सिपविहीन कला र कटमेरो गनगन

कुसुमकेशव पराजुली
माघे झरी लाग्नै सकेन, विश्व पर्यावरणको फेर बदलले चिसो तातो अदलबदल भइरहेको छ । भूमण्डलीकरण जलवायु परिवर्तन जस्तै हाम्रो गोलार्ध मात्रै होइन दक्षिणी गोलार्धमा समेत राजनीति परिवर्तन हुन लागेको छ । राजनीतिको भाषामा कसले कसलाई कति गाली गर्छन्, त्यो सरोकारको विषय कम बन्न जाला । सरकारमा जानु वा मस्तीमा रमाउनु र बहिर्गमनमा पर्नु अनि अधैर्यतामा अराजक हुनु राजनीतिक चरित्र नै बनेको छ । कसरी सुरुआत गरौं खै ?
नेपालको मात्रै भनौं भने भेनेजुएलाको लोकतन्त्र, लोकतन्त्रका पहरेदार हौं भन्नेहरुबाटै खतरामा पार्न लागिएको छ । नेपालमा कतै त्यसको देखासिकी गरिंदै त छैन ? नेपालको राजनीतिक माहोल जाडो याम कट्न नभ्याउँदै तताउने विपक्षी दलको कर्तव्य र धर्म नै होला । यस मानेमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले भर्खरै सडक ताताउने अभ्यास गरेका छन् ।
यो खबरदारी सरकारी पक्षले सकारात्मक सचेतनाको रुपमा ग्रहण गर्नुपर्छ । प्रतिपक्षले विरोध गरिरहंदा विध्वंसात्मक र अराजकताको संस्कार अपनाउनैपर्छ भन्ने होइन । सरकारको रवैया आन्दोलनलाई प्रतिहिंसात्मक रुपमा दमन गर्नुपर्छ भन्ने पनि होइन । दूर्भाग्य उहि पुरानो रोग नेपालका ठूला राजनीतिक दलहरुले बल्झाइरहेका छन् ।
विकासको संस्कार बसाउन राजनीतिक दलहरुले नसकेको देखिन्छ । मुलुक पुन अस्थिरता र अशान्तिको बाटोमा हिँडाउने अधिकार उनीहरुले गुमाइसकेका हुन् तर पनि त्यस्तै पुनरागमन गर्न तिनै राजनीतिक दलले चाहेका हुन् त ? भर्खरै कांग्रेस समर्थक केही युवाले पोखरा महानगरपालिकाको गाडी जलाए । गाडी जलाएर विरोध गर्नु नैसर्गिक अधिकार हो वा होइन भनेर छलफल गर्न परेन ।
हिंसात्मक आन्दोलन त बिगतमा हामीले निकै गर्यौं अब तातुल्यै हिंसात्मक आन्दोलन गर्नुपर्ने अवस्था होइन । राज्य सत्ताको दोहन कति कडा हुँदो रहेछ कुन्नी ? दोहन गरेकालाई मात्रै थाहा होला । हिजोका दिनमा राज्य दोहन गरेर नथाकेकाहरुलाई नै थाहा होला । जनताले सोध्न चाहन्छन्, राज्य सत्ता के कुनै आमुक राजनीतिक दलका लागि दोहन गर्ने माध्यम हो ?
उसो त विश्व सर्वाहारा वर्गका तत्कालीन महान नेता भ्ला.ई.लेनिनले भनेका थिए मजदुर वर्गीय राजनीतिक दलको पहिलो चासो भनेको राज्य सत्ता प्राप्त गर्नु हो । उनले भनेका ती भनाइ अहिले पनि सत्य बनेका हुन् त ? नेपालमा कसैले आलोचना गर्दै आएका ‘नामधारी नै सहि कम्युनिस्टले’ अधिक जनमत प्राप्त गरेका छन् । अल्पमतमा कांग्रेस लगायतका राजनीतिक दल छन् । अहिले जनमतले होस् वा आन्दोलनबाट उनीहरुले सत्ताको भागबण्डा खोज्दै छन् ।
हालै मात्र कांग्रेसले आफ्ना युवा नेतालाई सडकमा उतार्यो । अब बल्ल उसको घैटोमा घाम लागेको जनताले महसुस गरेका छन् । अनुभवी खारिएका नाममा पुरानो पुस्ताले अबको आन्दोलन र राजनीतिक नेतृत्व लिन सक्दैन भन्ने निचोडमा उनीहरु पुगेका छन् । हुन् पनि अब देश हाक्ने भनेको युवाले नै हो । विश्व प्रकाश शर्मा र गगन थापाले हिजो मात्रै नेपालका २ वटा सहरका मुख्य सडक ठप्प हुने गरी कार्यकर्ताहरु ओराले । जनशक्ति प्रदर्शनको त्यो सरल तरिका उहि पुरानो हो, यसमा त्यति विरोध गरिरहनुपर्ने देखिन्न ।
यद्यपि एम्बुलेन्स, दमकल, सुरक्षासँग सम्बन्धित र अन्य जरुरी सवारीसाधन आवतजावत गर्न नमिल्ने गरी विरोध सभा नगर्दा हुन्थ्यो भन्ने आम नागरिकको गुनासो रह्यो । पहिले गरिएका गल्ती पुनरावृत्ति नगर्दा राम्रो हुथ्यो । राजनीतिक अभिष्ट प्राप्तिको लागि के त्यसो गर्नु उचित होला र ? बुधे विकले यस्तो प्रश्न उठाउंदै गर्दा मलाई अचम्म लाग्यो । आखिर उही बुधेले हिजो त्यसरी नै अराजक आन्दोलनको नेतृत्व गदै आएका थिए । खैर यो अनुभूति हुंदै गर्दा आन्दोलनकारीले पनि आन्दोलनका शैलीहरु फेर्दै जालान् भन्ने आशा गरौं ।
आखिर आन्दोलनको चुरो कुरा भनेको राजनीतिक अंशबण्डा रहेछ । जन निर्वाचित र पराजित वर्गको वर्ग संघर्ष नै रहेछ । वर्ग संघर्षको अन्त्य भयो भन्ने ठानेका महान् क्रान्तिकारीले पनि पुन चेतनशील हुने मौका पाउँदै छन् कि ?
हामीले राजनीतिक व्याख्या–विश्लेषण पनि वर्गीय आधारमै गर्छौं । शासकलाई शोषक र शासितलाई शोषित भन्ने आजसम्मको अवधारणामा परिवर्तन आएको सत्तासिनहरुले भन्न सक्छन् । के कम्युनिस्ट पार्टीको नाममा सरकार हुँदैमा त्यहाँ शोषण अन्याय अत्याचार हुन्न ? श्रमजीवीका पक्षपोषक भन्ने गरिएका महान् दार्शनिक कार्ल माक्र्स भन्छन्, ‘समाजवादी क्रान्ति सम्पन्न भएपछि पनि वर्गीय समाजको अन्त्य भइसकेको हुन्न र त्यहाँ वर्गीय शोषण, अन्याय, अत्याचार र दमनका अंशहरु कायम रहने छन् ।’
वास्तवमा हिजो जुन–जुन देशमा कम्युनिस्टले सरकार–राज्य सत्ता सञ्चालन गरे त्यहाँ वर्गीय शोषण, दमन कायमै रह्यो । पँुजीवादी मुलुकले आफूलाई बिस्तारै लोकतान्त्रिक समाजवादी राज्य व्यवस्थामा रुपान्तरित नगरेको अवस्थामा कम्युनिस्टले सरकार चलाएका मुलुकभन्दा बढी शोषण, अत्याचार र दमन गर्दै आएका थिए । अहिले पनि त्यस्तो व्यवस्था कतिपय मुलुकले कम्युनिस्ट सरकार बिघटन हुँदाको बखत झन् एकछत्र कायम राखेका छन् ।
नेपालमा कम्युनिस्टको नाममा होस् वा कांग्रेसका नाम, उनीहरुले संवैधानिक रुपमा साझा लक्ष्य बोकेका हुन् । त्यो हो, संघीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक प्रणालीमार्फत् समाजवाद उन्मुख राज्य व्यवस्था कायम गर्नु । यो साझा लक्ष्यमा राजतन्त्रवादी बाहेकका नेपालका प्राय सबै राजनीतिक दल एकमतले हस्ताक्षर गरेका छन् । गणतन्त्र जन्माउने राजनीतिक दलमा कम्युनिस्ट अगाडि छन्, कांग्रेसले एक कदम अगाडि बढेर गणतन्त्रलाई अंगीकार नगरेको भए अहिलेको अवस्था आउने थिएन ।
यो कुरालाई नजर अन्दाज गर्न सकिन्न । यस अर्थमा कसैले मन पराओस् या नपराओस् लोकतान्त्रिक गणतन्त्र नेपालका राजनेता गिरिजाप्रसाद कोइरालाको अविस्मरणीय योगदान थियो । लाखौं गाली आइरहोस् तर भोलिको इतिहासले गणतन्त्रको अर्को पांग्रा प्रचण्ड थिए भनेर अभिलेख राख्ने छ । कसैकसैले भनेका छन् गणतन्त्र विकासका लागि केपी ओली कोषेढुंगो सावित हुँदैछन् ।
रेल छुकछुक गर्ने कुरा र सलसलल… पानी जहाजको कुरा गर्दा ७ समुद्रपारको विकास देखेकाहरुले खिल्ली उडाउंदै थिए । आखिर मिनी पानी जहाज र मोनो रेल उनले ल्याइछाडे । विकासका ठूला डिंग हाक्ने पूर्व गफाडि शासकभन्दा चुट्किला हाल्ने ओली असल देखिन थाले । महान् प्रजातन्त्रको फड्को मार्दै गर्दा सत्ताको लुछाचुडिमा अल्झिएको पुरानो कांग्रेसका भन्दा भुत्तेधार भनेका तथाकथित कम्युनिस्ट नै एकतामा बांधिरहेको अवस्था हो यो । त्यसैले त उनीहरुले अत्यधिक जनमत बटुलेका हुन् ।
अहिले बल्ल कांग्रेस लामो समय सरकार बाहिर बस्नुपरेको छ । त्यो पीडा कम दुखदायी हुन्न होला, जसले सत्ता बहिर्गमनको छटपटी नबुझोस् ? सायद कम्युनिस्टका नामबाट हालीमुहाली गर्ने मानिसले आरामको निद् ओढेका होलान्, सरकारी सुविधा र आवश्यकताभन्दा बढी ऐस–आराम बटुलेका होलान्, त्यसको लेखाजोखा जनताले गरिहेका छन् ।
प्रतिपक्षले ती आरामका निद्लाई हराम गर्नैपर्छ, आवश्यकभन्दा बढी सुविधा लिनेको विरोध गर्नैपर्छ । शान्तिपूर्ण जुलुस र नाराबाजी गर्दै रहून् कांग्रेसका कार्यकर्ता र समर्थकले । जनताको मन छुने गरी उत्पादन र उद्यमशीलता बृद्धि गर्दै रहून् । आर्थिक–सामाजिक रुपान्तरणको लहर ल्याउन छायाँ सरकार बनाइ रहनु पर्दैन । आखिर त्यो अभ्यास वर्तमान कम्युनिस्टको विगतबाट कांग्रेसले सापटी लिन जरुरी थिएन । असफल अभ्यासलाई कांग्रेसले अन्धानुकरण जरुरी छैन ।
कांग्रेस नोकरशाही र दलाल पुँजीवादको पिछलग्गु होइन भन्ने प्रमाणित गर्छ भने, राष्ट्रिय कृषि तथा पर्यटन, श्रमको सम्मान गर्ने उद्योगको स्थापना र विकास गर्ने बाटोमा कम्युनिस्टलाई उछिन्न सकोस् । त्यसो भयो भने आगामी वर्षमा जनताले उसैलाई समाजवादी कांग्रेस भन्दै विजयको माला पहिराउने छन् ।
कुरा सरकार र सत्ताको मात्रै गरिरहँदा नेपाली कांग्रेसका संस्थापक तथा तत्कालीन जननेता बिपी कोइरालाले भनेका थिए, ‘प्रजातन्त्रको लडाइ लामो हुन सक्छ, राजनीतिक लडाइबाट हामीले सरकार र सत्ता प्राप्त गर्न सक्छौं । सरकारी नोकरशाहको इर्दगिर्द जम्मा हुने भुइँफुट्टा वर्ग जन्मिने छ र त्यही वर्गले सरकार असफलपार्न र हामीलाई सत्ताच्युत गर्न लाग्ने छ ।’ बिपीको त्यो भनाइलाई धेरैपटक कांग्रेसकै नेतृत्वले साकार पार्यो ।
अभिवादन कमरेड ! हामीलाई यो शब्द विगतका नामधारी कम्युनिस्ट सरकारी झल्को आउँदो हो । अभिवादनका नाममा केही राजनीतिक दलका नेता कार्यकर्ता उतर्सिए । स्वयं कम्युनिस्ट बताइरहने तर भागबण्डा नपाएका लोभीहरु उनकै सरकार विरुद्ध जाइलागे । यो वर्गीयभन्दा निजी स्वार्थमा रहेका व्यक्तिले तथकथित कम्युनिस्टको खोल ओढेर विरोध गरिरहे ।
अल्पमतकै सहि मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकारदेखि नसहने नेपाली दलाल नोकरशाही वर्ग र विश्व साम्राज्यवादी जुलिया चाङ ब्लकले उनको राम्रो कदमलाई देखिसहेन । सरकार ढाल्न सबै कसरहरु बाँकी राखिएनन् । न्यायमूर्तिका नाममा अधिनायकवादको पक्षपोषण हुने गरी फैसला भए । अहिले भलै कम्युनिस्टको नाममा भेनेजुएलाका जनताले निर्वाचित गरेका मादुरेको पक्षमा वक्तव्य जारी भयो । विदेशी हस्तक्षेपको सत्तासिन दल भएता पनि पुष्पकमल दाहालले वक्तव्य जारी गरे ।
कसैकसैले त्यसलाई सिपविहीन कला भनेर आलोचना गरे । कांग्रेसको पुरानो परम्परा र राजनीतिक के रह्यो भने असंलग्न परराष्ट्र नीति र भेनेजुएलाको स्वाधिनता विरुद्ध गरिएको विदेशी हस्तक्षेपलाई समर्थन गर्ने आशयको वक्तव्य कांग्रेसका नेताले जारी गरे । भोलि हाम्रो देशमा हुने विदेशी हस्तक्षेपलाई नेपाली कांग्रेसले निम्ताउन खोजेको हो ? के फेरि त्यही दलाल नोकरशाही पुँजीवादलाई टिकाइ रहन कांग्रेसले अबको आन्दोलन थालेको र छिट्टै विदेशीको बुइ चढेर सत्तामा पुग्न खोजेको हो ? जनताले यसरी तर्क गर्दै रहँदा कांग्रेसको जवाफ के हुने छ ?
आगजनीका छिटफुट घटना भनिए पनि संकेत राम्रो छैन । भर्भराउँदा र भोलिका दिन खाइलाग्दा गगन थापा वा ओमप्रकाश जस्ता युवा नेतालाई कम्तीमा दलाल नोकरशाहीको गोटी बन्न छुट छैन । इतिहासले उनीहरुको कांधमा थुप्रै जिम्मेवारी दिएको छ । त्यो राष्ट्रियतासँग जोडिएको उत्पादन प्रणाली नै हो, जसले समाजवाद उन्मुख पुँजीको विकास गर्छ । पार्टीले नीति बनाउन सक्नुपर्छ ।
आफ्ना कार्यकर्ता वा समर्थकलाई उत्पादनमा जोड्ने र दिगो नेतृत्व विकासका लागि जोड दिने । आगामी दिनमा कम्युनिस्टको सरकार असफल हुने बित्तिकै सत्ता सञ्चालनका लागि तमतयार हुने हो । अन्यथा फुक्का राजनीतिको सडक तताउने मात्रै हो भने युवा भनिएता पनि गगन थापाहरुको कटमेरो गनगन मात्रै सावित हुने छ ।






पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया