दमौली अस्पतालमा डायलायसिस सेवा लिन पालो पर्खिँदै

राष्ट्रिय समाचार समिति (रासस) २०७९ फागुन १६ गते १६:४०

दमौली ।
तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा मिर्गौला उपचार केन्द्र सञ्चालनमा छ । राष्ट्रिय मिर्गौला उपचार केन्द्रमार्फत नौ वर्षदेखि सञ्चालित उक्त मिर्गौला केन्द्रमा हाल ५० जना पीडितले डायलायसिस सेवा लिइरहेका छन् ।

तर अझै ३० मिर्गौला पीडित डायलायसिसका लागि पालो पर्खिँदै छन् । तनहुँका विभिन्न ठाउँका मिर्गौलापीडितले मिर्गौला उपचार केन्द्रमा डायलायसिसका लागि नाम टिपाएर पालो पर्खिरहेका छन् । नियमितरूपमा डायलायसिस गराउनुपर्ने उनीहरूले हाल पोखरामा डायलायसिस गरिरहेका छन् ।

आफ्नै गृहजिल्लामा डायलायसिस सेवा लिनका लागि उनीहरू नाम टिपाएर कुरिरहेको उपचार केन्द्रका प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिए । “तीस जना तनहुँकै मिर्गौलापीडित अहिले बाहिरी जिल्लामा गएर डायलायसिस गराइरहनुभएको छ, यहीँ नै डायलायसिस गराउँदा उहाँहरूलाई सहज हुन्छ”, उनले भने, “तर अहिले डायलायसिसका लागि ठाउँ खाली छैन ।”

Advertisement

उपचार केन्द्रमा डायलायसिस गराइरहेका मिर्गौलापीडितले मिर्गौला प्रत्यारोपण वा अन्यत्रै स्थानान्तरण भएर गएमात्रै नयाँले मौका पाउने अवस्था रहेको उनले बताए । “ठाउँ खाली भएमात्रै नयाँलाई मौका दिने हो, कि उहाँहरूले मिर्गौला प्रत्यारोपण गर्नुपर्‍यो कि अन्यत्रै जिल्लामा स्थानान्तरण भएर जानुपर्‍यो”, उनले भने, “ठाउँ खाली भएपछि नाम दर्ता गरेकाहरूलाई यहाँ डायलायसिसको व्यवस्था मिलाउँछौँ ।”

नेपाल सरकारको नीतिबमोजिम उपचार केन्द्र औपचारिकरूपमा दमौली अस्पताललाई हस्तान्तरण गरिसकिएको भएता पनि हाल सोही केन्द्रले दमौली अस्पताल सूचीकृत नभएसम्मका लागि सञ्चालन गरिरहेको छ । हाल आठ मेसिनमार्फत ५० बिरामीले डायलायसिस सेवा लिइरहेका छन् । दमौली अस्पतालले आगामी दिनमा डायलायसिस केन्द्र सञ्चालन गरेता पनि शत्रुधन मन्जु डायलायसिस उपचार केन्द्रको रूपमा नै सञ्चालन हुने प्रतिबद्धता जनाएको छ ।

Advertisement

विसं २०७२ मङ्सिर ३ गते अस्पतालमा डायलायसिस युनिट सञ्चालनमा आएको थियो । उक्त युनिट गत कात्तिक २४ गते दमौली अस्पताललाई हस्तान्तरण गरिसकिएको छ । युनिटमा हालसम्म दुई सय २८ ले डायलायसिस सेवा लिएका छन् । केन्द्रमा तनहुँका अतिरिक्त छिमेकी जिल्लाका मिर्गौलापीडितले पनि डायलायसिस सेवा लिइरहेका छन् । लमजुङ, गोरखा, स्याङ्जा, कास्की जिल्लाका मिर्गौला पीडितले केन्द्रबाट नियमितरूपमा डायलायसिस सेवा लिइरहेको जनाइएको छ ।

हेल्थ केयर फाउण्डेशन अफ नेपालले दमौली अस्पतालमा डायलायसिस केन्द्र स्थापना गरेको थियो । केन्द्रका लागि मन्जु उपाध्यायले आफ्ना पति शत्रुधन उपाध्यायको स्मृतिमा सुरुमा रु एक करोड सहयोग गर्नुभएको थियो भनेपछि उपकरण थप गर्नका लागि रु २५ लाख सहयोग गर्नुभएको थियो । केन्द्रमा सुरुमा रु एक करोड २० लाखको लागतमा छवटा डायलायसिस उपकरण जडान गरिएको थियो । पछि दुईवटा उपकरण थप गरेपछि केन्द्रमा हाल आठवटा डायलायसिस उपकरण रहेको छ ।

मिर्गौलापीडितलाई साढे दुई लाख सहयोग
व्यास नगरपालिका–८ जौबारी निवासी २५ वर्षीया मिर्गौलापीडित प्रिती गुरुङलाई तनहुँ समाज हङकङले रु दुई लाख ४६ हजार छ सय ५० आर्थिक सहयोग गरेको छ ।

केही समयदेखि मिर्गौलासम्बन्धी समस्याबाट पीडित गुरुङलाई समाजले सोमबार उक्त रकम सहयोग गरेको हो । तनहुँ समाज हङकङका निवर्तमान अध्यक्ष जंगबहादुर थापा, पूर्वअध्यक्ष भीमराज गुरुङ र सचिव सुवित गुरुङले पीडितको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यस्वरुप उक्त रकम हस्तान्तरण गरेका छन् ।

समाजका निवर्तमान अध्यक्ष थापाले विगतदेखि नै समाजले तनहुँको सामाजिक विकाससँगै विभिन्न रोगका पीडितलाई सहयोग गर्दै आएको बताए । दुःख, पीडामा परेको खबर समाजलाई प्राप्त हुनासाथ क्षमताअनुसार सहयोग संकलन अभियानमा जुट्ने गरेको थापाले बताए ।

समाजले सन् १९९९ देखि तनहुँका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको पूर्वअध्यक्ष गुरुङले बताए । सुरुका दिनमा शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएकोे समाजले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा सहयोग गरिरहेको उनले बताए ।

उक्त रकम समाजका सचिव सुवित गुरुङको संयोजकत्वमा संकलन गरिएको थियो । विभिन्न सिलसिलामा हङकङ पुगेका तनहुँवासी र गैर तनहुँवासीसँग समन्वय गरी रकम जुटाइएको समाजले जनाएको छ । समाजले भूकम्पपछिको पुनःनिर्माण, बाढी–पहिरोजस्ता दैवी प्रकोपबाट पीडित, विभिन्न स्वास्थ्य समस्याबाट पीडितलाई सहयोग गर्नुका साथसाथै तनहुँको शिक्षा, स्वास्थ्य र खानेपानी, सञ्चारसम्बन्धी पूर्वाधार विकास तथा प्रवद्र्धनमा सहयोग गर्दै आएको छ ।

समाजले जिल्लाको शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउन रु १५ लाखको अक्षयकोष पनि स्थापना गरेको छ । विसं २०५६ मा स्थापित समाजले जिल्लाको विभिन्न विद्यालयमा उक्त अक्षयकोषको ब्याजबाट प्राप्त रकमले सहयोग गर्दै आइरहेको छ । दमौलीस्थित गण्डकी विकास बैंकमा स्थापित अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष बालबालिकाका लागि समाजले सहयोग गर्दै आएको छ ।

समाजले यसका अतिरिक्त भानु जन्मस्थल विकास समितिमा रु पाँच लाखको लगानीमा पुस्तकालय स्थापना गरेको छ भने साथै क्यामिनको छापथोक, भीमादलगायतका स्थानमा खानेपानी आयोजनामा पनि आर्थिक सहयोग गरेको छ । समाजमा चार सय तनहुँवासी आबद्ध छन् । समाजले हङकङमा समेत विविध कार्यक्रम गर्दै आएको छ । समाजले भावनात्मक विकास गर्ने र हङकङमा बस्ने नेपाली कसैलाई दुःख पर्दा साथ दिँदै आएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया