नेत्र गुरुङ निर्देशित चलचित्र ‘कडी’ को शुभ मुहूर्त

समाधान संवाददाता २०८० जेठ २३ गते १२:५५

पोखरा ।

दश वर्षअघि नेपाली चलचित्र ‘नाइके’ निर्देशन गरेका पोखराका नेत्र गुरुङद्वारा निर्देशित चलचित्र ‘कडी’ को शुभ मुहूर्त गरिएको छ । नेत्र इन्टरटेन्मेन्ट ब्यानरमा सुस्मिता फिल्मस्को सहकार्यमा बन्न लागेको ‘कडी’ को संस्कृतिकर्मी तीर्थ श्रेष्ठले सोमबार पोखराको विन्ध्यवासिनी मन्दिरमा शुभ मुहूर्त गरेका हुन् ।


माइती घर चलचित्रको कालाकोटैले भन्ने गीतको छायाँकन समेत विन्ध्यवासिनी मन्दिरमा गरिएको जानकारी गराउँदै कडीको शुभमुहूर्त गर्न पाउँदा खुसी लागेको उनले बताए ।

Advertisement


पोखरा प्राकृतिक स्टुडियो भएकाले थुप्रै चलचित्रहरु सुटिङ हुने गरेको उल्लेख गर्दै श्रेष्ठले भारतीय नायक देवानन्दले समेत पोखरामा चलचित्र सुटिङ गरेको जानकारी गराए । कार्यक्रममा कलाकार माओत्से गुरुङले नेत्र गुरुङ म्युजिक भिडियो र सर्ट फिल्ममा चिरपरिचित नाम भएको उल्लेख गरे ।


चलचित्र निर्देशक घनश्याम लामिछानेले ‘कडी’ नेपाली चलचित्र क्षेत्रका लागि नौलो बन्नेमा आफू विश्वस्त रहेको बताए । नेत्र गुरुङले कडी आफ्ना लागि ड्रिम प्रोजेक्ट भएको उल्लेख गरे । म्युजिक भिडिओका लागि तयार पारिएको कथा चलचित्र बन्ला भनेर आफूले कल्पनासमेत नगरेको भनाइ उनको छ ।

Advertisement


कडीमार्फत गुरुङले टिकटकबाट चर्चामा आएका बद्रीप्रसाद तिवारीलाई मुख्यपात्रका रुपमा प्रस्तुत गर्दैछन् । नायकको भूमिकामा तिवारी रहनेछन् । यस्तै थुप्रै म्युजिक भिडिओमा अभिनय गरेकी सोफी धरेल नायिकाको भूमिकामा रहनेछिन् ।


तिवारी र धरेलको यो पहिलो चलचित्र हो । मल्टी क्यारेक्टरवाला स्टोरीमा बन्ने चलचित्रमा प्रकाश घिमिरे, कमल भण्डारी, सुगत करणजीत, विकास खनाल, संगम कायस्थ, राजेन्द्र अधिकारी, राम बास्तोला, सरिता दानकुटी, प्रमिला तुलाचन, अर्जुन खड्का लगायत कलाकारहरुको अभिनय रहनेछ । टिकटकमा मार्फत चर्चामा आएका सहित धेरै नयाँ कलाकाहरुलाई स्थान दिइएको निर्देशक गुरुङले बताए ।


चलचित्रलाई छायाँकन दीपेश केसीले गर्नेछन् भने पब्लिसिटी डिजाइनरमा सविन गायक छन् । सो अवसरमा सविन गायकले नै डिजाइन गरेको फस्ट लुक पनि सार्वजनिक गरिएको छ । सपना तिवारीको ड्रेस डिजाइनमा चलचित्र निर्माण हुनेछ ।

तपाईको प्रतिक्रिया