मोबाइल थिचेरै खोलो फर्काउछन् शुक्लाको कमलडाँडामा

समाधान संवाददाता २०७५ माघ २१ गते ८:३५

राजन उपाध्याय–दुलेगौंडा

एउटा पुरानो उखान छ—बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड । मोबाइलका हकमा यही उखान चरितार्थ हुन्छ । बुझ्नेहरुले त्यही मोबाइलबाट जिन्दगीलाई सजिलो बनाइरहेका छन्, नबुझ्नेहरु उही हेलो भनेर खबर सोध्नेमात्रै गरिरहेका छन्, फेसबुक चलाएर समय कटाएका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका ६ कमलडाडाँमा आउनोस् त यहाँका बासिन्दाले मोबाइलबाटै हेलोमात्रै भन्दैनन् । बरु मोबाइल दबाएरै खोलो गाउँमा उकाल्छन् । धारामा पानी खसाल्छन् । नम्बर दबाउँछन्, खोलाको पानी ट्यांकीमा चढ्छ, भरियो भन्ने भयो भने मोबाइलबाटै बन्द गरिदिन्छन् । हो, गाउँभन्दा १ सय ६० मिटर तलको घुमौरी स्याङदे खोलाको पानी अचेल कमलडाँडाका प्रत्येक घरमा आइपुग्छ, मात्रै मोबाइलको निर्देशनमा । २ सय ५० मिटर पाइपमा पानी गाउँ उकालिएको छ । ठाडो भीरमुनिको खोलामा घुमाउरो बाटो हुँदै हिँडेर जाँदा २५ मिनेट त्यसै जान्छ ।

Advertisement

घुमौरी स्याङ्दे खोलामा थ्रिफेजको विद्युत लाइन जोडेर लिफ्ट मेसिन राखिएको छ । मोबाइलको निर्देशनबाटै मेसिन अनअफ गर्न सिम बक्स राखिएको छ । मोबाइल नम्बर हानेर प्राप्त निर्देशन अनुसार डायल गरेपछि २२ सेकेन्डमा ट्यांकीमा पानी चढ्छ । बन्द गर्न पनि समय लाग्दैन । त्यो मोबाइल निश्चित एक व्यक्तिसँग मात्रै छ । उनलाई खानेपानी उपभोक्ता समितिले महिनैपिच्छे २ सय रुपैयाँ दिन्छ ।

दरकाम कालिका खानेपानी उपभोक्ता समितिका सचिव धनबहादुर लामिछाने भन्छन्, ‘बिहान २ घन्टा, साँझ २ घन्टा पानी तान्छौं । मोबाइलको टावर भएको जुनसुकै स्थानबाट डायल गरेर पानी तान्न र बन्द गर्न सकिन्छ ।’ आयोजना ३७ लाख ७७ हजार रुपैयाँको लागतमा निर्माण गरिएको समितिले जनाएको छ । तत्कालीन संसद विकास कोषबाट १० लाख, नेपाल विद्युत प्राधिकरणबाट १२ लाख, शुक्लागण्डकी नगरपालिकबाट १० लाख, वडा सदस्य बुद्धिबहादुर थापाबाट २२ हजार रुपैयाँको सहयोगमा खानेपानी आयोजना निर्माण गरिएको हो । यसमा करिब ६ लाख रुपैयाँ जनश्रमदान रहेको खानेपानीका सचिव लामेछानेले बताए ।

Advertisement

कमलडाँडामा ३० हजार लिटरको ट्यांकी छ । समिति अन्तर्गत १ सय ७५ घरधुरी छन् । वडाको दरगाम, कमलडाँडा, नौबिसे, लम्सालडाँडा, भुसालडाँडा, शान्तिकुनाका स्थानीयले घरघरमा पानीको सुविधा पाएका हुन् ।

केही समयअघिसम्म कमलडाँडामा खानेपानीको निकै समस्या थियो । १ गाग्री पानीका लागि पँधेरा जानुपर्ने बाध्यता थियो । खोलो तल बग्छ । बस्तीचाहिँ डाँडामा छ । २ वर्षअघि संसद विकास कोषबाट १० लाख रुपैयाँ खानेपानीका लागि छुट्याइयो । यसबाट स्थानीयलाई उत्साह जाग्यो ।

दरकाम कालिका खानेपानी उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र थापाको नेतृत्वमा शुनपा १ थप्रेकमा सञ्चालित लिफ्टिङ प्रविधिबाट ल्याइएको खानेपानी आयोजना अवलोकन गर्‍यो । ‘त्यहाँ डबल लिफ्टिङबाट पानी ल्याइएको रहेछ,’ समितिका अध्यक्ष थापाले भने, त्यसपछि हामीले पनि सोहि प्रविधि अपनाएर काम सुरु गर्‍यौं ।’

२०७३ फागुनबाट खानेपानीको काम सुरु भयो । ‘काम गर्दै जाँदा मोबाइलबाटै ट्यांकीमा पानी भर्न र बन्द गर्न सकिने प्रविधि थाहा भयो, थापाले भने, करिब ४० हजार रुपैयाँ खर्चेर जडान गर्‍यौं ।’ करिब २ वर्षमा काम सम्पन्न भयो । गत असारदेखि पानीको असुविधा भोग्दै आएका स्थानीयको घरघरमा धारा जडान गरिएको छ । प्रत्येक घरमा मिटर छ, मिटर अनुसारको पैसा तिर्ने गरेका छन् ।

खानेपानी आयोजना सुरुआत कार्यक्रममा सहभागी प्रदेश सांसद आशा कोइरालाले आगामी ५ वर्षमा प्रदेश सरकारले हरेक घरमा शुद्ध खानेपानी पुर्‍याउने बताइन् । उनले खानेपानीमा उच्चतम प्रविधिको प्रयोग गरी सहज बनाएकोमा खुसी व्यक्त गरिन् ।

तस्विरः पानी सुचारु गर्दै खानेपानीका अध्यक्ष वीरेन्द्र थापा ।

तपाईको प्रतिक्रिया