प्रदेश सरकारको आधार वर्ष

प्रदेश प्रमुख बाबुराम कुँवरबाट तत्कालीन एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले सपथ लिएर मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको २०७४ फागुन ४ गते हो । त्यसैले प्रदेश सरकार गठनको १ वर्ष पूरा भएको छ । चुनावी गठबन्धनबाट आएका तत्कालीन एमाले र माओवादी केन्द्रका प्रदेश सभा सदस्यले कम्युनिस्ट पार्टीको सरकार गठन गरेपछि ती २ दलको एकता भएर नेकपा बनिसकेको छ । ६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री गुरुङ आफ्ना ३७ र राष्ट्रिय जनमोर्चाबाट पनि विश्वासको मत पाएर दुई तिहाईको सरकारको नेतृत्व गरिरहेका छन् ।
यो १ वर्षमा प्रदेश सरकारले त्यतिखेरको प्रदेश नम्बर ४ लाई गण्डकी नामकरण गर्यो । पोखरालाई राजधानी तोक्यो । प्रदेश ६ र ७ ले क्रमशः कर्णाली र सुदूरपश्चिम नामकरण गर्नुबाहेक मुलुकका अरु प्रदेशलाई नाम र राजधानीको टाउको दुखाइ बाँकी नै छ । सुदूरपश्चिमले तोकेको राजधानी गोदावरी नगरपालिका कैलाली विवादमा परेको छ । तर गण्डकीको नामकरण झन्डै सर्वसम्मतजस्तो (सभामा उपस्थित ५६ मध्ये ५४ सांसदको मत पाएर) गर्नसक्नु यहाँको प्रदेश सरकारको निकै महत्वपूर्ण उपलब्धि हो । राजनीतिक सन्तुलनसहित साझा पहिचानयुक्त नाम रोजेर प्रदेश सभामा निर्णायक सत्तारुढ दल नेकपा र प्रतिपक्षी कांग्रेस तथा राजमोले बुद्धिमत्तापूर्ण कार्य गरे । राजधानीबारे भने पोखरा निर्विकल्पजस्तै थियो ।
गण्डकी सरकारले यो १ वर्षमा २४ वटा कानुन बनाइसकेको छ । सयजति कार्यविधि बनाइसकेको छ । अब विकास निर्माणका काम गर्न कानुनी अवरोध खास छैन । योजना आयोजनाहरुको टेन्डर पनि सुरु गरिसकेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुरुआती मन्त्रिपरिषद्बाट पोखरामा अन्तर्राष्ट्रियस्तरको स्टेडियम, अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र, विशेषज्ञ अस्पताल, जुलोजिकल पार्क लगायत निर्माण गर्ने निर्णय गरेका थिए । २ वर्षमा सबै बस्तीमा आधारभूत खानेपानी र बिजुली पुर्याउने पनि प्रदेश सरकारको घोषणा थियो । संघले बाटो नफुकाइदिँदा कतिपय महत्वपूर्ण निर्माण प्रदेश सरकारले अघि बढाउन सकेको छैन । प्रदेश सभा, मन्त्रालय र विभिन्न कार्यालयको स्थापना पनि निर्विदित र व्यवस्थित तवरले गर्न सक्नु प्रदेश सरकारको उपलब्धि नै हो । पूर्वाधार तयार भएको छ । कानुन बनेका छन् । कार्यविधि बनेका छन् ।
योजना आयोग बनेको छ । आयोगले स्थितिपत्र तयार गरी आवधिक योजना तयार पार्दैछ । सुशासनकै लागि ‘हेलो मुख्यमन्त्री’ कार्यक्रम सुरु भएको छ । संघलाई झकझक्याउने मामलामा पनि गण्डकी सरकारका मुख्यमन्त्रीले अगुवाइ गरी प्रदेशलाई बलियो र प्रभावकारी बनाउन भूमिका खेलेका छन् । यी लगायत उपलब्धि हेर्दा यो वर्ष प्रदेश सरकारको आधार वर्ष भएको छ । अब जनताले महसुस हुने गरी प्रदेश सरकारले सेवाप्रवाह गर्नचाहिँ बाँकी छ । त्यो छिटै सुरु हुनुपर्छ । जनताले संघीयताको साँचो प्रतिफल चाख्न पाउनुपर्छ ।






पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया