फ्लो फ्लो कप आयोजकलाई

समाधान संवाददाता २०७९ फागुन २१ गते १२:३३

पोखरा ।
प्रथम फ्लो फ्लो कपको उपाधि आयोजक गन्नी एफसी निलोले जितेको छ । फाइनल खेल निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ३–२ गोल अन्तरले सि फोर्टिन रत्नचोक एफसीलाई पराजित गर्दै आयोजकले उपाधि हात पारेको हो ।

गन्नी एफसीले नगद २ लाख ११ हजार १ सय ११, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । खेलको पहिलो हाफमा रत्नचोकका मनोज नेपालीले गोल गर्दै अग्रता लिएको भएता पनि दोस्रो हाफमा भने रत्नचोक चुक्यो ।

दोस्रो हाफको सुरुमा गन्नीका युनिक गुरुङले सी फोर्टिनका खेलाडीलाई लडाएपछि रेड कार्ड पाएर गन्नी ६ खेलाडीमा सिमित हुन पुग्योे । दोश्रो हाफको बीचमा गन्नीका सुनील गोतामेले १ गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

Advertisement

प्रतियोगिताको उपविजेता सी फोर्टिन रत्नचोकले नगद १ लाख ५ हजार ५ सय ५५, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । खेलमा म्यान अफदी म्याचको उपाधि गन्नी एफसीका सुनील गोतामेले हात पारे । प्रतियोगितामा गन्नीका आकाश रानाभाटले सर्वोत्कृष्ट खेलाडीको उपाधिसहित ट्रफी र नगद ७ हजार प्राप्त गरे ।

सर्वाधिक गोलकर्ता गन्नीकै गणेश क्षेत्रीले नगद ५ हजार प्राप्त गरे भने उत्कृष्ट गोलरक्षकको उपाधि सी फोर्टिनका गोल रक्षक प्रवीण गुरुङले हात पारे । उपाधिसँगै गुरुङले नगद ५ हजार प्राप्त गरे । आर्मीका मेजर खिमबहादुुर क्षेत्रीले रेफ्रीलाई बल हस्तान्तरण गरी फाइनल खेल सुरुआत गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया