७ वर्ष पुरानो कुछ्प तेरङ्गा गुम्बा पुनःनिर्माण हुँदै, यस्तो छ गुम्बाको ईतिहास

समाधान संवाददाता २०७५ चैत १७ गते १२:३७

सुन्दरकुमार थकाली

ऐतिहाँसिक महत्वको धार्मिक बुद्धिस कुछ्प तेरङ्गा गुम्बा अब पुनःनिर्माण हुने पक्का भएको छ । स्याङ्पा फाउन्डेसद्धारा यस गुम्बाको पुनःनिर्माण गरिन लागिएको हो ।

मुस्ताङको घरपझोङ गाउँपालिका ५ ढुम्बा डाँडोमा अवस्थित कुछ्प तेरङ्गा गुम्बा झन्डै सातसय वर्ष पुरानो मानिएको छ । गुम्बा भित्र गुरु रिन्पोर्छे सम्बन्धि कुछ्प तेरङ्गाका पुरातात्तिक ५ रत्न खरखजाना राखिएको भएपनि पछिल्लो समय गुम्बा जीर्ण भईसकेकाले असुरक्षाका कारण त्यहाँ रहेका कुछ्प तेरङ्गाका ५ रत्न खरखजाना ठिनी घरपझोङ गुम्बामा स्थान्तरण गरिएको जनाईएको छ ।

Advertisement

धार्मिक हिसाब बहुमुल्य कुछ्प तेरङ्गालाई तिब्बतियन भाषामा ५ रत्नले अर्रथ्याईन्छ । कुछपको अर्थ हो–शरिरको प्रतिनिधि । गुम्बाभित्र गुरु रिन्पोर्छेको शरिरको प्रतिमूर्ति थियो । तेरको अर्थ–बहुमुल्य खजाना । त्यस्तै ङा को अर्थ– पाँच भन्ने बुझिन्छ । कुछ्प व्यवस्थापन अघि गुम्बाभित्र ५ प्रकारका प्रतिमूर्ति खजाना थिए । जसमा गुरु यङ्वा धुन्देन रिन्पोर्छेको मूर्ति, गुरु दोर्जे द्रोला रिसाएको मूर्ति, देवी खन्डो छोग्याल, रिन्पार्छेले लगाउने कपडा र उनको जुत्ता हुन् ।

कुछ्प गुम्बा स्थापनाको निकै चाख लाग्दो पौराणिक ऐतिहाँसिक कथा जिवितै छ । १५ औं सताब्दी ताका लामा लुङ्तेन उर्गेन पाल्साङ रिन्पार्छेले गुम्बा स्थापना गरेको भन्ने लामाहरुको भनाई छ । तर, उर्गेन पाल्साङले गुम्बा स्थापना गरेतापनि त्यसपछिका लामा गुरु रिन्पोर्छेहरुले यस गुम्बाको रेखदेख तथा मर्मत संम्भार गर्दै आईरहेका थिए । करिव ६५ वर्षअघि टिबेटबाट मुस्ताङ आएका न्हिङ्पा रिन्पोर्छेले पछिल्लो समय यस गुम्बाको मर्मत संम्भार गरेका थिए । अहिले फेरी आधा सताब्दीपछि यस गुम्बाको पुननिर्माण हुन लागेको हो । पुननिर्माण ६५ वर्षअघिका उनै न्हिङ्पा रिन्पोर्छेका अवतारी हालका लामा स्याङ्पा रिन्पोर्छेले यसमा चाँसो देखाएका हुन् ।

Advertisement

अवतारी स्याङ्पा रिन्पोर्छे सन् २००१ मा अर्थात १७ वर्षअघि कुछ्प तेरङ्गा गुम्बा अवलोकनका लागि मुस्ताङको ढुम्बा पुगेका थिए । रिन्पोर्छे त्यहाँ पुग्दा गुम्बाका लामा तथा स्थानीयबासीले गुम्बा पुननिर्माण गर्न आवश्यक भएको दुखेसो सुनाए । स्याङ्पा फाउन्डेसको ब्रोसरमा रिन्पोर्छेले भनेका छन् ,‘मैले ढुङ्गा र माटोले बनेका गुम्बा अत्यन्तै जीर्ण अवस्था देखे । गुम्बा भित्रको कुछ्प तेरङ्गाका ५ रत्न समेत अन्य स्थानमा सारिएको रहेछ । अहिले १७ वर्षपछि कुछ्प गुम्बाको पूननिर्माण गर्न मन लाग्यो र यसका लागि कार्यक्रम अघि बढाए ।

’उनले भने,‘ मेरै नाममा सुरु भएको स्याङ्पा फाउन्डेसनले अन्यकार्य गर्दै आईरहेको र सीमित बजेटका बाबजुत मैले यसको पुननिर्माणमा जोड दिएको हुँ । ’न्हिङपाले ब्रोसरमा भनेका छन् ।

स्याङ्पा रिन्पोर्छे फाउन्डेसनको ब्रोसरमा नयाँ पूनः निर्माण गर्न लागिएको गुम्बा दुई तले हुने उल्लेख गरिएको छ । झन्डै ३ करोड लागतमा बन्ने कुछ्प गुम्बाको भुईतलामा ठुलो सभा हल तथा पुजा कक्ष रहने छ, त्यसपछिको पहिलो तलामा कुछ्पकाे ५ बहुमुल्य बस्तु राख्ने कक्ष, ध्यान कक्ष र रिन्पोर्छे लगायत लामाहरुको बस्ने कोठाहरु हुनेछ । यसका साथै गुम्बाका वरपर थप संरचना पनि बन्ने भएको छ । गुम्बा नजिकै खाना खाने ठाउँ, कफी सप र तिर्थालु बिश्राम कक्ष बनाईने छ ।

पूननिर्माणकर्ता गुरु अवतारी स्याङ्पाले भनेका छन् ,‘गुम्बाको पुननिर्माणले सुभआशिष तथा धार्मिक मोक्ष मिल्ने र मनोरम दृष्य अवलोकन गर्ने अवसर मिल्ने छ । यो परियोजनाले ऐतिहाँसिक बस्तुको संरक्षण तथा बुद्ध धर्मको प्रर्वद्धनमा सघाउ पूर्‍याउने छ ।’ रिन्पोर्छेको ब्रोसरमा तल्लो मुस्ताङमा कुछप तेरङ्गा भएको पहिलो गुम्बा ढुम्बा भएको दावी गरिएको छ । यो गुम्बा न्हिङ्पा रिन्पोर्छेको बिरासत भएको स्याङ्पा ब्रोसरमा उल्लेख छ । उनले बुद्ध धर्मलाई पुस्तौपुस्ता सम्म जिवन्त राख्न सबै बौद्ध धर्मालम्बीहरुलाई सहयोगको अपिल समेत गरेका छन्।

गुम्बा स्थापनाको चाखलाग्दो कथा

लामा सनप्रसाद थकालीका अनुसार ठिनीको घरप झोङमा जन्मिएका लामा ‘लुङ्तेन उग्र्रेन पाल्साङ’ त्यस समयका नामुद लामा थिए । १५ औ सताब्दीमा लामा पाल्साङ बुद्ध धर्म संम्बन्धि थप ज्ञान, शिप हासिल गर्न तिब्बततर्फ गएका थिए । उनी तिब्बत जादाँ ‘सामे’भन्ने ठाउँमा त्यहाँका प्रसिद्ध लामा गुरु ‘रिन्जेन छेन्पो धुईधुल धोर्जेका’ साथमा ज्ञान लिए । तिब्बतबाट ज्ञान शिप लिई फर्कने क्रममा गुरु रिग्झिन छेन्पो डुडुल धोर्जेलाई भेटे । भेटपछि उनलाई बहुमुल्य कुछब तेरङा लामा गुरु डुडुलले उनलाई सुम्पिए । गुरुबाट तेरङ्गाको रुपमा ग्रहण गर्दे राम्रो संरक्षण र दिनहु प्रार्थना गर्ने बाँचागरी लामा पाल्साङ तिब्बतबाट मुस्ताङ फर्किए ।

तेरङ्गा लिएर मुस्ताङ फर्किएका लामा पाल्साङ बाटोमा माग्दै फिरन्ते भएर ‘छेवोढोङ’भन्ने स्थानमा आईपुगे । त्यँहा पुजापाठ गर्ने क्रममा तोर्म बनाउदा तोरढेप अर्थात पानी भरिएको एक प्रकारको प्लेटलाई कालो कागले टिप्प टिपेर लगेछ । लामा पाल्साङ त्यो देखेर अचम्ममा परे । उनी त्यहाँबाट पनि फर्कदै गर्दा ठिनी घरप झोङमा तिन रात बिताई ढुम्बा तर्फ लागे । कुछ्प गुम्बा रहेको ढुम्बा डाडाँ नजिकै कालो ढुङ्गामा त्यही कागले टिपेर लगेको सामान भेट्न पुगे ।त्य सबेला उनलाई तेरङ्गा दिने तिब्बती लामा गुरु रिन्जेन छेन्पो डुडुलले भनेका कुराहरु सम्झिन थाले ।

गुरुले उनलाई कुछब तेरङ्गालाई दाहिने तर्फ सेतो हिमाल निलगिरी, देब्रे पट्टी ठुलो नदी कालिगण्डकी नदी, अगाडी पट्टी कुडो, पछाडी पटुटी मुङ्लीधाङ धौलागिरी हिमाल बिचमा हात्तिको सुढमा टाउको जस्तो डाडो, डाडाँमा कालो ढुङ्गा रहेको ठाउमा राख्नु भन्ने कुरा सम्झिए । त्यसपछी लामा पाल्साङले कुछब तेरङालाई ढुम्बा डाडाँमा गुम्बा निर्माण गरी कुछब तेरङ्गालाई प्रतिस्थापन गराईएको लामाको भनाई छ ।

‘कुछब तेरङ्गा’ अर्थात ढुम्बा गुम्बा मुस्ताङका स्थानियहरुका लागि महत्वपुर्ण धार्मिक स्थल रहदै आएको छ । पुरानो र प्राचिन गुम्बा भएकाले घरपझोङ गाउँपालिका ५ ठिनी,सम्ले र ढुम्बाका स्थानियबासीले गुम्बा ब्यवस्थापन समिति गठन गरेर यसको रेखदेख गदै आईरहेको जनमुक्ति यूवाक्लव ठिनीका अध्यक्ष नरेन्द्र थकालीले जानकारी दिए । हाल गुम्बामा लामा पाल्साङका शिष्यहरु कोही नरहे पनी अन्य लामाहरुबाट गुम्बामा दैनिक पुजापाठ गर्ने गरिएको छ ।

गुम्बाको नजिकै डाडाँको फेदमा ढुम्बा ताल पनि छ । सो स्थानबाट तल्लो मुस्ताङका चारैतर्फका भु—भागहरु देखिन्छन् । गुम्बामा बर्षेनी एकपटक देबि देबताका नृत्य सहितको पुजापाठ ९ध्येक्याप० देखाउने चलन छ । बर्षेनी देखाईने ध्येक्यापले शान्ति स्थापना , दुःख, दर्द, रोग व्याधी र अनिष्ठ पखालिने धार्मिक जनविश्वाश छ ।

तपाईको प्रतिक्रिया