वन विज्ञानमा स्ववियु चुनाव १२ गते

समाधान संवाददाता २०७९ चैत १० गते १०:२२

पोखरा ।
वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन चैत १२ गते हुने भएको छ ।

निर्वाचन समितिमा लागेको तालाबन्दी खोलेर निर्वाचन प्रक्रियामा जाने सहमति भएसँगै निर्वाचन तालिका सार्वजनिक भएको हो ।

यसअघि फागुन २५ गते सम्पूर्ण विद्यार्थीको नामावली सार्वजनिक नभएको भन्दै नेपाल विद्यार्थी संघ(नेविसंघ) र अखिल (क्रान्तिकारी)ले संयुक्त रुपमा निर्वाचन कार्यलायमा तालाबन्दी गरेका थिए । जसले गर्दा तोकिएको मितिमा निर्वाचन हुन सकेको थिएन ।

Advertisement

बुधबार क्याम्पसका ३ विद्यार्थी संगठनबीच निर्वाचन प्रक्रिया अगाडि बढाउने सहमति भएसँगै निर्वाचन समितिले मिति तोकेर निर्वाचन प्रक्रिया सुरु गरेको हो । निर्वाचन समितिले चैत १२ गते निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

पोखराका अरु क्याम्पसमा भने स्ववियु निर्वाचनको छेकछन्द छैन । नेपालकै सबैभन्दा बढी विद्यार्थी रहेको पृथ्वीनारायण (पिएन) क्याम्पसमा उच्च अदालत पोखराले स्ववियु निर्वाचनको काम कारबाही अगाडि नबढाउन आदेश दिएको छ । क्याम्पसको एक समूहले आफूले दर्ता गरेको नाम नपाएको भन्दै उच्च अदालतमा रिट दायर गरेको थियो ।

Advertisement

सोही रिटमा टेकेर अदालतले अन्तिम आदेश नआउँदासम्म क्याम्पसमा निर्वाचन गतिविधि अगाडि नबढाउन आदेश दिएको थियो । सोही कारण पिएनमा स्ववियु निर्वाचन हुन सकेन ।

पोखरा नर्सिङ क्याम्पसमा पनि उच्च अदालत पोखराले काम, कारबाही अगाडि नबढाउन आदेश जारी गरेपछि स्ववियु निर्वाचित अनिश्चित बनेको छ । चुनावी प्रक्रियाअघि बढेको नर्सिङमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले अनेरास्ववियु सभापति र कोषाध्यक्षको मनोनयन खारेज गर्न माग गर्दै अदालतमा रिट दायर गरेपछि अदालतले काम, कारबाही अगाडि नबढाउन आदेश दियो ।

इन्जिनियरिङ अध्ययन संस्थान उम्मेदवारी दर्ता भएर अगाडि बढेको थियो । तर, नेविसंघको एउटा पक्षले उम्मेदवारी दर्तामा असन्तुष्ट जनाउँदै फागुन २९ मा क्याम्पस प्रशासन तथा स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि इन्जिनियरिङ अध्ययन संस्थानमा पनि स्ववियु अनिश्चित छ ।

नेविसंघले मनोनयन दर्तामा एकलौटी गरेको भन्दैै नेविसंघ क्याम्पस इकाइ समितिका ३ उपसभापतिसहित राजीनामासमेत गरेका थिए । सोही समूह निर्वाचन समितिको राजीनामा माग गर्दै आमरण अनसन पनि बसेको थियो । विवाद समाधान गर्न बसेको विद्यार्थी र क्याम्पसको बैठकमा सहमति नजुटेपछि अन्तिम समयमा स्ववियु निर्वाचन स्थगित भयो ।

संस्कृत विश्वविद्यालय अन्तर्गतको विन्दुवासिनी संस्कृत विद्यापीठ क्याम्पसमा पनि स्ववियु निर्वाचनको मिति चैत ५ नै तोकिएको थियो । जसको फागुन २८ गते उम्मेदवारी दर्ता गर्न कार्यसूची थियो । तर, दुई विद्यार्थी संगठनले मुख्य प्रवेशद्वार तालाबन्दी गरेपछि उम्मेदवारी दर्ता हुन सकेन ।

जनप्रिय बहुमुखी क्याम्पसमा फागुन ५ गते विद्यार्थीले तालाबन्दी लगाएपछि निर्वाचनका कुनै पनि प्रक्रिया अगाडि बढ्न सकेन ।

उक्त ताला फागुन ८ गते खुलेपछि पुनः ९ गते दोस्रो पटक तालाबन्दी भयो । तालाबन्दीपछि बसेको सर्वदलीय बैठकले पनि त्यो समाधान गर्न नसकेपछि त्रिविको कार्यतालिका अनुसार निर्वाचन भएन ।

तपाईको प्रतिक्रिया