पाठकको हातमा प्रदीपको ‘मफलर’

समाधान संवाददाता २०७९ असोज ९ गते १०:५४

काठमाडौं ।
गजलकार प्रदीप रोदनको पहिलो कृति ‘मफलर’ लोकार्पण गरिएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार अमर न्यौपाने र लेखक रोदनले पुस्तक सार्वजनिक गरे ।

साहित्यकार न्यौपानेले रोदनको यो कृति गजलको रदिफ र काफिया मिलाइएको गजलसंग्रह मात्र नभएर मन्त्रहरूको संग्रह रहेको विचार राखे । ‘जीवनलाई मथेर निकालिएको नौनी हो मफलर,’ उनले भने, ‘खारिएका पवित्र वाक्य यस संग्रहमा छन् । धेरै पुस्तक बोरामा थन्काउनुपर्ने हुन्छ । केही पुस्तक बुककेसमा सजाएर राखिन्छ । केही किताब यस्ता पनि हुन्छन्, जो सिरानीमुनि राखिन्छ । यो पनि सिरानीमुनि राख्ने कृति हो ।’

लेखक रोदनले गजल लेख्दा आफूले कैयौं पटक आफ्नै हृदय छामेको र सेरहरूको धड्कन महसुस गरेको सुनाए । ‘केही नबन्दा अरु केही बन्दो रहेछ । यसरी सेरहरूको माया क्षेत्र हृदयको गहिराइसम्म पुग्यो र गजल बने । पुस्तकमा १ सय ८ गजल र त्यति नै फर्द छन् ।

Advertisement

गोरखा पालुङटार पाण्डेबेसी जन्मथलो भएका प्रदीप आफ्नै गाउँको सरकारी विद्यालयमा शिक्षक छन् । उनले देशविदेशका विभिन्न कार्यक्रम र सामाजिक सञ्जालमा आफ्ना गजल प्रस्तुत गरेर धेरैको मन जितेका छन् । रोदनले ०७३ सालमा ‘लोकप्रिय गजलकार अवार्ड’, ०७५ सालमा ‘उत्कृष्ट युवा प्रतिभा पुरस्कार’ र ०७९ सालमा ‘साताको साहित्य पुरस्कार’ पाएका थिए ।
मफलर फाइन प्रिन्टले प्रकाशन गरेको पहिलो गजल कृति हो ।

Advertisement

तपाईको प्रतिक्रिया