वरपीपल संरक्षणमा प्रदेश सरकार

हाम्रा पुर्खाहरु धर्मकर्म गर्नुप¥यो भनेर डाँडापाखामा वरपीपल रोप्थे । चौतारी बनाउँथे । कुवा र पोखरी खन्थे । पुर्खाले सयौं वर्षअघि रोपेका वरपीपल र समीका बोटहरु आज पनि छन् । वर, पीपल, समी जहाँ हुन्छ, त्यहाँ चौतारी हुन्छ र त्यहीं मानिसले मेलापात जाँदाआउँदा भारी बिसाउँछन् । थकाइ मार्छन् । सुस्ताउँछन् । घरगाउँका छेउकुनाका चौतारीका वरपीपलको हावा खाँदै मानिसहरु मनको भारी बिसाउँछन् । मनपेट खोलेर बात मार्छन् । दुखसुख साट्छन् । तिनै चौतारीहरुमा बटुवा लक्षित पानीको घडा पनि हुन्छ ।
पीपलको बोट भएकै ठाउँका नामहरु पिप्ले रहेको पनि पाइन्छ । गण्डकी प्रदेशकै लमजुङमा २ पिप्ले र ३ पिप्ले जस्ता ठाउँ छन् । दुइटा पीपलको बोट भएको ठाउँ २ पिप्ले भयो । तिनटा पीपलको बोट भएको ठाउँ तीनपिप्ले । देशैभरिका गाउँठाउँका नाममध्ये धेरैतिर भेटिने एउटा समान नाम पिप्ले हो नेपालमा । यसले देखाउँछ वरपीपल र समी जस्ता बोटबिरुवासँग नेपालीको सम्बन्ध । नेपाली संस्कृति बिछट्टैको हो ।
सनातन धर्मको प्रभाव पनि होला, वरपीपल सार्ने र हुर्काउने अनि बिहे गरिदिने, पूजा गर्ने चलन हुनुमा । तर विज्ञानले पुष्टि गरिसकेको छ कि वरपीपल सबैभन्दा धेरै प्राणवायु (अक्सिजन) उत्पादन गर्ने रुखमध्ये अग्रणी हुन् । सयौं वर्ष आयु हुने यस्तो वनस्पति रोप्न र हुर्काउन त्यति सजिलो छैन, तर जब हुर्कन्छ न पानी हाल्नुपर्छ न गोडमेल गरेर मल छर्नुपर्छ । एकनास अक्सिजन दिइरहन्छ । शीतल छहारी बनिरहन्छ । पर्यावरण जोगाउँछ । वरपीपलमा औषधीय तथा प्रदूषणरहित गुणसमेत हुन्छ । वायुमण्डल स्वच्छ बनाउन चाहिने सेरोटिनोनजस्तै मेलाटिनोन रसायन पीपलले फ्याँक्छ । अक्सिजन र छहारीका लागि यीभन्दा अरु बोटबिरुवा कुनै बढी फलदायी छैनन् भनेर नेपाली समाजलाई भन्नै पर्दैन । नेपाली समाजबाट बरु अरुले सिक्न सक्ने कुरा जो हो यो । पछिल्लो नेपाली समाजको (अझ भनौं सहरको) चरित्रको दृश्य भने बेग्लै छ । सहरीकरण जति जति बढ्दो छ, वरपीपल, समीका बोटहरु नासिँदैछन् । चौतारीहरु मिचेर व्यापारिक कम्प्लेक्स बनाइएका छन् । निजी घर ठड्याइएका छन् । पोखरी पुरिएको छ । कुवाका नाम निसान भेट्न मुस्किल हुन थालेको छ । छन् भने पनि कुवा र पोखरी दुर्घन्दित फोहोरले भरिएका छन् । त्यहाँको पानी मानवको लागि मात्रै हैन, गाईवस्तुलाई खुवाउन पनि नहुनेखाले छ ।
गण्डकी प्रदेश सरकारले वर, पीपल, समी र चौतारी तथा कुण्डकुवा संरक्षण गर्न कानुनै बनाएको छ । वर, पीपल, समी र चौतारो संरक्षण विधेयक संसदबाट पारित भएर प्रदेश प्रमुखबाट आइतबार प्रमाणीकरण भई ऐन बनेको छ । पर्यावरण र वातावरण खल्बलिँदै गएको र नेपाली समाजको वैशिष्ट्य मानिएको वरपीपल, चौतारी, कुवा र पोखरीजस्ता सम्पदा संरक्षणका लागि कानुनै बनाउनु प्रदेश सरकारले गरेको कार्य प्रशंसनीय छ । हालैमात्रै भारतको दिल्लीमा ६ अर्ब भारु खर्चेर त्यहाँको सरकारले डेढ सयभन्दा बढी पोखरी पुनर्निमाण गरेको छ । पोखरी हिजोको दिनमा गाईवस्तुको तिर्खा मेटाउने र आहालका लागि आवश्यक थियो होला, तर अहिले भूगर्भमा पुनर्भरण (रिचार्जिङ)का लागि महत्वपूर्ण छ । दिल्ली राज्य सरकारले त्यो बुझ्यो र त्यतिका पैसा खर्चियो ।
वरपीपल, चौतारी बनाउनु र संरक्षण गर्नु हिजोका दिनमा धर्म थियो । आजको दिनमा अब कानुन भयो । हिजोको समयमा धर्म भनेकै कानुन थियो । आज कानुन धर्म हो । कानुन पालना गर्नु हरेक नागरिकको धर्म हुन्छ । तसर्थ समय सापेक्ष रुपमा अघि बढ्दा वरपीपल संरक्षणमा कानुनकै आवश्यकता छ भन्ने जुन बोध प्रदेश सरकारले ग¥यो यसबाट हाम्रो गण्डकी सरकार हाम्रो संस्कृति र वातावरण तथा सार्वजनिक महत्वका सम्पदाप्रति अति संवेदनशील छ भन्ने देखाएको छ । त्यस्ता सम्पदा नष्ट गर्नेहरुमाथि कारबाहीसमेत गर्ने र कानुनमा व्यवस्था भए झैं वरपीपल, चौतारी, कुवा तथा पोखरीको संरक्षण होओस् । व्यवहारमा त्यो देख्न पाइयोस् । तब कानुनको सार्थकता हुनेछ ।




पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया