दमौलीमा नमुना मतदान

दमौली ।
वैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनको लागि यतिबेला राजनीतिक दल तथा तिनका उम्मेदवार दलबल सहित घरदैलोमा व्यस्त छन् तर मतदान कसरी गर्ने भन्ने कुरा मतदाताले थाहा पाएका छैनन् । दलहरुले मतदातालाई कसरी मत हाल्ने सिकाउन सकिरहेका छैनन् । नमूना मतपत्रसहित मतदातामाझ पुगेका राजनीतिक दलहरुले स्वस्तिक छाप कसरी लगाउने, कति ठाउँमा छाप लगाउने, कसरी पट्याउने जस्ता आधारभूत कुरा सिकाउन झञ्झट मानेको देखिन्छन् ।
मतदाताले पनि मत कसरी प्रदान गर्नेभन्नेमा प्रश्न नगर्ने, घरदैलोमा पुगेकाहरुले पनि त्यसलाई प्राथमिकतामा राखेर बुझाउन नचाहने समस्याले यसपालिको निर्वाचनमा समेत मत बदरको संख्या बढ्न सक्ने जोखिम रहेको देखिन्छ । मंगलबार दमौलीमा नेपाल पत्रकार महासंघ तनहुँ र निर्वाचन कार्यालयको संयुक्त आयोजना गरिएको नमूना मतदानमै मत बदर भएको पाईएको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरिएको नमूना मतदानमा नगरप्रमुख, उपप्रमुख, खुल्ला र दलित सदस्यमा मत बदर भएको छ । नगरप्रमुखमा तीन, उपप्रमुखमा एक, खुल्ला सदस्यमा चार र दलित महिला सदस्यमा तीन मत बदर भएको मतदान अधिकृतको भूमिकामा रहेका पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेलले जानकारी दिए । नगर क्षेत्रमै मत बदर हुनु दुखद रहेको भन्दै उनले मतदाता शिक्षालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।
नमूना मतदानमा ६१ जनाले मतदान गरेका थिए । ‘धेरै कमजोरी छन् । यसअघि पनि धेरै मत बदर भए । यसपालि पनि मत बदर हुने संख्या बढ्छ कि जस्तो छ’ व्यास ३ की मुधमाया पौडलले भनिन्, ‘घर–घरमा पुगेर भोट हाल्ने सबै व्यक्तिलाई सिकाउन निर्वाचन आयोग, राजनीतिक दल, सामाजिक संघ संस्थाले भूमिका खेल्नुपर्छ ।’ राजनीतिक दलका प्रतिनिधिले भने मतदाता शिक्षा पनि सँगसँगै दिने गरेको बताएका छन् । नेकपा एमाले तनहँुका उपसचिव प्रदिप अधिकारीले पार्टीको घोषणापत्र र नमूना मतपत्रसहित हरेक मतदातालाई मतदाता शिक्षा दिने गरिएको बताए । ‘हाम्रो ध्यान पनि निर्वाचन शिक्षामा छ’ उनले भने, ‘हरेक कार्यकर्ताको हातमा नमूना मतपत्र पुगेको छ । उहाँहरुले घर–घरमा पुगेर सिकाउँदै हुनुहुन्छ ।’
निर्वाचन आयोगले यस बर्षको स्थानीय तह निर्वाचनमा घर–घरमा पुगेर मतदाता शिक्षा दिने कार्यक्रमलाई परिमार्जन गरेको छ । यस अघिका निर्वाचनमा मतदाता शिक्षा सञ्चालन गर्दा पनि मतपत्रमा औंठाछाप लगाएको, एउटै मतपत्रमा धेरै मत संकेत गरेको, फरक फरक मतपेटीमा मतपत्र खसाएको वा कतिले नो भोट समेत लेखेको पाइएको थियो । निर्वाचन आयोगले मतदाता शिक्षाको परम्परागत पद्धति खर्चिलो र अपेक्षा अनुसार प्रभावकारी पनि हुन नसकेको भन्दै यसपटक मतदाता शिक्षाको घरदैलो कार्यक्रम परिमार्जन गरेको जनाएको छ । घरदैलोको सट्टामा आयोगले यसपालि मतदान स्थलमा दुई दिन भोट खसाल्ने तरिका सिकाउने तयारी गरेको छ ।
त्यसका लागि वैशाख २८ र २९ गते हरेक मतदान स्थलमा दुई÷दुई जना स्वयम्सेवक खटिनेछन् । मतदान स्थलमा मतदाता सूचना केन्द्र पनि स्थापना हुनेछ । २९ गते मतदाता परिचय पत्र वितरण गर्दा आउने कसैलाई अलमल भएमा नमुना मतपत्र देखाएर सहजीकरण गरिने निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले बताए ।
त्यसका लागि तनहुँमा नमुना मतदानका लागि मतपत्र आईपुगिसकेको छ । त्यही नमुना मतपत्रका आधारमा मतदाता शिक्षा दिइने छ । यसपाली दलहरुको गठबन्धन र एउटै पार्टीको चुनाव चिह्नबाट अरु दलका उम्मेदवार उठेकाले पनि मत बदर हुने जोखिम धेरै छ । २०७४ सालको स्थानीय तहको निर्वाचनलाई फर्केर हेर्दा धेरै विषय सुधार गर्नुपर्ने देखिएको छ । उतिबेला पूर्णरुपमा मत बदर भएको संख्या धेरै थियो । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा एक लाख ९४ हजार चार सय ७१ कुल मतादाता रहेकोमा एक लाख ३२ हजार नौ सय ४४ मत मात्रै खसेको थियो । ६८.३७ मतदाता मात्र मतदान प्रकृयामा सहभागी भएका थिए ।
तीन हजार तीन सय ६५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । कार्यालयले पर्चा पम्पलेट, सञ्चारमाध्यम, सामाजिक सञ्जाल, मोवाईलका टोन मार्फत पनि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । अर्को तर्फ राजनीतिक दल र कार्यकर्ताहरुले पनि मत माग्न जाँदा मतदातालाई सिकाउने हुँदा अलि सहज हुने निर्वाचन कार्यालय तनहुँका प्रमुख ढकालले बताए । यसपालि तनहुँका दुई लाख ४४ हजार ३४० मतदाताले मतदान गर्दैछन् । गत स्थानीय तह निर्वाचनभन्दा यसपटक ४९ हजार आठ सय ६९ मतदाता थपिएका छन् ।


तपाईको प्रतिक्रिया