—सम्पादकीय—वडाध्यक्षको बाहुबली शैली

समाधान संवाददाता २०७६ असार १३ गते १३:१३


पोखरा महानगरपालिकाको विकास कार्यक्रम विवरण (रातो किताब) र बजेटमा कांग्रेसका वडाध्यक्षहरु असन्तुष्ट देखिएका छन् । असन्तुष्टि पोख्दै पोखरा ४ का वडाध्यक्ष शंकर बास्तोलाले नगर सभामा टेबुल उचालेर फालेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ । संविधान सभा र प्रतिनिधि सभामा सांसदहरुले माइक र कुर्ची भाँचेका दृश्य देखिन्थे । सडकमा रेलिङ भाँच्ने, संसदमा कुर्ची भाँच्ने राजनीतिकर्मीहरुको अलोकतान्त्रिक चरीत्रबाट नेपाली जनता आजित भए । फेरि त्यस्तो दृश्य पोखरा नगरमा देखियो । त्यो पनि आफूलाई सबैभन्दा लोकतान्त्रिक पार्टी मान्ने कांग्रेसकै जनप्रतिनिधिबाट । यो संसदीय र कांग्रेसको चरित्रको एउटा कालो धब्बा हो ।

लोकतन्त्रमा असन्तुष्टि पोख्न पाइन्छ । तर राज्यको सम्पति नष्ट गर्ने गरी कुर्ची टेबुल भाँच्ने गर्नु हुँदैन । असन्तुष्टि अभिव्यक्त गर्ने मञ्च नगर सभा हो । कसैको अभिव्यक्ति आजको दिनमा कहिँकतैबाट रोक्न सम्भव छैन् । मिडिया छन् । सामाजिक सञ्जाल छन्, जहाँबाट पनि आफ्नो आवाज सार्वजनिक गर्न सकिन्छ । तर त्यसो नगरी सिधै टेबुल फाल्ने हर्कत गर्नु जनप्रतिनिधिको लागि सुहाउँदो चरित्र होइन । तोडफोड गर्ने कुरा सही हुन्थ्यो भने लोकतन्त्रका लागि बलिदानी किन गर्नुपथ्र्याे ? टेबुल फाल्ने हर्कतको औचित्य पुष्टि गर्ने बर्कत देखाउँदै जाने हो भने फेरि बन्दुक बोक्नेहरुमाथि प्रश्न किन गर्ने ? बाहुबली शैली लोकतन्त्रमा स्वीकार्य हुन सक्दैन ।

पोखरा महानगरपालिकाले बजेट बनाउनुअघि नै योजना बैंक बनाउने भन्दै वडाध्यक्षहरुसँग योजना मागेकै थियो । तर थुप्रै वडाध्यक्षले योजना दिन सकेनन् । त्यसमा कांग्रेसै निकट वडाध्यक्ष थिए । बजेट आफ्नो वडामा देऊ र म कनिका बाँडे झैं बाँड्छु भन्न खोजेजस्तो गरी कांग्रेस वडाध्यक्षहरुले बजेट मागेका छन् । खुद्रे योजना र कनिका छराइबाट विकास हुँदैन भन्ने कांग्रेस पार्टीका जिम्मेवार नेताहरुसमेत रहेका जनप्रतिनिधि आफ्नै विचार र सिद्धान्तबाट किन तल ओर्लिएका हुन् बुझिनसक्नु छ ।

Advertisement

के उनीहरु पनि हिजो एमालेले सडकका रेलिङ भाँच्ने, सदनमा माइक भाँच्ने र माओवादीले पेस्तोलै भिरेर संसद जाने गरेको बाटो नै ठिक थियो भन्ने ठाउँमा आइपुगेका हुन् ? होइन भने उनीहरुले शान्तिपूर्ण ढंगले विचार राख्ने, सत्याग्रह गर्ने र अहिंसात्मक कार्यक्रम गर्ने आफ्नो आदर्श र मूल्य मान्यता पछ्याउन किन हिच्किचाइरहेका छन् ? के महानगरपालिकामा कांग्रेस जनप्रतिनिधि कम्युनिस्ट पार्टीको बहुमतसँग लाचार छ ? लोकतान्त्रिक विधिबाट नेतृत्वलाई जवाफदेही बनाउने सबै उपाय सकिएका हुन् ? जवाफदेही कांग्रेस जनप्रतिनिधि हुनुपर्छ यो प्रश्नमा ।

असन्तुष्टिलाई सम्बोधन गर्ने जिम्मेवारी महानगर नेतृत्वको पनि हो । कांग्रेसका मागहरु किन जायज छन् वा किन छैनन् भन्ने विचार मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङसहितका नेतृत्वले दिन जरुरी छ । दुवैका कुरा सुनेर त्यसको मूल्यांकन जनताले गर्छन् नै । निकास खोज्न पहल नेतृत्वले थाल्नुपर्छ । तर कांग्रेस जनप्रतिनिधिले देखाएका गैरसंसदीय र अलोकतान्त्रिक गतिविधिको भने लोकतन्त्र र विधिमा विश्वास गर्ने कसैले समर्थन गर्न सक्दैन । त्यसको निन्दा गर्नै पर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया