सुवास धरौटीमा छुटे, सुन्दरको बहस बाँकी

समाधान संवाददाता २०७५ चैत ३० गते ९:२६

समाधान सम्वाददाता

बालिकामाथि यौन दूव्र्यवहारको आरोपमा पक्राउ परेका सुवास सुवेदी शुक्रबार धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कास्कीमा शुक्रबारको थुनछेक बहसपछि सुवेदी ३ लाख रुपैयाँ धरौटीमा छुटेको स्रेस्तेदार लोकनाथ पराजुलीले बताए ।

जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले सुवेदीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । चैत ८ गते पक्राउ परका उनी विरुद्ध जिल्ला प्रहरी कार्यालयको अनुसन्धानपछि शुक्रबारै जिल्ला न्यायाधिवक्ताको कार्यालयमार्फत जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको जिल्ला न्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले बताए ।

Advertisement

चितवन घर भएकी १७ वर्षे ती बालिका सानै उमेरदेखि लेकसाइडको कान्तिपुर होटल नजिकैको घरमा घरेलु श्रमिकको रुपमा काम गर्दै आएकी थिइन् । गत भदौदेखि विभिन्न लोभ देखाएर होटल सञ्चालक सुन्दर श्रेष्ठले बलात्कार गरेको र सुवेदीले यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीमा अलगअलग २ जाहेरी परेको थियो ।

श्रेष्ठ र सुवेदी एकै दिन पक्राउ परेका हुन् । श्रेष्ठ पोखरा उपत्यका नगर विकास समिति अध्यक्ष र पोखरा पर्यटन परिषद पूर्वअध्यक्ष हुन् ।सुवेदी एनआइसी एसिया पस्र्याङ शाखाका प्रबन्धक हुन् ।

Advertisement

दुवै विरुद्ध शुक्रबार मुद्दा दायर भए पनि समय अभावले श्रेष्ठको मुद्दामा बहस हुन पाएन । सुवेदीलाई मुलुकी अपराध संहिता दफा २२५ को ३ अनुसार ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवानाको मागदाबी छ । उक्त मुद्दामा सरकारी पक्षबाट सहायक न्यायाधिवक्ता महदत्त पौडेलले बहस गरेका थिए ।

बालिका बलात्कार आरोप लागेका श्रेष्ठलाई १० देखि १२ वर्षसम्म कैद र मनासिब बमोजिम क्षतिपूर्ति मागदाबीसहित मुद्दा दर्ता भएको छ । १६ वर्ष वा सो भन्दा माथि र १८ वर्षभन्दा कम उमेर भए मुलुकी अपराध संहिता दफा २१९ को ३ (घ) अनुसार १० देखि १२ वर्षसम्म कैद मागदाबी गरिएको हो । वारदात हुँदाको बखत ती बालिकाको उमेर १७ वर्ष ६ महिना २५ दिन थियो । १८ वर्ष भन्दा कम उमेरका बालिकासँग सहमतिमै यौन सम्पर्क गरे पनि बलात्कार ठहर्छ ।

चैत ७ गते बेलुकादेखि बालिका सम्पर्कमा नआएपछि खोजीका लागि संरक्षकले प्रहरीमा निवेदन दिएका थिए । खहरेस्थित साथीको घरमा ८ गते उनी फेला परेकी थिइन् । प्रहरीले उनलाई सोध्दा केही भन्ने नमाने पनि महिला प्रहरीसँग भने उनी खुलेकी थिइन् । आफू बारम्बार बलात्कारको सिकार भएकै कारण विक्षिप्त भएर हिँडेर र आफूलाई मर्न मन लागेको उनले प्रहरीसमक्ष बताएकी थिइन् ।

तपाईको प्रतिक्रिया