सेवा, सुविधा लिन्न, अर्को चुनावमा उठ्दिनँः थापा

समाधान संवाददाता २०७९ वैशाख १७ गते २२:२५

पोखरा ।
पोखरा महानगरमा एमालेका उम्मेद्वार कृष्ण थापाले मेयरमा निर्वाचित भए सेवा,सुविधा नलिने घोषणा गरेका छन् ।प्रदेशसभा सदस्यबाट राजीनामा दिएर पोखराको मेयरमा उठेका थापाले अब अर्काे चुनाव लड्नेसमेत बताएका छन् ।
‘जनप्रतिनिधिका हिसाबले पाउने सेवा, सुविधा गरिब विपन्नको सहयोगका लागि खर्च गर्ने छु,’उनले भने, ‘अबका कुनै पनि निर्वाचनमा म लड्दिनँ । मेरा लागि यो अन्तिम चुनाव हो ।’


स्थानीय तहको निर्वाचनको तयारीका क्रममा एमालेपोखरा महानगर कमिटी निर्वाचन परिचालन कमिटीले शनिबारपोखरामा गरेको उम्मेद्वार परिचय तथा वृहत कार्यकर्ता भेलामा उनले यस्तो बताएका हुन् ।


कार्यक्रममा कार्यकर्तालाई पोखरा महानगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष तथा वडा सदस्य गरी १सय ६७ जना उम्मेद्वारसँग परिचय गराइएको थियो । थापाले मृत्युपर्यन्त अंगदान गर्ने जनाएका छन् ।जनप्रतिनिधिमा सामाजिक जवाफदेहित, नैतिकवान र आर्थिक रुपमा पारदर्शिता हुनुपर्ने आवाज उठाउँदै आएको चर्चा गर्दै उनले पार्टीलाई आँच आउने काम जीवनभरी नगर्ने प्रतिवद्धता गरे ।

Advertisement


उनले मेयर बनेपछि सुशासन कायम, भ्रष्टाचार न्यूनीकरणमा ध्यान दिने उल्लेख गरे ।थापाले पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारमा ध्यान दिएर पोखरालाई अन्तर्राष्ट्रिय सहरको रुपमा विकास गर्ने लक्ष्य सुनाए ।एमालेले पाका र अनुभवी उम्मेद्वार उठाएका कारण चुनाव जितेको भोलिपल्टदेखि नै जनतालाई सेवा दिन सकिने उनको भनाइ छ ।


पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक स्थायित्व, दिगो विकास र आर्थिक समृद्धि एवं राष्ट्रिय स्वाभिमान कायम गर्न एमालेले जित्नुपर्ने बताए । उनले एमालेले विजय हासिल गरेपछि मात्र राष्ट्रिय एकता, अखण्डता र समाजिक सद्भाव कायम गर्न सकिने जिकिर गरे ।

Advertisement


‘स्थानीय तहमाएमालेकमजोर भए राष्ट्रिय आकांक्षा पूरा गर्न सकिन्न,’उनले भने, ‘देशभरी एमालेको पक्षमा उभार आएको छ । स्थानीय तह हुँदै प्रदेश र संघमा एमालेको बहुमतआउँछ ।’ उनले आफ्नो पार्टीको घोषणापत्र जारी गर्न नसक्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली कांग्रेस प्रवेश गर्न उनले सुझाव दिए ।
केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमालेले चुनाव हारे सिंगो राष्ट्र हार्ने तर्क गरे । ‘चुनाव जित्नु अनिवार्य शर्त हो । समृद्धिको अभियानअघि बढाउन एमालेले जित्नै पर्छ,’उनले भने, ‘संगठनात्मक र वैचारिक एकताका साथ एमालेलाई जिताउन लाग्नुपर्छ।’ उनले पोखरा महानगरलाई लाल किल्ला बनाउनका लागि पार्टीले कमान्डर कृष्ण थापा र सहकमाण्डरमा मञ्जुदेवी गुरुङलाई तोकेको उल्लेख गरे ।


उपमेयरका उम्मेद्वार मञ्जुदेवी गुरुङलेगएको कार्यकालको आरम्भमा आफै कानुन बनाएर काम गर्नुपर्ने अवस्था भए पनि पछिल्लो समय विकास, निर्माणको कामले गति लिएको जनाइन् । महानगरका मेयर मानबहादुर जिसीले उम्मेद्वारको अनुहार हेर्दा चुनाव जितिसकेको टिप्पणी गरे ।


कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य भीम कार्की, पोखरा महानगर कमिटी अध्यक्ष दिलीप न्यौपाने, उपाध्यक्ष मोहन गुरुङ, सचिव जीवनप्रसाद आचार्य लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया