परिस्थितिको कसरी सामना गर्ने भन्ने बारेमा सोच्न सकेको थिएन । मेरा लागि यो एक सांस्कृतिक झड्का थियो । हाम्रो देशमा हामीलाई यौन शिक्षा दिइँदैन । फेरि मैले आफ्नो सामाजिक जीवनमा मदिरा पनि पिएको थिएन ।’’

आफूमाथि कुनै पीडितको जस्तो व्यवहार नहोस र यौन उत्पीडन हुनुमा आफूलाई दोषी नठहर्‍याइयोस भनेर उक्त घटनाका बारेमा कसैलाई केही नबताएको उनको भनाइ थियो । हालै उनले आप्mनी एक साथीलाई त्यो राति आफूमाथि बलात्कार भएको बताएकी छिन् । किनकी यौन सम्पर्कका लागि एमिलीको कुनै सहमति थिएन । उनी भन्छिन्, ‘‘यदि मलाई सहमतिका बारेमा जागरूकता भएको भए म नाईँ भन्दिन्थेँ र बलात्कृत हुनबाट जोगिन्थेँ ।’’ 

नयाँ संस्कृतिमा असहजता
अष्ट्रेलियाको अन्तर्राष्ट्रिय छात्रा परिषद्की राष्ट्रिय महिला अधिकारी बेले लिम भन्छिन्, ‘‘सेक्सको मामिलामा उदारवादी अष्ट्रेलिया जस्ता देशमा अध्ययनका लागि आउने छात्राहरुलाई सेक्स र सहमतिका बारेमा शिक्षित र सशक्त गराउनु हाम्रो जिम्मेवारी हो । एशियाली देशहरुबाट आएका छात्रहरुमा यौन शिक्षाका बारेमा जागरुकता हुँदैन । यही कारण उनीहरु यौन शोषण या हिंसामा अधिक मात्रामा शिकार हुने गर्दछन् ।’’

अष्ट्रेलिया अध्ययनका लागि जाने अधिकांश छात्राहरु घरको सुरक्षित वातावरणबाट पहिलो पटक बाहिर निक्लिरहेका हुन्छन् । नयाँ संस्कृतिबाट अनभिज्ञ हुने भएकाले उनीहरुका लागि खतरा बढ्ने गर्दछ ।  श्रीलंकाबाट गएकी एक पूर्वछात्रा देवाना सेनानायके भन्छिन्, “म मेलबर्न युनिभर्सिटीमा भर्ना हुँदा १८ वर्षकी थिएँ । मैले मदिरा पिउने, ड्रग्स लिने र सहमतिबिना छुने संस्कृति पहिलो पटक देखे ।’’

३९ युनिभर्सिटीका ३० हजारभन्दा बढी छात्राहरुमाथि गरिएको एचआरसीको सर्वेक्षणका अनुसार ५.१ प्रतिशत अन्तराष्ट्रिय छात्रहरुले २०१५–२०१६ मा यौन शोषण भएको स्वीकार गरेका थिए । सर्वेक्षणमा सहभागी १.४ प्रतिशत छात्राहरुले युनिभर्सिटीमै आफूमाथि शोषण भएको बताएको बीबीसीको समाचारमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया