बहुप्रतिष्ठित ५१ औं थाकखेलकुद मुस्ताङको मार्फामा आयोजना हुँने

असोज ५ गतेदखि ८ गतेसम्म संञ्चालन हुने

सुन्दरकुमार थकाली २०८१ भदौ १५ गते २१:२८

जोमसोम—मुस्ताङको बहुप्रतिष्ठित ५१ औं संस्करणको थाकखेलकुद तथा च्याम्पियनसीप प्रतियोगिता आगामी असोज ५ गतेदखि ८ गतेसम्म संञ्चालन हुने भएको छ । थाकखेलकुद तथा सांस्कृतिक विकास संघ मुस्ताङको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
हिमाली जिल्ला मुस्ताङको आधा शताब्दी पुरानो ईतिहाँस बोकेको थाकखेलकुद तथा च्याम्पियनसीप प्रतियोगिता सबै भन्दा ठुलो प्रतिष्ठित खेलकुद प्रतियोगिता हो । संघका अध्यक्ष कृष्णकुमार शेरचनको अध्यक्षतामा थाकखेलकुद प्रतियोगिताको पूर्वतयारी गर्नका मुस्ताङको मार्फा स्थित मिलिजुली युवाक्लवको कार्यालयमा बसेको बैठकले ५१ औ संस्करणको थाकखेलकुद तथा च्याम्पिनसीप प्रतियोगिता मार्फामा गर्ने निर्णय गरेको हो । कोभिड माहामारीका कारण लगातार अवरुद्ध रहेको ५० औं संस्करणको थाकखेलकुद प्रतियोगिता २०७९ मा मुस्ताङको थासाङ—५ ताक्लुङमा सम्पन्न भएको थियो । त्यससमय संघले आफ्नौ ५० औ वर्ष पुरा गरेको उपलक्षमा स्वर्ण जयन्ती भव्यताका साथ मनाएको थियो ।
थाक खेलकुद तथा सांस्कृतिक विकास संघको नेतृत्व परिवर्तन भएपछि विविध कारणले २०८० सालमा थाकखेलकुद तथा च्याम्पियनसीप हुन सकेको थिएन । यसपटक भने संघले विभिन्न अवरोध र चुनौतीलाई पन्छ्याएर गौरवमशाली थाक खेलकुद प्रतियोगितालाई निरन्तरता दिने प्रयास गरेको हो । ५१ औं संस्करणको थाक खेलकुद तथा च्याम्पियनसीप प्रतियोगिता २०८१ का लागि साविकका खेलकुद तथा सांस्कृतिक ईभेन्टलाई परिमार्जनसहित प्रतियोगिता संञ्चालन गर्ने तयारी गरेको संघका सचिव बिष्णु थकालीले जानकारी दिए । ५१ औं संस्करणको थाक खेलकुद तथा च्याम्पियनसीपमा ४० वर्ष उमेर कटेका खेलाडीलाई सहभागी गराउने गरी परम्परागत सादा धनुष तारा खेल प्रतियोगिता समावेश गरिएको संघका सचिव थकालीले उल्लेख गरे । यसपटक ५० औं संस्करण अघि समावेश भएको मिस मुस्ताङ प्रतियोगिता र गायन स्वर प्रतियोगिता थाक च्याम्पियनसीपबाट हटाईएको संघका सचिव थकालीको भनाई छ ।
संघले यसवर्षदेखि थाक खेलकुद तथा च्याम्पियनसीप प्रतियोगिता अन्र्तगत पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशी वृद्धि गरेको छ । पुरुष भलिबलको च्याम्पियनले नगद १ लाख ५० हजारसहित शिल्ड मेडल ,ट्रफी र प्रमाणपत्र पाउने छ । उपविजेताले नगद १ लाख पुरस्कारसहित शील्ड,मेडल,ट्रफी र प्रमाणपत्र प्रदान गरिने जनाईएको छ । प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी,सर्वोउत्कृट लिफ्टर र सर्वोउत्कृष्ट लिब्रोलाई जनही नगद ३ हजारका दरले मेडल र प्रमाणपत्र प्रदान गरिने जनाईएको छ ।
महिला भलिबललाइ जो कोही पनि टिम बनाएर खेल्न पाउने गरी खुल्ला महिला भलिबल प्रतियोगिता आयोजना गर्ने तयारी संघले गरेको हो । खुल्ला महिला भलिबलको च्याम्पियनले नगद १ लाख र उपविजेताले नगद ७५ हजार पुरस्कारसहित शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।
४० वर्ष कटेका तारा प्रतियोगिताको च्याम्पियनले नगद ५० हजार र उपविजेता टिमले नगद ३५ हजार पुरस्कारसहित शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र प्रदान गर्ने तयारी गरिएको हो । यस्तै, खुल्ला आधुनिक आर्चरी प्रतियोगितातर्फको च्याम्पियनले नगद ५० हजार र उपविजेता टिमले नगद ३५ हजारसहित शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र पाउनेछन् । थाक च्याम्पियनसीप अन्र्तगत आयोजना हुने नृत्य प्रतियोगिताको प्रथमले नगद ३५ हजार र दोश्रो हुनेले नगद २५ हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र पाउने छ ।

Advertisement

थाकखेलकुद तथा सांस्कृतिक विकास संघको मुख्य आयोजना तथा मिलिजुली युवाक्लव मार्फाको सहआयोजनामा हुने ५१ औं थाक खेलकुद तथा च्याम्पियनसीप प्रतियोगिता २०८१ मा जोमसोम र स्याङबाहेक कुल ६ टिमको सहभागिता रहने बताईएको् छ । जोमसोम र स्याङले थाक खेलकुद तथा च्याम्पियनसीपमा सहभागी नहुँने भएपछि यसपटक यो प्रतियोगिताबाट २ टिम घट्न पुगेको हो । जिल्लाको आन्तरिक खेलकुदको विकास तथा संरक्षण एवं स्थानीय धर्मसंस्कृतिको संरक्षणका लागि संघले च्याम्पियनसीप अन्र्तगत विभिन्न कार्यक्रम गर्ने गरेको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया