यौन व्यवसायीसँग पैसा असुल्ने प्रहरी प्रहरीकै फन्दामा

समाधान संवाददाता २०७५ चैत १२ गते ८:५१

सुरेशराज अधिकारी

शनिबार बेलुका एक प्रहरी जवानलाई प्रहरीले नै पक्राउ गर्‍यो । ती थिए वडा प्रहरी कार्यालय रामबजारमा कार्यरत प्रहरी जवान किरण भुजेल । भुजेल पहिलोपटक पक्राउ परेका भने होइनन् । उनी पक्राउ पर्नु जिल्ला प्रहरी कार्यालय कास्कीका लागि पनि नयाँ हैन । प्रहरीले नै उनलाई कहिले तास खेल्दै गर्दा पक्राउ गरेको छ भने कहिले महोत्सवमा पैसा असुली गरेको आरोपमा पक्राउ गरेको छ ।

केही समयदेखि उनले पोखरामा विभिन्न ठाउँमा यौन व्यवसायीसँग सादा पोसाकको प्रहरी हुँ भन्दै पैसा उठाउँदै आएका थिए । कहिले संघीय प्रहरी कार्यालय त कहिले गण्डकी प्रदेश ४ प्रहरी कार्यालयबाट खटिएको सादा पोसाकको प्रहरी हुँ भन्दै उनले पैसा माग्दै आइरहेको पीडितले बयान दिएका छन् । उनले होटल अनुसार ३ हजारदेखि ५ हजारसम्म पैसा असुल्दै आएका थिए । शनिबार पनि पोखराको एक होटलमा उनले रक्सी पिएर पैसा तिर्ने बेला सादा पोसाकको प्रहरी हुँ भनेर पैसा मागेका थिए । सोही समयमा प्रहरीले नै उनलाई पक्राउ गरेको हो ।

Advertisement

प्रहरी जवान भुजेललाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा राखिएको छ । गत माघ २९ गते भुजेलले पोखरा १ काँहु महोत्सवका केही स्टलबाट पैसा उठाएपछि प्रहरीले पक्राउ गरेको थियो । उक्त समयमा स्टलबाट उठाएको पैसाले भुजेलले रक्सी खाएर आयोजकलाई नै धम्की दिएपछि आयोजकले नै प्रहरीको जिम्मा लगाएका थिए ।

उक्त समयमा जिल्ला प्रहरी कार्यालय कास्कीले भुजेललाई सिल्दजुरेमा सरुवा गरेको थियो । त्यता पनि उनले स्थानीयसँग पैसा मागेको गुनासो आएपछि वडा प्रहरी कार्यालय रामबजार खटाइएका हुन् । भुजेलले पछिल्लो समय गरेको असुलीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए । उनले भुजेल दोषी भेटिए विभागीय कारबाही गर्ने बताए ।

Advertisement

तपाईको प्रतिक्रिया