संगीत दिवसमा सम्मान

समाधान संवाददाता २०७९ असार ८ गते ११:३०

पोखरा ।
विश्व संगीत दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश समितिले मंगलबार ११ औं बृहत् खुला रक्तदान तथा स्रष्टा सम्मान आयोजना गरेको छ । ‘हाम्रो अभियान: अग्रजलाई सम्मान र नवप्रतिभालाई सम्मान’ भन्ने नाराका साथ भएको समारोहमा कलाकारले सांस्कतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा हरेक वर्ष प्रदान गर्दै आएको स्रष्टा सम्मान कार्यक्रम अन्तर्गत वरिष्ठ सारंगीवादक सम्मरबहादुर गायक र प्रतिष्ठानका पूर्व केन्द्रीय उपमहासचिव तथा गण्डकीका पूर्व अध्यक्ष चोलेन्द्र पौडेल दोसल्ला ओढाएर सम्मानपत्र गरिएको छ । कार्यक्रममा ४८ युनिट रगत संकलन भएको प्रतिष्ठान गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए । कार्यक्रममा ७९ पटक रक्तदान गरेका लक्ष्मण गुरुङलाई समेत सम्मान गरियो ।

जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेलले समाजलाई सही दिशा प्रदान गर्न कलाकारको भूमिका रहने बताए । ‘हरेक राजनीतिक परिवर्तनमा गीत संगीत तथा प्रहसनको माध्यमबाट जनतालाई जागरुक बनाउन कलाकारको योगदान छ,’ उनले भने, ‘कलाकारको योगदानको कदर गर्दै नीति निर्माण र बजेट विनियोजन गरेर लोकदोहोरी गीतको संस्थागत विकासमा राज्यले ध्यान दिन आवश्यक छ ।’

Advertisement

कार्यक्रममा लोक दोहोरी गायक तारापति सुवेदी, राजन कार्की, रामजी पौडेल, अम्बर धिताल, माया गुरुङ, निश्चल थापामगर, गोमा क्षेत्री, सरस्वती लामिछाने लगायत कलाकारले सांगीतिक प्रस्तुति राखेका थिए । गण्डकी प्रदेश सभाका सदस्य इैन्द्रधारा विष्ट र नेपाल रेडक्रस कास्कीका उपसभापति डण्डराज शर्माले रक्तदातालाई प्रमाणपत्र वितरण गरे । कार्यक्रममा तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, प्रतिष्ठानका केन्द्रीय सदस्य तथा गण्डकीका संस्थापक अध्यक्ष शंकरविरही गुरुङ, प्रतिष्ठान गण्डकीका संस्थापक सहअध्यक्ष राजेन्द्र सापकोटा, प्रतिष्ठान गण्डकीका सचिव राजन कार्की, कार्यक्रम संयोजक तथा स्वास्थ्य विभागका प्रमुख विमल जिसी लगायतले विश्व संगीत दिवसका बारेमा बोलेका थिए ।

सन् १९७०मा फ्रान्स सरकारले २१ जुन वर्षको लामो दिन भएकाले विभिन्न सांगीतिक कार्यक्रम गरी मनाउने घोषणा गरेपछि विश्व संगीत दिवस मनाउन सुरु भएको हो । अहिले यो दिवस विश्वका १ सय ६० भन्दा बढी देशमा मनाउने गरिएको छ । नेपालमा २०५५ सालबाट दिवस मनाउन थालिएको हो । पोखरामा ०६० सालदेखि निरन्तर संगीत दिवसको अवसरमा विविध कार्यक्रम हुँदै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया