पाेखरा महानगरका छाडा गाईवस्तु अब बाच्छीबुडुवामा

समाधान संवाददाता २०७५ माघ ३ गते १२:०४

समाधान संवाददाता

जर्मन बेकरीका कुकमेन सुवास लामिछाने काममा न्युरोडतर्फ जाँदै थिए, अमरसिंह वरै मोटरसाइकल दुर्घटनामा परे । ५ बजे बिहानै ड्युटीमा खटिन घरबाट निस्केका पोखरा २७ अर्घौ निवासी लामिछानेलाई बीच सडकमै छाडा चौपाया (गाई)ले धक्का दियो । सिमित गतिमै मोटरसाइकल कुदाइरहेका लामिछानेले चौपायालाई छल्न सकेनन् र सडकमै मोटरसाइकलसहित बजारिए । लामिछाने शरीरमा लागेको घाउको उपचार गर्न अमरसिंह चोकैको हस्पिटल पुगे । जब एक्सरे रिपोर्ट हात प¥यो । रिपोर्टमा देखियो हातको हड्डी भाँच्चिएको रहेछ । त्यसपश्चात्त हात निको नहुन्जेल १ महिनासम्म कामबाट छुट्टी लिएर घरमै आराम गरे ।

उपचार लागेपछि चुपचाप काममै फर्किए । छाडा चौपायाकै कारण दुर्घटना भोगेका लामिछानेले न कहीं उजुरी दिन सके । न ट्राफिक नियम नै आर्कषित भयो । भयो त केबल उनकै समयको बर्बादी । छाडा चौपायाकै कारण दुर्घटनाबाट शारीरिक र आर्थिक क्षति बेहोर्नु परेकोमा ६ महिना बितिसक्दा पनि दुख पोख्न भ्याउँछन् उनी ।

लामिछाने प्रतिनिधि घटनाका पात्र मात्रै हुन् । छाडा चौपायाकै कारण ट्राफिक प्रहरी, ठूला÷साना सवारी साधन, यात्रु र पूरा महानगरवासी नै आजित छन् । पोखरा महानगरपालिकामा जनप्रतिनिधि चुनिएर आइसकेपछिको प्रमुख मुद्दा बनेको सडकका छाडा चौपाया व्यवस्थापनले डेढ वर्षपछि मात्रै गति लिएको छ । पोखरा १५ छिनेडाँडास्थित बाच्छिबुडुवामा पोखरा महानगरले १ सय रोपनी जग्गामा छाडा चौपाया व्यवस्थापन गर्न थालेको हो । चौपाया व्यवस्थापन सम्बन्धी पहिलो चरणको अभ्यासमा सार्वजनिक संघसंस्थालाई आह्वान गरिए पनि असफल बनेको महानगर स्वयं अग्रसर भएर काम थालेको हो । बाच्छीबुडुवामा चौपाया व्यवस्थित गर्न महानगरकै स्वामित्वमा रहेका पुराना टिन प्रयोग गरी टहरा निर्माण गर्ने काम धमाधम चलिरहेको छ ।

Advertisement

‘टिनको टहरो हाल्ने काम तीब्र गतिमा भइरहेको छ,’ महानगरका सूचना अधिकृत गंगालाल सुवेदीले भने, ‘१ सय रोपनी जग्गामा चारैतिर तारबारसहित पराल, पानीको व्यवस्था महानगरले गर्ने छ ।’ निर्मित टहरोमा हाल ६० गाई, बाच्छा, बाच्छी राखिएको भए पनि २ सय जति चौपाया राख्न सकिने सुवेदीले जानकारी दिए । खुला ठाउँ भएकोले पनि चरनयोग्य जमीन समेटिएकोले उपयुक्त ठाउँ भएको महानगरको निश्कर्ष छ ।

छाडा चौपाया व्यवस्थापनका लागि महानगरले १५, १७, २५ र ३१ मा सम्भावित क्षेत्रमा अध्ययन गरिसकेको भए पनि उपयुक्त स्थान नपाउँदा बाच्छीबुडुवामा ५ लाख खर्चेर तारबार गर्ने काम थालेको हो । पोखरा २५ हेमजामा भने महादेव गुठीले आफ्नै जग्गामा गाई पाल्न आशय प्रकट गरेको महानगरले जनाएको छ । सुरुमा महानगरले संरचना निर्माणमा केही आर्थिक सहयोग गर्ने गरी गुठीलाई व्यवस्थापनको जिम्मेवारी दिन सकिने महानगरको तयारी छ । टुंगो लागिनसकेको भएपनि हेमजा राम्रो क्षेत्र हुन सक्ने राय सहित महानगरले छलफललाई निरन्तरता दिइरहेको छ ।

Advertisement

बाच्छीबुडुवामा हाल ल्यान्ड फिल्ड साइडमै कार्यरत कर्मचारीहरुले चौपायाको निरीक्षण गर्दै आइरहेको छन् । आलोपालो समय मिलाएर ल्यान्ड फिल्डका कर्मचारीले चौपायालाई पराल, पानी दिँदै आएका छन् । आगामी दिनमा आवश्यक कर्मचारी थपेर गरी व्यवस्थापन चुस्त बनाइने अधिकृत सुवेदीको भनाइ छ ।

महानगरले व्यवस्थापन गरी राखेका चौपायालाई व्यक्ति, सार्वजनिक संघसंस्था वा सहकारीले पाल्न चाहेमा महानगरले सम्झौता गराई उपलब्ध गराउने आन्तरिक तयारीमा जुटेको सुवेदीले जानकारी दिए । ‘पुन सडकमा छाड्न नपाइने सर्तमा पाल्न दिन सकिने धारणा छलफलमा छ, यदि बीचमा अप्ठ्यारो प¥यो भने जहाँबाट लगेको हो त्यहिँ फर्काउन सकिन्छ,’ उनले भने । चौपायालाई ट्यागिङ प्रणाली अन्तर्गत लगत राखिरहेकोले सडकमा पुनः चौपाया छाड्ने समस्याको दीगो समाधान हुने विश्वास महानगरको छ ।

पोखराका सडकमा हाल २ हजारभन्दा बढी छाडा चौपाया भएको महानगरको अनुमानित तथ्यांक छ । चौपाया नियन्त्रणका लागि कान्जी हाउस निर्माण गर्न महानगरले चालु आर्थिक वर्ष २०७५÷०७६ मा १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । तत्कालका लागि पृथ्वीचोक कृषि उपज बजारसँगैको दमकल हाउस भित्र मिनी कान्जी हाउसको व्यवस्था गरिए पनि यो पर्याप्त छैन । कास्कीकै ग्रामीण भेग र छिमेकी जिल्लामा दूध दुहिञ्जेल पालिएका गाई थारो भएपछि बजारतिर लखेटिँदा पोखरा महानगरमा छाडा चौपाया समस्या देखिँदै आएको हो ।

तपाईको प्रतिक्रिया