बोलेरोको ब्रेक फेल भएपछि साहुको कुखुरा र अमृतको घरमा क्षति

समाधान संवाददाता २०७६ वैशाख १९ गते १५:२०

समाधान संवाददाता
पोखरा

कुखुरा ढुवानी गर्ने बोलेरो जिप ब्रेक फेल हुँदा विपरित दिसाबाट आइरहेको एम्बुलेन्स र बाटो छेउमै भएको एक घरमा क्षति पुगेको छ ।
कास्की हसंपुरदेखि कुखुरा लिएर शिसुवा आउँदै गरेको ग२च ३०८८ नम्बरको ढुवानी जिप पोखरा महानगरपालिका ३१ पचभैयाडाँडा, लाकुरीबजारमा ब्रेक नलाग्दा दुर्घटनामा परेको हो ।

५ सय कुखुरा लिएर शिशुवा बजार झर्दै गरेको उक्त जिप ५० मिटर माथिबाट अनियन्त्रित हुँदा दुर्घटनामा परेको प्रत्यक्षदर्शी तिर्थराज तिवारीले बताए ।

Advertisement

अनियन्त्रित भएको जिपले पोखरा ३१ मा रहेको स्वास्थ्य चौकीको ग२च ९५३१ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिँदै बाटो छेउमै रहेको एक घरको पाली भित्र छिरेको तिवारीले जानकारी दिए । घर स्थानीय अमृत क्षेत्रीको रहेको बुझिएको छ ।

एम्बुलेन्स सामुदायिक अस्पताल शिशुवामा बिरामी छाडेर स्वास्थ्य चौकी कार्यालय फर्कदै गरेको अवस्थामा जिपले ठक्कर दिएको थियो ।

Advertisement

दुर्घटनामा कुनै मानवीय क्षति नभएको डाँडाकोनाक ट्राफिक प्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक डोलिन्द्रबहादुर हमालले जानकारी दिए ।

घरको अगाडि भागको पाली पूर्ण रुपमा क्षति भएको छ । त्यहीँ ठाउँमा पार्किङ गरी राखिएको ग११प ८९६५ नम्बरको पल्सर बाइकलाई समेत क्षति पुगेको ट्राफिक प्रहरी हमालले जानकारी दिए । जिपमा रहेका ५० कुखुरा मरेको उनले बताए ।

केहि दिनअघिबाटै जिपमा समस्या देखिएको घटनाको प्रारम्भिक अध्ययनमा खटिएका एक प्रहरीले बताए । जिप मर्मतकै क्रममा भएपनि ढुवानीका लागि प्रयोग गर्दा दुर्घटना हुन सक्ने प्रहरीको भनाई छ ।

उक्त जिप कुखुरा फार्म सञ्चालन गर्दै आइरहेका शिशुवाका एक व्यवसायीको रहेको स्थानीयले बताएका छन् । सवारी र चालक प्रहरी नियन्त्रणमा राखिएको छ ।

तपाईको प्रतिक्रिया