विद्युतीय गाडीमा आकर्षण

राष्ट्रिय समाचार समिति (रासस) २०८१ वैशाख १४ गते १५:५१

गण्डकी ।
प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ । यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि विद्युतीय सवारीसाधन भित्र्याउन थालेका छन् । प्रदुषणमुक्त र सञ्चालन खर्च कम आउने हुँदा विद्युतीय सवारीसाधनप्रति आकर्षण बढेको हो ।


१ महिनाअघि पोखरा बागलुङ विद्युतीय भ्यान सञ्चालन ल्याएको धवलागिरि गण्डकी यातायात सेवा प्रालिले आउँदो सातादेखि सेवा विस्तार गर्ने योजनामा छ । ‘एउटा भ्यान थपेर सेवा बढाउँदैछौँ, पोखरा–बागलुङ दिनमा ६ पटक भ्यान छुट्छ’, प्रालिका अध्यक्ष उमेश केसीले भने, ‘सुविधायुक्त र वातावरणमैत्री भएकाले यात्रु पनि आकर्षित छन् ।’


१४ सिट भएको उक्त भ्यानमा सिसिटिभी, वाइफाइ र मोबाइल भुक्तानीको समेत व्यवस्था छ । भ्यानमा पोखरा–बागलुङको भाडादर प्रतियात्रु ४ सय ५० तोकिएको छ । प्रालिले निकट भविष्यमा बागलुङबाट नारायणगढ र काठमाडौँमा उक्त सेवा बिस्तार गर्ने योजना बनाएको छ ।

Advertisement


बिजुलीको नियमित उपलब्धता, चार्जिङ स्टेसन, पाटपुर्जा आदिका दृष्टिबाट भने विद्युतीय सवारीसाधन सञ्चालनमा केही अन्योल देखिएको उनी बताउँछन् । ‘सरकारले विद्युतीय सवारी साधनको आयातदेखि चार्जिङ स्टेसन बिस्तार, बाह्रैमास विद्युत् सेवाको सुनिश्चितता जस्ता विषयमा ध्यान दिनुपर्छ’, अध्यक्ष केसीले भने ।


यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख डिल्लीराम रिजालले कार्यालयमा ५० भन्दा बढी विद्युतीय भ्यान दर्ता भएको जानकारी दिए । पोखरामा आठ विद्युतीय ट्याक्सी र स्कुटर १ सयभन्दा बढी दर्ता भई सञ्चालन भइरहेको उनको भनाइ छ । ‘निजी विद्युतीय कारको संख्या पनि उल्लेख्य मात्रामा बढ्दो छ’, प्रमुख रिजालले भने, ‘पोखरामा विद्युतीय सवारीसाधन भित्रिने क्रम बढ्दो छ ।’

Advertisement


उनले डिजेल–पेट्रोलबाट चल्ने सवारी साधनको तुलनामा विद्युतीय सवारीको सञ्चालन खर्च कम आउने उल्लेख गरे । ‘प्रदुषणमुक्त हुने र सेवा, सुविधाका कारणले पनि विद्युतीय सवारीसाधनप्रति व्यवसायी र यात्रुको आकर्षण बढेको देखिन्छ’, प्रमुख रिजालले भने, ‘सुरुमा यसप्रति खासै रुचि देखिएको देखिएन, अहिले विद्युतीय सवारीसाधनको किनबेच र दर्ता ह्वात्तै बढेको छ ।’


प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका प्रशासन तथा यातायात व्यवस्थापन महाशाखा प्रमुख टीकाराम पौडेलले मझौला र साना विद्युतीय सवारीसधान प्रयोगमा आइरहेको जनाए । ‘गण्डकी प्रदेशमा ठूला विद्युतीय बस सञ्चालनमा आइसकेका छैनन्, कार, भ्यान र स्कुटरको संख्या बढ्दो छ’, उनी भन्छन्, ‘कास्की, बागलुङ, तनहुँ र नवलपुरमा रहेका यातायात कार्यालयमा विद्युतीय सवारीसाधन दर्ता गर्न सकिन्छ ।’


पोखरामा ११, १४ र १५ सिट क्षमताका भ्यान सञ्चालनमा छन् । चार्जिङ स्टेनसन भएका ठाउँमा मात्र सवारीसाधनको दर्ता र सञ्चालनमा अनुमति दिने गरिएको महाशाखा प्रमुख पौडेलले सुनाए । विद्युतीय सवारीसाधनका लागि नेपाल विद्युत् प्राधिकरणले पोखरामा २ चार्जिङ स्टेसन बनाएको छ । बागलुङमा न्यून क्षमताको चार्जिङ स्टेसन राखिएको छ । मुख्य राजमार्ग र सहरी क्षेत्रमा थप चार्जिङ स्टेशन राख्न पहल भइरहेको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया