प्रदेश सरकारको १ वर्षीय अभ्यास संकेत

कपिलमणि दाहाल
समग्र राजनीतिलाई विज्ञान मान्दा यसको प्रयोग हुने स्थान विशेषलाई प्रयोगशाला मानिन्छ । त्यसो त नेपालमा पटकपटक फरक खाले राजनीतिक प्रणालीको प्रयोग हुँदै आउँदा नेपाल अस्थिर राजनीतिको प्रयोगशाला बनिरहेको छ । छोटो समय ००७ सालदेखि ०७२ सालसम्म नेपालमा ६ वटा संविधान लागु भए । यस अवधिमा संवैधानिक राजतन्त्र, सक्रिय राजतन्त्र जस्ता विभिन्न स्वरुपका राजतन्त्र र गणतन्त्रको अभ्यास नभएको पनि होइन ।
नेपालमा धेरै पहिलेदेखि नै संघीय व्यवस्थाका लागि वेदानन्द झाको तराई कांग्रेस र गजेन्द्रनारायण सिंहको सद्भावना पार्टीले आवाज उठाउँदै आएका थिए । ०६२-०६३ को जन आन्दोलनको सफलतापछि प्राप्त संविधान ०६३ को पहिलो संशोधनले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्रको रुपमा घोषणा गरेको थियो । यद्यपि यो व्यवस्थाले व्यावहारिक कार्यान्वयनको प्रारुप लिन भने पाएन । यो संविधानको पानामा मात्र सीमित हुन पुग्यो । यसको कार्यान्वयन संविधान ०७२ को कार्यान्वयनका स्वरुप ०७४ मंसिरमा भएको प्रदेश सभाको निर्वाचनपछि मात्र सुरु हुन पुग्यो ।
संघीय व्यवस्था शक्तिको संवैधानिक विभाजनसँग सम्बन्धित हुन्छ । संविधानले ३ तहको सरकारको व्यवस्था गर्दै संविधानको अनुसूचिमा यिनीहरुका भिन्दाभिन्दै अधिकार, शक्ति र यिनीहरुको साझा अधिकार शक्तिको व्यवस्था गरेको छ । संविधानको अनुसूचि ६ मा प्रदेशका विभिन्न २१ वटा अधिकार सूचि, अनुसूचि ७ मा संघ र प्रदेशका विभिन्न २५ वटा साझा अधिकार सूचि र अनुसूचि ९ मा संघ, प्रदेश र स्थानीय तहका विभिन्न १५ वटा साझा अधिकारको सूचिको व्यवस्था गरिएको छ । प्रदेशले यिनै अधिकार र शक्तिको प्रयोग गरेर प्रादेशिक सरकार सञ्चालन गर्ने हो । तर हाल प्रादेशिक सरकार गठनको १ वर्ष पुगिसक्दा पनि यी अधिकारको प्रयोग के–कुन कानुनका आधारमा गर्ने भन्ने विषयमा संघीय संसद्बाट कानुन नबनेको र संघीय सरकार यसप्रति उदासिन रहँदा प्रदेश सरकारले छुट्टै सरकारको अनुभूति हुनेगरी काम गर्न सकेका छैनन् ।
केन्द्र सरकारको अनुदानका आधारमा मात्र सरकार चलाउने र जनतालाई कर माथि करको भार थुपारी सरकारी थैली भर्नेतिर लाग्ने हो भने त्यसलाई संघीयता भन्न मिल्दैन ।
अनुसूची एकल र दोहोरो–तेहेरो सूचीमा हुँदा एकातिर दिने अर्कातिर खोस्न खोजेको जस्तो देखिन्छ । अवशिष्ट अधिकार केन्द्रमा नै राखिएको छ । प्रादेशिक सरकार र संघीय सरकार २ नं प्रदेशबाहेक एकै दलबाट गठन भएका र प्रादेशिक सरकारले आफ्नै दलबाट गठित संघीय सरकारलाई उपयुक्त दबाव दिन नसक्दा पनि प्रदेश सरकार निकम्मा जस्ता देखिन पुगेका छन् । केन्द्र सरकार र प्रदेश सरकार एउटै दलको हँुदा केन्द्रको प्रभाव रहने र फरक हँुदा द्वन्द्व बढ्ने खतरा रहन्छ । यो कुरा अरु प्रदेश र २ नं प्रदेशको उदाहरणबाट पनि प्रष्ट भएकै छ । जस्तै २ नं प्रदेशले प्रहरी ऐन ल्याउने कुरा गर्यो । केन्द्रले रोक्यो । अहिले केन्द्रले नै शक्तिशाली शान्ति सुरक्षा ऐन बनाउँदै छ र मुख्यमन्त्री र प्रदेशसमेत प्रमुख जिल्ला अधिकारी माताहात रहनुपर्ने अवस्था सिर्जना हँुदैछ । हुन त संघीयता कुनै नौलो कुरा नभइ विशेषखालको विकेन्द्रीकरण नै हो । त्यसो हँुदा संघीयता आवश्यक हो वा होइन भन्ने कुरा बहसको विषय बन्न सक्ला तर नेपालमा भने हाल उचित तवरले संघीयताको प्रयोग हुन नसक्दा यो नयाँ त के परम्परागत विकेन्द्रीकरणको जत्तिको प्रभावकारी पनि बन्न सकेको छैन ।
संवैधानिक व्यवस्था अनुसार हाल ७ वटा प्रादेशिक सरकार छन् । यिनीहरु मध्ये नामाकरण हुनु पूर्व गण्डकी प्रदेशले आफ्नो राजधानी पोखरा तोकिसकेको छ । ११ जिल्ला रहेको यस प्रदेशमा ६० जना सांसद् छन् । फागुन ४ गते प्रदेश सरकार गठन भई सरकार गठनपछि बसेको प्रदेश सरकारको पहिलो बैठकले केही महत्वपूर्ण निर्णयसमेत गरेको थियो ।
सबभन्दा बढी बजेट झण्डै आधा करिब १० अर्ब ७५ करोड रुपैयाँ भौतिक पूर्वाधार मन्त्रालयमा विनियोजित गरिएको थियो । अहिले यस मन्त्रालयबाट प्रभावकारी तवरले काम हुन नसक्दा बजेटको सही कार्यान्वयन हुन सकेको छैन ।
निर्णयमा प्रदेशमा ५ वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न सम्मेलन केन्द्रको निर्माण गर्ने, उज्यालो प्रदेश कार्यक्रम अन्तर्गत २ वर्षभित्र सबै गाउँबस्तीमा विद्युत सेवा दिने, ५ वर्षभित्र सुविधासम्पन्न क्यान्सर, मुटुरोग तथा मृगौला उपचार केन्द्रको स्थापना गरी सञ्चालन गर्ने, ५ वर्षभित्र स्थानीय तहको केन्द्रलाई प्रदेश राजधानीसँग स्तरीय सडक सञ्जालबाट आवद्ध गर्ने, २ वर्षभित्र सबै गाउँबस्तीमा खानेपानी व्यवस्था गर्ने, भाषा संरक्षण गर्न, बहु सांस्कृतिकग्राम स्थापना गर्ने, विद्युतीय सुशासन स्थापना गर्ने, ५ वर्षभित्र अन्तराष्र्टिय स्तरको बहुउपयोगी खेलमैदान निर्माण गर्ने रहेका थिए । यसै बीच २५ जेष्ठ ०७५ मा प्रदेश सरकारले पहिलो नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गरेको थियो ।
कुल १ सय ६२ बुँदामा समेटिएको नीति तथा कार्यक्रममा प्रदेशको विकास र समृद्धिका लागि प्रादेशिक अंग सञ्चालनको आवश्यकता, लोकतान्त्रिक मूल्यमान्यताप्रतिको प्रतिबद्धता, एकताबद्ध समाज र संस्कृतिको निर्माण, सुशासनमार्फत् लोकतन्त्रको सुदृढीकरण, सार्वजनिक निजी सहकारी तथा सामूहिक सहभागिता, मानवअधिकारको सम्मान, प्रादेशिक नीति तथा संरचना निर्माण वर्ष, वैदेशिक लगानीलाई यस प्रदेशमा केन्द्रित गर्ने, प्रदेशको गरिबी १४ प्रतिशतबाट ७ मा झार्ने, प्रदेश आयलाई ८ प्रतिशतले बृद्धि गर्ने, पोखरा–कोरला, पोखरा–दुम्किबास द्रुतमार्ग निर्माण गर्ने, प्रतिव्यक्ति आय २५ सय डलर पु¥याउने, स्थानीय तहमा २५, नगरपालिकामा ५० र प्रदेशमा १ हजार शैयाका अस्पताल निर्माण थालनी गर्ने, फेवाताल, रुपाताल र बेगनास ताल जोड्न मोनोरेलको विकास गर्ने, सूचना प्रविधि पार्क निर्माण गर्ने, ऊर्जा उत्पादन दोब्बरपार्ने, प्रदेश राजधानीमा स्वच्छ पानी उपलब्ध गराउने, २ वर्षमा हरेक घरधुरीमा खानेपानी पुर्याउने, वार्षिक ५० हजार रोजगारी सिर्जना गर्ने, पर्यटन पूर्वाधार विकास गर्ने आदि कुरा उल्लेख गरिएका थिए ।
नीति र कार्यक्रमपछि सरकारले कुल २४ अर्ब २ करोड ३३ लाख रहेको बजेट प्रस्तुत गरेको थियो । यसमा सबभन्दा बढी बजेट झण्डै आधा करिब १० अर्ब ७५ करोड रुपैयाँ भौतिक पूर्वाधार मन्त्रालयमा विनियोजित गरिएको थियो । अहिले यस मन्त्रालयबाट प्रभावकारी तवरले काम हुन नसक्दा बजेटको सही कार्यान्वयन हुन सकेको छैन । असारे विकास र संस्थागत भ्रष्टाचारले सुशासनलाई चुनौती दिएको छ ।
केही महिना पहिले प्रधानमन्त्रीले प्रदेश सभामा विशेष सम्बोधन गरेका थिए । यसको संवैधानिकताको बारेमा प्रश्न त उठे तर यी सबैले प्रदेश संरचनालाई बलियो बनाउन सकेका छैनन् । प्रदेश सभाले २४ विधेयक पारित गर्दा १ वर्षमा ४४ करोड ८९ लाख ८ हजार ८ सय ४१ खर्च गरेको छ । उपलब्धिभन्दा खर्च बढी हुँदा यसलाई धान्न मुस्किलपर्ने देखिन्छ । झन्डै ४ दर्जन बढी बैठक बसेर गरेको गण्डकी प्रदेशका निर्णय देखिने गरी परिणाम अनुभूत हुन सकेको छैन । पहिलो बैठकका निर्णय राम्रा थिए तर दुर्भाग्य तिनीहरु कार्यान्वयन हुन सकेनन् ।
केन्द्र सरकार प्रदेशको अधिकारप्रति पूरै बेखबर देखिएको छ तर दलको प्रभावले होला प्रदेश सरकारका प्रतिनिधिले पनि जोडदार रुपमा आफ्नो माग राख्न सकेका छैनन् । कर्मचारी र कानुनको अभावमा काम हुन नसक्नु र यसको व्यवस्था गर्न संघीय सरकार बेखबर रहनु संघीयताका लागि राम्रो संकेत होइन । एकातिर खर्च बढी अनि अर्कातिर उपलब्धि नहुनुले प्रदेश सरकारप्रति अविश्वास बढ्न थालेको छ । आफू र आफू मातहतका सेवा बढाइ सुशासन विपरित यसले काम गरेको छ भन्ने आभास जनतामा पर्न गएको छ ।
मुख्य मन्त्रीहरुले केन्द्रमा प्रधानमन्त्री भेट्न पनि नपाउने कुरा कुनै नौलो छैन । प्रदेशका साझा समस्या पहिचान गरी प्रधानमन्त्री समक्ष राख्ने गरी केही पहिले पोखरामा प्रदेशका मुख्य मन्त्रीहरुको भेला सम्पन्न भयो । यसको जानकारी प्रधानमन्त्रीलाई हुने बित्तिकै उनी मुख्य मन्त्रीहरुसँग नाराज भएको समाचार बाहिर आए । मुख्य मन्त्रीहरुले सामूहिक रुपमा प्रधानमन्त्रीलाई भेट्न खोज्दा प्रधानमन्त्रीले नमानेको र अहिलेसम्म सामूहिक भेट-बैठकसम्म हुन नसकेको विषयले पनि प्रधानमन्त्री प्रादेशिक सरकारप्रति अनुदार रहेको कुरा स्पस्ट भएको छ । यसमा कुनै मुख्य मन्त्रीले पनि आफनो कुरा खुलेर राख्न नसकेकाले उनीहरु अहिले पनि केन्द्रको दबावमा रहेको अनुमान गर्न गाह्रो पर्दैन ।
केन्द्र सरकारको अनुदानका आधारमा मात्र सरकार चलाउने र जनतालाई कर माथि करको भार थुपारी सरकारी थैली भर्नेतिर लाग्ने हो भने त्यसलाई संघीयता भन्न मिल्दैन । तर अहिले त्योभन्दा बढी केही हुन सकेको छैन । प्रदेश सरकार दलका नेता र कार्यकर्ता भर्ती गर्ने नयाँ राजनीतिक कारखाना बन्न पुगेको जस्तो देखिन्छ । जनताले कि केन्द्र चिन्ने कि त स्थानीय सरकार चिन्ने बानी परेकोले पनि यो त्यति प्रभावकारी देखिएको छैन । संघीयता नै हो भने यो संरचना नभए पनि हुँदैन भन्ने तर्क पनि धेरै सुनिने गरेका छन् । स्थानीय तह बलियो बनाइएमा जनतालाइ प्रदेशप्रतिको मोह रहँदैन पनि ।
संघीयता पूर्ण विकेन्द्रीकरण र लोकतान्त्रिक मूल्य–मान्यतामा अडिग रहने दलीय व्यवस्थामा मात्र सफल हुने हो । नेपालमा सबै दलले आफूलाई लोकतान्त्रिक भने पनि यहाँ आफूलाई साम्यवादी भन्ने दलहरु पनि छन् र अहिले तिनै दलको सरकार छ । वास्तवमा उनीहरुको झुकाव साम्यवादतिरै हो भने संघीयता र प्रादेशिक सरकार माथि खतरा जहिले पनि तिनैबाट हुन सक्छ । किन कि साम्यवाद वा कुनै पनि खाले अधिनायकवादी व्यवस्थाको आधारभूत विशेषता केन्द्रिकरण नै हो । कुनै पनि राजनीतिक प्रणालीले सफल रुपमा काम गर्न त्यसले आफ्ना सक्षमता कार्य, रुपान्तरण कार्य र प्रणाली संरक्षण र अनुकूलन कार्य गर्नैपर्छ ।
हालसम्मका कार्यको विश्लेषण गर्ने हो भने प्रदेश सरकारका कार्यहरु त्यतातर्फ उन्मुख देखिँदैनन् । यसलाई जोगाउने हो भने त्यतातर्फ पनि चनाखो हुनैपर्छ र चुनौती सामना गर्ने लोकतान्त्रिक सामथ्र्य राख्नैपर्छ ।
दाहाल अधिवक्ता हुन् ।






पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया