सम्पादक लामिछाने प्रेस काउन्सिल सदस्य नियुक्त

पोखरा ।
समाधान दैनिकका सम्पादक केशवशरण लामिछाने प्रेस काउन्सिल नेपालको सदस्य नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको कात्तिक ९ गतेको मन्त्रीस्तरीय निर्णयबाट लामिछाने सदस्य नियुक्त भएका हुन् ।
काउन्सिलका ९ सदस्यमध्ये रिक्त २ सदस्यमा लामिछानेसँगै लमजुङ घर भई काठमाडौंमा पत्रकारिता गरिरहेका विजयराज अधिकारी पनि नियुक्त भएका छन् । प्रेस काउन्सिल ऐन, २०४८ को दफा ६ बमोजिम काउन्सिलमा १ जना अध्यक्ष र ९ जना सदस्य हुन्छन् । नेपाल सरकारले बढीमा ४ वर्षका लागि नियुक्त गर्नसक्ने अध्यक्ष र सदस्यको नियुक्ति गर्ने व्यववस्था छ । नेपाल पत्रकार महासंघको अध्यक्ष पदेन–सदस्य, सूचना विभागका महानिर्देशक सदस्य–सचिव रहने गरी काउन्सिलको गठन हुन्छ ।
प्रेस काउन्सिल पत्रकार आचारसंहिताको पालनाबाट मर्यादित, जिम्मेवार पत्रकारिताको विकास गर्ने, प्रेस स्वतन्त्रताको संरक्षण सम्वर्द्धन गर्दै पत्रकार आचारसंहिता पालना गर्न उत्प्रेरित गर्नुका साथै नेपाल सरकार र सञ्चार माध्यमकाबिच पुलको रूपमा काम गर्ने जिम्मेवारी भएको संस्था हो ।
२०५७ सालमा पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गरेका लामिछाने समाधान दैनिकमा २०७२ देखि समाचार सम्पादकको भूमिकामा थिए । उनीसँग अन्नपूर्ण पोस्ट दैनिकको गण्डकी ब्युरो प्रमुख, नागरिक दैनिकको गण्डकी ब्युरो प्रमुख र समय साप्ताहिकको पोखरा प्रतिनिधि, नेपाल समाचारपत्र दैनिकको पोखरा संवाददाता, बिबिसी मिडिया एक्सनमा संवाददाता र पोखरा एफएमको समाचार संयोजक भएर पत्रकारिता गरेको अनुभव छ । लामिछाने गण्डकी विश्वविद्यालयमा मिडिया र लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पत्रकारिता पढाउँछन् ।
प्रेस काउन्सिलको स्थापना २०२७ असोज ६ गते भएको हो । काउन्सिलले पत्रकार आचारसंहिता उल्लंघनका विषयमा उजुरी सुन्ने, सोउपर अध्ययन अनुसनधान गरी आवश्यक कारबाही गर्ने, आचारसंहितासम्बन्धी जागरण अभियान सञ्चालन गर्ने, आमसञ्चार माध्यममा आचारसंहिताको अनुगमन गर्ने, पत्रकारिताको विकासका लागि सरकारलाई सुझाव दिने काम गर्छ ।
तपाईको प्रतिक्रिया