पोखराका वडा कार्यालयमा श्रृंखलाबद्ध चोरी गर्ने थापा पक्राउ

समाधान संवाददाता २०७६ साउन २९ गते ११:५५

विकास रोकामगर
पोखरा

पोखरा महानगरका विभिन्न वडामा श्रृंखलाबद्ध चोरी गर्ने एक जना पक्राउ परेका छन् । विभिन्न समयमा पोखरा महानगरका ११ वटा वडामा चोरेको आरोपमा वडा प्रहरी बैदामले काठमाडौं ११ का ५१ वर्षीय किशोर थापालाई नियन्त्रणमा लिई बुधबार सार्वजनिक गरेको हो ।

थापाले गत ०७५ जेठ ३ गते पोखरा १२ को वडा कार्यालय फोडेर चोरीको सुरुआत गरेका थिए । १ वर्षको अवधिमा उनले पोखरा महानगरका १३, ५, ३१, ६, १४ २९, १६ लगायत ११ वटा वडामा श्रृंखलाबद्ध चोरी गरेका थिए । प्रहरीले थापालाई सार्वजनिक गर्दै उनले कार्यालयका विद्युतीय उपकरण चोरी गर्ने र त्यसलाई बिक्रीवितरण गर्ने गरेको जनाएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी दानबहादुर कार्कीले थापालाई आइतबार दिउँसो सहिद चोकबाट नियन्त्रणमा लिइएको जानकारी दिए । ‘हामीसँग भएको प्रमाण र सिसिटिभी फुटेज हेर्दा घटनामा संलग्न एउटै व्यक्ति हो भन्ने एकिन गर्‍यौं,’ उनले भने, ‘लामो समयसम्म चोरलाई पक्रन नसक्दा लाज लाग्ने स्थिति आइसकेको थियो । तर, अन्ततः हामी सफल भयौं ।’

प्रहरीले अनुसन्धानका क्रममा थापाले पोखराका वडामा चोरी गरेको भए पनि सामान काठमाडौंमा बेच्न लैजाने गरेको खुलेको जनाएको छ । उनीबाट प्रहरीले १७ वटा मनिटर, सिसियू ९ वटा र ३ वटा ल्यापटप बरामद गरेको छ । ‘राति साढे ११ बजेदेखि साढे १२ बजेको बीचमा चोरले वडा चोर्ने गरेको खुलेको छ,’ एसपी कार्कीले भने, ‘सुरक्षा कमजोर हुने हुनाले सजिलै चोर्ने र चोरीका सामान नजिकैका निर्माणाधीन भवनमा लुकाउने अनि उपयुक्त, समय हेरेर काठमाडौं लैजाने गरेको पाइयो ।’

Advertisement

थापा हाल पोखरा पोखरा १० मा डेरा गरी बस्दै आएको प्रहरीले जनाएको छ । उनको घरमा छापा मार्दा चोरीका सामान नभेटिएपनि चोरीमा प्रयोग हुने सामान भेटिएको कार्कीले जानकारी दिए ।

‘उनको डेराबाट चोरीमा प्रयोग हुने मास्क, क्यामेरा, स्क्रू ड्राइभर, पञ्जा, ट्रयाक, टोपी र लागु औषधसमेत फेला पार्‍यौं,’ उनले भने, ‘चोरीका सामान भने काठमाडौं पु¥याइसकेकाले डेरामा थिएन ।’ थापामाथि अहिले चोरी डाँका मुद्दा भई बैदाम प्रहरीको हिरासतमा रहेको प्रहरीले जानकारी दिएको छ ।

सामान किन्ने पसले पनि पक्राउ
चोरी गरेको सामान खरिद बिक्री गरेको आरोपमा काठमाडौं १४ मा कम्युटर पसल गर्ने ३६ वर्षीय रुपचन्द्र गोपालीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । एसपी कार्कीका अनुसार गोपालीको पसलबाट चोरी भएका सामानमात्रै बिक्री वितरण हुँदै आएको अनुसन्धानबाट खुलेको छ ।

थापाले पोखराका विभिन्न वडाबाट चोरी गर्ने र कलंकीमा रहेको उक्त पसलमा सामान पुर्‍याउँदै आएका थिए । एसपी कार्कीले काठमाडौं पुलिसको सहयोगमा गोपालीलाई नियन्त्रणमा लिइएको बताए । ‘उनको पसलबाट वडाबाट चोरी भएका धेरै सामान फेला परे,’ उनले भने ।

चोरी डाँका मुद्दामै पटकपटक जेल !
प्रहरीका अनुसार चोरी डाका आरोपमा पक्राउ परेका थापा यसअघि पनि पटक पटक सोही मुद्दामा जेल सजाय भोगिसकेका छन् । अनुसन्धानका क्रममा उनी यसअघि २०४६ देखि २०५१ पहिलो पटक डाँका चोरी कसुरमै केन्द्रीय कारागारमा जेल जीवन बिताइसकेका छन् ।

दोस्रो पटक २०७१ देखि २०७४ सम्म पनि चोरी डाँका मुद्दामा केन्द्रीय कारागारमै जेल जीवन थापाले बिताइसकेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनले बयानका क्रममा ग्रामीण भेगमा यातायातको सुविधा नहुने भएकाले सहरी क्षेत्रका वडामा चोरी गर्ने गरेको बताएका छन् । ‘पोखराका वडा कार्यालयमात्रै चोरी भएको हो कि अरु ठाउँका वडामा पनि चोरी भएका हुन् । अनुसन्धानकै प्रक्रियामा छौं,’ एसपी कार्कीले भने ।

तपाईको प्रतिक्रिया