४ नम्बर वडा सदस्य परियारकाे घरमा महानगरको डोजर

समाधान संवाददाता २०७५ पुष २४ गते १३:४१


विकास रोकामगर
पोखरा
पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षलाई सार्वजनिक जग्गा संरक्षण वर्षका रुपमा मनाइरहेको छ । यसअवधिमा विभिन्न ठाउँको मापदण्ड मिचेर त्यही अनुसार काम गरिरहेको छ । वडास्तरबाट सुरु भएको यस कामलाई महानगर स्वयंले समन्वय गरिरहेको हो ।

Advertisement

सार्वजनिक जग्गा फिर्ता अभियानकै क्रममा सोमबार पोखराका विभिन्न ठाउँमा मापदण्ड मिचेर बनेका संरचना भत्काएको छ । पोखरा ४ मा जनप्रतिनिधिले नै बनाएको संरचना भत्काएको छ । वडासदस्य विष्णुमाया परियारले बनाउँदै गरेको पिल्लरसहितको पक्की घर महानगरले भत्काएको हो ।

पटकपटक सूचना पठाउँदा पनि अटेरी गरेकाले भत्काउनु परेको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए । ‘सुरुबाटै हामीले नबनाउन आग्रह गर्दै आएका थियौं तर मान्नुभएन । हिजो (आइतबार) ढलान नै गर्नुभयो,’ उनले भने, ‘पटकपटक आग्रह गर्दा पनि अटेरी गरेपछि मेयरसाबले भत्काउने आदेश दिनुभएको हो ।’

नेपालीले पहिले पनि पटकपटक परियारको सामान जफत गर्दै लगेको जानकारी दिए । उनले भने, ‘पहिले जग बसाल्दा नै बेल्चा, घन, गैंचीलगायत सामान उठाएर लगेका थियौं । उहाँले अटेर गरिरहनुभयो ।’ परियार नेपाल स्काउट कास्की शाखासँगैको जग्गामा मापदण्ड विपरित संरचना जेठ ४ बाट बनाउन सुरु गरेका थिए ।

वडा सदस्य विष्णुमाया परियारले भने आफूले वडाध्यक्ष र मेयरसँग मौखिक सहमति गरेरमात्रै घर बनाएको दाबी गरिन् । उनले भनिन्, ‘मेयर साबसँग दशौंचोटी बैठक गरेर मात्रै घर बनाएको हुँ । अहिले आएर त्यसै भत्काउन पाइन्छ ?’ उनकोे पुरानो घरमा फिर्के खोलाको बाढी आएर पस्ने भएकाले माथि घर सारेको दाबी छ ।

Advertisement

‘गरिब र सुकुम्बासी खोलाको पानी कोठामा पसेर मर्दा आवाज उठाउन सक्दैन । अहिले घर बनाएको भन्दै डोजर लगाउन पाउँछ ?’ परियारले प्रश्न गरिन्, ‘फिर्के मापदण्ड मिचेर सयौंले घर बनाएकाछन् । के गरिबको कहिले दिन नआउने हो ?’ उनले सो जग्गा २०४८ सालदेखि नै भोगचलन गर्दै आएको दाबी गरिन् ।

परियारले उक्त ९-१० लाख खर्चेर बनाएको बताइन् । घर बनाउन नमूना महिला समूहबाट १५ लाख ऋण लिएको समूहकी सदस्य देवका कोइरालाले जानकारी दिइन् । जनप्रतिनिधिले नै मापदण्ड मिचेर संरचना बनाइरहेको विभिन्न संचार माध्यममा समाचार प्रकाशन भएपछि महानगरले अनाधिकृत रुपमा नबनाउन आग्रह गर्दै आएको थियो ।

पोखरा महानगरले सोमबार नै पोखरा ५ का मापदण्ड मिचेर बनाएका अन्य संरचना समेत भत्काएको प्रवक्ता नेपालीले जानकारी दिए । उनले भने, ‘सबैलाई पहिल्यै पत्राचार गरेका हौं । सबैले अटेरी गरेपछि महानगर आफैं अग्रसर हुनुपरेको हो ।’ अब बिस्तारै मापदण्ड मिचेका सबै संरचना भत्काइने उनले जानकारी दिए ।

महानगरले पोखरा ५, सीमानामार्गमा रहेको भरत लिगलको ४ कोठे संरचनासमेत भत्काएको छ । ‘उक्त संरचना व्यक्तिले दाबी गर्दै आउनुभएको थियो । तर हाल कानुनी रुपमै सरकारी भएको प्रमाणित भएपछि पनि नमानेपछि भत्काउनु परेको हो,’ प्रवक्ता नेपालीले भने । उनले पोखरा ५ बुलौंदी कि जमूना क्षेत्रीको ३ कोठे भवन पनि भत्काएको जानकारी दिए ।

महानगरले अतिक्रमित जग्गा भत्काउन थालेपछि केही महानगरबासीले ५ दिनभित्रमा आफैं भत्काउने प्रतिबद्धता गरेका छन् । प्रतिबद्धता गर्नेमा युवराज खतिवडाले प्रयोग गरेको रामचन्द्र भण्डारीको घर, बासुदेव आचार्यको ३ कोठे भवन, शान्त बतास १ कोठाको भवन छ । उनीहरुले सोमबार नै महानगरसँग ५ दिनभित्र घर भत्काउने लिखित सहमति गरेका छन् ।

तपाईको प्रतिक्रिया