यसरी गरौं फोहोर व्यवस्थापन

समाधान संवाददाता २०७६ असार ८ गते १५:४९

हाम्रो आनीबानी पनि अचम्मको छ । घरभित्रैबाट फोहोर निस्कन्छ । त्यसलाई टोलको चोकमा लगेर थुपारिन्छ । अनि २÷४ दिन नगरपालिकाको गाडी आउँदैन । अनि हामी सरकारलाई सराप्न थाल्छौं । यतिका दिन भयो फोहोर उठाउने गाडी आएन भन्दै कराउँछौं र टोलै उचाल्छौं । तर कुहिने फोहोरलाई घरमै व्यवस्थापन गर्नतिर कमैको ध्यान पुगेको छ ।

भान्साबाट निस्कने अधिकांश फोहोर कुहिने खालको हुन्छ । जसबाट हामीले धेरै फाइदा लिन सक्छौं । तर त्यही फोहोर व्यवस्थापन गर्न नसक्दा पोखरा अहिले दुर्गन्धित सहरको रुपमा चिनिन थालेको छ । फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले तत्कालीन पोखरा उपमहानगरपालिकालाई २०७१ सालमा मुलुकभरकै सफा सहरको रुपमा पुरस्कृत गर्‍यो । २०७२ सालमा भने पोखराको ठाउँ हेटौंडाले ओगट्यो भने पोखरा १० औं नम्बरमा ओर्लियो । फोहोरमैला व्यवस्थापनमा पूर्वाधार, समुदाय परिचालन, योजना तर्जुमा, खानेपानी तथा ढल निकास, सार्वजनिक शौचालय, ट्राफिक, सचेतना कार्यक्रम, ध्वनि लगायत प्रदुषण नियन्त्रण तथा पार्क तथा हरियाली एवं सौन्दर्य निर्माण शीर्षकमा नगरपालिकाहरुको मूल्यांकन गरेको थियो ।

मानिस लगाएर सफा गर्नुपर्ने फोहोर आकासे पानीले बगाइदिएका भरमा सफा देखिएको पोखरा उपमहानगर पालिकाले सरसफाइका लागि खास काम नगरेको अनुसन्धानले देखाएको हो । त्यो अवस्था अहिले पनि कायमै छ । अझै भनौं बढ्दो जनसंख्यासँगै पोखरा महानगरपालिकामा फोहोर व्यवस्थापन चुनौती बन्दै गएको छ ।

Advertisement

पोखरामा बनेको ल्यान्डफिल साइट कुनै बेला नेपालकै नमुना थियो । तर जुन अनुपातमा जनसंख्या र फोहोरको मात्रा बढेको छ, त्यस अनुपातमा ल्यान्डफिल साइटको व्यवस्थापन नगर्दा पिलोमाथि घाउ थपिएको छ । फोहोर व्यवस्पानमा पुरानै कार्यशैली अपनाउने, अनि सीमित स्वार्थका भरमा कम्पनीलाई जिम्मा दिने अनि दीर्घकालीन योजना नबनाउने गर्दा नै पोखरा मैलो महानगरमा परिणत हुँदै गएको छ ।

अहिले स्थानीय तह आफैं शक्तिशाली छन् । आफ्ना लागि कानुन आफैं बनाउन सक्छन् । तर पोखरा महानगर कहानेर अलमलिइरहेको छ थाहा छैन । पुरानै मनोवृत्तिका कर्मचारीले प्रभावकारी योजना अघि बढाउन अवरोध गरिहेका छन् । जनप्रतिनिधि कामको चापले फोहोरमैलामा केन्द्रित हुन सकेका छैनन् । प्रदेश सरकारले आन्तरिक पर्यटन वर्ष मनाइरहेको छ । बाहिरबाट हेर्दा चिटिक्क देखिने पोखरा भित्र भने फोहोरका डंगुुरले स्वागत गरिरहेको देख्न पाइन्छ । यो कुनै पनि सभ्य सहरका लागि सुहाउने विषय हैन ।

Advertisement

फोहोरमैलाको वर्गीकरण नगर्नु, पुनप्रयोग पुनप्रशोधन गर्न सकिने फोहोरलाई पनि त्यसो नगर्नु र व्यवस्थानबारे योजना नै तर्जुमा नगर्नु पोखरा महानगरपालिकाको मुख्य कमजोरी हो । त्यसो गरे ल्यान्डफिल साइट लैजानुपर्ने फोहोर सन् २०२५ सम्ममा १५ प्रतिशतमा झार्न सकिने १ अनुसन्धानले पनि देखाइसकेको छ । पोखरामा जम्मा हुने फोहोरमध्ये पुनप्रयोग र पुनप्रशोधन गर्न सकिने मेटल ३९, कागज ३३ प्रतिशत संकलन हुन्छ ।

अहिले पोखरामा दैनिक १ सय ६० टन फोहोर उत्पादन हुन्छ । फुटपाथमा समेत फालिएका फोहोरले यात्रुलाई सकस पार्ने गरेको छ । फोहोर व्यवस्थापन महानगर एक्लैले सरसफाई गर्न गर्न सम्भव छैन । यसमा साथ र सहयोग महानगरवासीको पनि चाहिन्छ । घरबाट निस्कने फोहोरको स्रोतमै बाँडफाँट गर्ने, कुहिनेजतिलाई सम्भव भएसम्म करेसाबारीमा प्रयोग गर्ने र बाँकीलाई मात्र नगरपालिकको गाडीको जिम्मा लगाइदिने गरेमा पनि आधा समस्या कम भएर जान्छ ।

तपाईको प्रतिक्रिया