पोउवासंघमा चरम गुटबन्दी

समाधान संवाददाता
पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघ राजनीति र गुटबन्दीको सिकार भएको छ । पछिल्लो कार्यसमितिको निर्वाचनका क्रममा देखिएको राजनीतिक धु्रवीकरण रोकिनुको साटो झनै झाङ्गिदै जाँदा संस्थाको छवि धुमिल बन्दै गएको हो ।
अघिल्ला अधिवेशनमा निर्वाचनका बेला राजनीतिक चलखेल भए पनि निर्वाचनपछि सिंगो कार्यसमिति १ भएर संस्थाको हितमा काम गर्ने चलन थियो । तर यसपटक ठिक उल्टो भएको संघकै १ पूर्व अध्यक्ष बताए । ‘अहिले संघको निर्णय कार्य समितिको बैठकबाट नभई कुनै अमुक पार्टी नेताको चाहना र निर्देशन अनुसार हुन थालेको छ,’ ती अध्यक्षले समाधानसँग भने ।
अधिवेशनमा वामपन्थी र लोकतान्त्रिक प्यानलबीच निर्बाचन भएको थियो । वामपन्थी प्यानलले अध्यक्ष जिते पनि लोकतान्त्रिक प्यानले अध्यक्षबाहेक पदाधिकारीसहित दुईतिहाईभन्दा बढी स्थान जितेको छ ।
दुरगामी असर गर्ने निर्णय गर्दा अध्यक्ष र अन्य पदाधिकारी एकै ठाउँमा उभिदैनन् । कुनै बैठकमा बहुमतले निर्णय गर्दा संघका अध्यक्षले निर्णयप्रति असहमित जनाउँदै नोट अफ डिसेन्ट लेखेका छन् भने कुनै बैठकमा अध्यक्षले निर्णय गर्दा बहुमत सदस्यले असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका छन् ।
पछिल्लो बैठकमा अध्यक्ष दामु अधिकारीले ४ जना सदस्य मनोनित गरेको विषय विवादित बनेको छ । अध्यक्ष अधिकारीले विधानले दिएको अधिकार प्रयोग गरी ४ जना सदस्य मनोनित गरेको दाबी गरेका छन् भने वरिष्ठ उपाध्यक्ष नारायण कोइराला र महासचिव अर्जुन पोखरेलले सदस्य मनोनित गर्ने अधिकार अध्यक्षको भए पनि प्रक्रियागत त्रुटिप्रति आफूहरुको असहमति भएको बताएका छन् ।
‘संघको बैठक बस्नु अघि नै बैठकका एजेन्डाबारे कार्यसमितिलाई जानकारी दिनुपर्ने विधानमा छ ।’ कोइराला र पोखरेलले समाधानसँग भने, ‘यस्तो दुरगामी महत्व राख्ने निर्णय गर्दा विविध एजेन्डा अन्तर्गत राखियो । यसमा छलफल भएर पारित गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’
संघका अध्यक्ष दामु अधिकारी बैठकमा छलफल गरेरै ४ जना सदस्य मनोनित गरिएको बताउँछन् । ‘अघिल्लो दिन बसेको बैठकमा विधानले दिएको अधिकार अनुसार नै मैले ४ जना सदस्यको नाम अनुमोदनका लागि प्रस्तुत गरें र बैठकले ताली बजाएर पारित गरेको हो,’ अध्यक्ष अधिकारीले समाधानसँग भने, ‘अर्को दिन आएर असहमति छ भन्दै नोट अफ डिसेन्ट लेख्नु भएछ । कहाँ—कहाँ को कोसँग सल्लाह गर्नुभयो र नोट अफ डिसेन्ट लेख्नु भयो थाहा भएन ।’ नोट अफ डिसेन्ट लेख्ने १६ जना लोकतान्त्रिक प्यानलबाट विजयी हुन् ।
यसअघिको एउटा बैठकमा बहुमतले गरेको निर्णयमा असहमति जनाउँदै संघका अध्यक्षले नै नोट अफ डिसेन्ट लेखेका छन् । अघिल्लो कार्य समितिले गरेको निर्णय उल्ट्याइएको भन्दै निवर्तमान अध्यक्ष विश्व पालिखे र अध्यक्ष दामु अधिकारीले नोट अफ डिसेन्ट लेखेका हुन् । पोउवासंघको इतिहास मै यो पहिलो घटना हो ।
पोखरा उद्योग वाणिज्य संघको गैह्रापाटनस्थित कार्यालयमा राखिएको प्रदेश उद्योग वाणिज्य संघको कार्यालय हटाउने र राख्ने विषयमा कार्यसमिति बैठकमा विवाद भएको हो । विश्व पालिखे नेतृत्वको अघिल्लो कार्यसमितिले प्रदेशको कार्यालय राख्न दिने निर्णय गरेको थियो । अहिले प्रदेश कमिटीको अध्यक्ष सञ्जीवबहादुर कोइराला छन् । पछिल्लो निर्वाचनमा कोइरालाले अधिकारी प्यानललाई जिताउने अभियानको नेतृत्व गरेका थिए । त्यसैको प्रतिशोधमा प्रदेश समितिको कार्यालय हटाउने निर्णय गरिएको बुझाइ अध्यक्ष पक्षधरको छ । बहुमतले निर्णय गरेकोमा अध्यक्षले नै नोट अफ डिसेन्ट लेखेपछि त्यो निर्णय पनि कार्यान्वयन हुन सकेको छैन ।
‘हामी अविछिन्न उत्तराधिकारी संस्था हो,’ अध्यक्ष अधिकारीले भने, ‘अघिल्लो कार्यसमितिले गरेको निर्णयको स्वामित्व पछिल्लो कार्यसमितिले लिनुपर्छ । उल्ट्याउँदै जाने होइन ।’ उता वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले भने प्रदेश समिति पाल्ने दायित्व पोखरा उद्योग वाणिज्य संघको नभएको बताए । ‘हामीलाई आफैलाई आर्थिक संकट छ, प्रदेश समितिलाई कसरी पाल्ने ?’ उनले भने ।
आन्तरिक विवादले पोखराको जेठो संस्था कमजोर बनेको भए पनि विवाद समाधानतर्फ कसैले ध्यान दिएका छैनन् । संकटका बेलामा अघि बढेर समाधान खोज्नुपर्ने दायित्व पूर्वअध्यक्षहरुको हो तर पूर्व अध्यक्षहरु नै निर्वाचनताका पक्ष विपक्षमा बाँडिएपछि उनीहरु पनि कमजोर भएका छन् ।
असफलताको दोष ‘नामलाई’
पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्ने वार्षिक कार्यक्रम अन्तर्गतको औद्योगिक व्यापार मेलाको पछिल्लो शृंखला असफल जस्तै भयो । दर्शक ह्वात्तै घटे । आम्दानी घट्यो । उठन बाँकी रकम सबै उठेन भने १० देखि १५ लाख रुपैयाँ घाटा लाग्ने अवस्था छ ।
यसो हुनुमा व्यवस्थापकीय लापरवाही नै पहिलो कारण हो । संघको नतृत्व र अन्य पदाधिकारीबीचको सहकार्य र उपसमितिको प्रभावकारी भूमिकामा कमजोरी रहेकै कारण मेला घाटामा जाने अवस्था सिर्जना भएको हो ।
तर कार्य समितिले त्यसलाई मनन नगरेर मेलाको नामका कारण दर्शक र आम्दानी घटेको निस्कर्ष निकालेको छ । त्यसैले लगातार १० वर्षसम्म गर्ने भनेर सम्झौता गरिएको सफल पोखरा एक्स्पो अर्को वर्षदेखि नहुने भएको छ । अर्को वर्षदेखि पोखरा राष्ट्रिय औद्योगिक व्यापार मेलाकै नाममा मेला आयोजना गर्ने निर्णय कार्यसमितिले गरेको छ । १० वर्षसम्म टाइटल स्पोन्सर गर्न सहमत भएको लक्ष्मी हाउसले अर्को वर्षदेखि टाइटल स्पोन्सर गर्ने÷नगर्ने अन्योल छ ।







गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
रत्नशोभा मावि व्यवस्थापन समितिमा दोहोरिए तिमिल्सेना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया