भूकम्प प्रभावित घर पुनर्निर्माणमा रुपा गाँउपालिका

समाधान संवाददाता २०७५ फागुन ६ गते ११:२५

स्मीता अधिकारी
लेखनाथ

रुपा गाउँपालिकामा भूकम्प प्रभावित घर पुनर्निर्माण कार्यक्रम प्रभावकारी भएको छ । भूकम्पीय क्षतिका आधारमा सरकारले प्राथमिकतामा राखेका १७ जिल्लामध्ये अहिलेसम्म कास्कीको रुपागाउँपालिकामा सबैभन्दा धेरै जनाले बनाएका छन् ।

सरकारले २ वर्षअघिदेखि भूकम्प प्रभावितका लागि घर पुनर्निर्माणका लागि अनुदान बाँडेको थियो । पुनर्निर्माणलाई प्राविधिक सहयोग गर्न हरेक स्थानीय तहमा गत वर्षदेखि प्राविधिककोसमेत व्यवस्था गरिएको थियो ।

Advertisement

अहिलेसम्म सवैभन्दा धेरै घर रुपागाउँपालिकामा घर बनेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाइ कास्की आयोजना प्रमुख उमेश चौधरीले बताए । चौधरीका अनुसार, भूकम्प प्रभावित जिल्लाका अन्य स्थानीय तहमा पहिलो किस्ता लिएपछि दोस्रो र तेस्रो किस्ता लिने क्रम धेरै ढिलो हुन्छ ।

शुक्रबार रुपागाउँपालिकाले औपचारिक समारोह गरी भूकम्प अनुदानबाट घर बनाएका १ सय १५ परिवारलाई घर निर्माण सम्पन्न प्रमाणपत्र वितरण गरेको छ । गाउँपालिकामा अहिलेसम्म १ सय २१ जना भूकम्प प्रभावित परिवारले घर निर्माणगरेका छन् । गाउँपालिकामा १ हजार १ सय ९४ जनाले पहिलो किस्ता, ४ सय २५ जनाले दोस्रो किस्ता र १ सय २१ जनाले तेस्रो किस्ता बुझिसकेका छन् । पहिलो र दोस्रो किस्ता बुझेका परिवारले आगामी असार मसान्तसम्ममा घर निर्माण सम्पन्न गर्नेगरी काम गरिरहेका छन् ।

Advertisement

भूकम्पमा व्यक्तिगत सुरक्षाका लागि गाउँपालिकाले समेटेका प्राविधिक र सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यक्रमले नै भूकम्प पीडितलाई सकारात्मक प्रभाव पारेको गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए । ‘घर पुनर्निर्माणका लागि सरकारले दिएको ३ लाख रुपैयाँ पर्याप्त नभए पनि सुरक्षित र जोखिमरहित घर बनाउनु पर्छ भन्ने जनचेतनाका कारण ऋण गरेरै भए पनि उहाँहरुले घर बनाउनु भएको छ,’ ओझाले भने, ‘भूकम्प प्रभावितको यो ऊर्जालाई पछिल्ला दिनमा पनि गाउँपालिकाले सम्बोधन गर्नेछ ।’

भूकम्प प्रभावितलाई सरकारले अनुदान रकम दिए पनि विभिन्न जटिलताका कारण निर्धारित समयमै घर बन्न ढिलाइ भइरहेको छ । अनुदानले मात्र घर बन्न नसक्ने भएकाले सरकारले हालै भूकम्प पीडितलाई सस्तो ब्याजमा ऋणको व्यवस्थासमेत गरेको छ । यो व्यवस्था अगावै घर बनाउनेलाई पनि व्यक्तिगतरुपमा लिएको ऋण मुक्त गराउन यो सुविधा दिइने गाउँपालिकाले जनाएको छ ।

रुपमा १ सय ७ परिवारले सरकारले व्यवस्था गर्नुअगावै व्यक्तिगत लगानीमा घर बनाएका थिए । घर बनाउने परिवारका लागि पनि केही सहयोगको व्यवस्था गर्न पहल गर्ने गाउँपालिका प्रमुख ओझाले बताए ।

तपाईको प्रतिक्रिया