
जोमसोम ।
मुस्ताङमा संरक्षित दुर्लभ वन्यजन्तु कस्तूरी मृग मृत फेला परेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङ क्षेत्रको घरपझोङ गाउँपालिका ३ पुथाङ एअरपोर्टको कम्पान्ड बाहिर सोमबार बिहान पोथी कस्तूरी मृग फेला परेको हो ।
एअरपोर्ट नजिक कस्तूरी मृग मृत अवस्थामा स्थानीयले देखेपछि एक्याप जोमसोम कार्यालयलाई जानकारी दिएका थिए ।
त्यसपछि एक्यापको टोली घटनास्थल पुगी अध्ययन र मुचुल्का गरी मृत कस्तूरी एक्याप कार्यालय ल्याएको थियो । मुस्ताङमा पहिलो पटक कस्तूरी मृत भेटिएको एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए ।
जिल्ला पशु भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जोमसोमका कार्यालय प्रमुख एवं पशु चिकित्सक लालमणि अर्यालले कस्तूरीको पोस्टमार्टम गरेका छन् ।
पशु चिकित्सकको रिपोर्ट अनुसार यो कस्तूरी वन्यजन्तु वा छाडा कुकुरको आक्रमणबाट भएको देखिएको एक्याप कार्यालय प्रमुख रेग्मीले बताए । यता, पशु चिकित्सक अर्यालले कस्तुरीको विभिन्न भागमा चोटपटक लागेको र केही अंग वन्यजन्तु वा कुकुरले खाई सकेको जनाए ।
‘कस्तूरीको शीरदेखि तलसम्मको भागमा चाटपटक लागेको छ, केही अंग पनि छैनन्,’ उनले भने, ‘हिमचितुवा र बाघले मारेको होइन । अन्य वन्यजन्तु वा कुकुरको आक्रमणबाट मरेको अनुमान गरेका छौं ।’
मृगको वजन अन्दाजी ६ किलो छ । एक्यापले प्रहरी, भेटेरिनरी कार्यालय र पत्रकारको रोहबरमा खाल्डो खनी त्यसलाई गाडेको छ । समुन्द्री सतहको २ हजार ५ सय मिटरदेखि ५ हजार मिटरसम्म कस्तूरीको मुख्य वासस्थान हो । यो भोजपत्र, ठिंगुरे सल्ला र मिश्रित वन क्षेत्रमा पाइन्छ ।
कस्तूरीको औसत आयु १२ देखि २० वर्ष हुन्छ । यसका मुख्य आहार पात, घाँस, झ्याउ, जरा र वोटविरुवाका पालुवा हुन् । भाले कस्तूरीको विणा अर्थात नाभी बहुमूल्य मानिन्छ । संरक्षिण क्षेत्रमा बिनाका लागि यसको अवैध चोरीशिकार हुने गर्छ ।
केही वर्षअघि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र १ लुप्रा लेंकमा वन्यजन्तुको शिकार गर्नेले ५ वटा कस्तूरी र १ फ्याउरो पासो थापेर मारेका थिए ।
पछिल्लो समय मुस्ताङमा जलवायु परिवर्तनका कारण उच्च लेकमा चरनक्षेत्रको अभाव हुँदा संरक्षित वन्यजन्तु बस्ती तल झर्ने गरेका छन् । मृत अवस्थामा फेला परेको कस्तूरी आहारा खोजी गर्दै बस्ती नजिक आएको लख काटिएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया