हेलो मुख्यमन्त्री !

समाधान संवाददाता २०७५ माघ ७ गते १३:४७

सर्वसाधारणका सुझाव र गुनासा सुन्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पुस ३० गते ‘हेलो मुख्यमन्त्री’ कार्यक्रममा उपस्थित भए । १०९४ नम्बरको फोनमा साँझ ५ बजेदेखि ६ बजेसम्म आएका सुझाव र गुनासा उनले सुने र जवाफ दिए ।

जनताको आवाज सिधै मुख्यमन्त्रीको कानमा पर्ने व्यवस्था गर्नु र उनैबाट सम्बोधन गर्ने व्यवस्था हुनु आफैंमा स्वागतयोग्य मात्रै छैन, स्तुत्य छ ।

सर्वसाधारण नागरिकको सिधासिधी पहुँच प्रदेशको बागडोर सम्हाल्नेसम्म पुग्नसक्नुबाटै लोकतन्त्रको सौन्दर्य झल्किएको छ । राजनीति र कर्मचारीतन्त्रको जालो फाँडेर निर्णायक व्यक्तित्वसम्म सर्वसाधारणले पहुँच पु¥याउन कठिन हुन्थ्यो । हेलो मुख्यमन्त्री कार्यक्रमले त्यसलाई असाध्यै सजिलो बनाएको छ ।

Advertisement

यसबाट मुख्यमन्त्री स्वयंलाई पनि सेकेन्डरी वा टर्सरी इन्फरमेसनको भरमा मात्रै हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिदिएको छ । आफ्ना नागरिकसँगको संवादले पक्कै पनि मुख्यमन्त्रीलाई जनअपेक्षा र आवश्यकताको प्रत्यक्ष बोध गराउने छ । नीति निर्माण गर्न मद्दत गर्नेछ ।

गण्डकी प्रदेश सरकारले भदौ ४ गतेदेखि प्रदेशबासीको गुनासो र सुझाव लिन ‘हेलो मुख्यमन्त्री’ सुरु गरेयता पुस ३० मा पहिलोचोटि मुख्यमन्त्री गुरुङले प्रत्यक्ष संवाद गरेका हुन् । पहिलो दिन एउटा संवाद गरेर कार्यक्रम उद्घाटन पनि उनैले गरेका थिए । ३० गते उनलाई आएको एउटा गुनासो थियो—पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा सार्वजनिक शौचालयको अभाव । मुख्यमन्त्रीले पर्यटनलाई प्रदेश सरकारको पहिलो प्राथमिकतामा राखेको बताए ।

Advertisement

सार्वजनिक शौचालयको अभाव लेकसाइडको एउटा मुख्य समस्या हो । फेवाताल किनारसँगै बाराहीघाट र हल्लनचोकनिर शौचालय छन्, ती पर्यटकमैत्री छैनन् । पुग्दो सरसफाइ छैन । व्यवस्थापन अझै चुस्त हुन जरुरी छ । तालमा शौचालयको रसान जाने गरी त्यतिनजिक शौचालय हुनु पनि हुँदैनथ्यो । निजी क्षेत्रले रसान नजाने ग्यारेन्टी गरेर शौचालय बनाउँछु भन्दा पनि स्थानीयले बिनासित्ती विरोध गरेका छन् ।

प्रदेश सरकार आफैंले पनि स्मार्ट शौचालयका कार्यक्रम स्थानीय तहसँग मिलेर कार्यान्वयनमा जाँदैछ भने लेकसाइडलाई पनि प्राथमिकतामा राखेको राम्रो । पर्यटन उसको प्राथमिकता हुँदै हो । हाम्रा सार्वजनिक सेवा र स्थलहरुले हाम्रो सभ्यता देखाउँछन्, पर्यटकले हाम्रा सार्वजनिक सेवा र शौचालय गतिलो भेटेनन् भने त्यसको सन्देश गतिलो जाँदैन । त्यसैले यो विषय संवेदनशील छ । शौचालय नागरिकको स्वास्थ्यसँग पनि जोडिएको छ । कम्तीमा गण्डकी प्रदेशका जनतालाई घरघरमा चर्पी बनाऊ भनेर दबाबै दिनुपर्नेखाले निम्न चेतनशील छैनन् । सरकारले त सार्वजनिक शौचालयमा बढी ध्यान पु¥याए पुग्छ ।

पोखरामा भुस्याहा कुकुर बढेको गुनासो रामबजारकी एक महिलाले मुख्यमन्त्रीलाई टेलिफोनमा गरेकी थिइन् । पोखरा महानगरलाई त्यसबारे मुख्यमन्त्रीले घच्घच्याएमात्रै पुग्छ । होहल्लाले शान्तसँग बस्न, र सुत्न नपाइएको गुनासो पनि मुख्यमन्त्रीसँग पुग्यो । यसको उपचार पनि महानगरले खोज्ने हो । हेलो मेयर कार्यक्रम महानगरमा भएको भए मुख्यमन्त्रीकहाँ त्यो गुनासो जाँदैनथ्यो । मुख्यमन्त्रीले महानगरलाई सिटीकोड बनाउन भनेर होहल्ला नियन्त्रण, भुस्याहा कुकुर लगायत थुप्रै समस्याको उपाय सुझाउँछन् सक्छन् ।

मुख्यमन्त्रीलाई मात्र सुझाव—‘हेलो मुख्यमन्त्री’ कार्यक्रम देखावटी नबनोस् । नागरिकका गुनासा साँच्चिकै सम्बोधन होउन् । जवाफका लागि जवाफमात्रै जनताले नपाउन् । गुनासो सुनुवाइ भएको नतिजा पनि प्राप्त गरुन् । प्रभावकारी बनोस् । नमुना बनोस् ।

तपाईको प्रतिक्रिया