के सडकले अन्नपूर्ण क्षेत्रको पदयात्रा पर्यटन मास्दैछ ?

नारायण कार्की
पूर्वतिर लमजुङको बेंसीसहरदेखि मनाङको चामे सडकमा सवारीको ओहोरदोहोर बढ्दो छ । म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम र मुक्तिनाथ सडक पनि व्यस्त रहन थालिसकेका छन् । ती सडकले लमजुङ हुँदै मनाङ पुगेर मुस्ताङ हुँदै फेरि म्याग्दी र कास्की झर्ने अन्नपूर्ण क्षेत्रको फन्को लगाउने चक्रीय पदयात्रा मार्गको केही खण्डलाई इतिहासमा सीमित तुल्याइसकेका छन् ।
सडकको फाइदा र बेफाइदा के के ?
लमजुङ–मनाङ र म्याग्दी–मुस्ताङ सडकले पदयात्रा मार्ग छोट्याइदिए पनि ती सडकले सम्भावनाका नयाँ ढोकाहरू खोलिदिएको पर्यटनविद्हरू बताउँछन् ।
पहिलो, पदयात्रीबाहेक अन्य पर्यटकहरू मोटर चढेर हिमाली क्षेत्र छिटो र छरितो रूपमा पुग्ने क्रम बढेको छ जसले मनाङ र मुस्ताङमा पर्यटकको चहलपहल बढाइदिएको छ । दोस्रो, पदमार्ग अर्थात् ट्रेकिङ रुट मासिएको चिन्ता गर्नेहरूलाई स्थानीय बासिन्दाले नयाँ–नयाँ र अन्वेषण नगरिएका पदमार्गहरू देखाइदिन थालेका छन् । जस्तै हालै मनाङका पर्यटन व्यवसायीले मनास्लु क्षेत्रबाट मनाङ पुग्दै नार र फुजस्ता कम परिचितित गन्तव्यहरू पाहुनाको स्वागत गर्न लालायित रहेको जानकारी दिए ।
अन्नपूर्ण स्याङक्चुरी क्षेत्रभित्र पनि ल्वाङ घलेल–मार्दी हिमालका साथै खोप्रा डाँडा, सिक्लेस र पन्चासेजस्ता आकर्षक पदमार्गहरू लोकप्रिय हुँदैछन् । तातोपानी, घोडेपानी, पुनहिल, बनठाँटी, घान्द्रुक पदयात्रा मार्गमा पर्यटकहरूको ताँती घटेको छैन, बढ्दो छ ।
अन्नपूर्ण क्षेत्रको बढ्दो आकर्षण
अन्नपूर्ण क्षेत्र आफ्नो प्राकृतिक छटा तथा सांस्कृतिक एवं जैविक विविधताको कारण विश्वविख्यात बनेको हो । समुद्र सतहबाट ८ सय मिटरको उचाइमा अवस्थित पोखरा उपत्यकाबाट आकाश खुलेको दिन ८ हजार मिटर अग्ला हिमचुलीहरू नजिकै देख्न सकिन्छ ।
प्राकृतिक वातावरणमा पदयात्रा गर्दा शारीरिक तथा मानसिक स्फूर्ति बढ्छ । अन्नपूर्ण क्षेत्र प्रकृतिसँग रम्न पाइने देशकै एक प्रमुख गन्तव्य भएकोले अन्नपूर्ण संरक्षण क्षेत्रमा पदयात्रीहरूको भीडमा कुनै कमी आएको छैन ।
त्यो बर्सेनि बढ्ने क्रममा छ । सन् २०१८ मा अहिलेसम्मको रेकर्डलाई पछि पार्दै अन्नपूर्ण क्षेत्रमा १ लाख ८० हजार पर्यटकले पदयात्रा गरेको जानकारी पोखरास्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) कार्यालयले दिएको छ ।
नेपालका पदयात्राका प्रसिद्ध गन्तव्यहरूमा गएको वर्ष कति पर्यटकले पदयात्रा गरे भन्ने यकिन तथ्यांक प्राप्त नभए पनि तीमध्ये आधाभन्दा बढी अर्थात् करिब ६० प्रतिशतले अन्नपूर्ण क्षेत्रको भ्रमण गर्ने अनुमान छ ।
भारतीय र चिनियाँ पदयात्रीको आकर्षण पनि बढ्दै
सामान्यतया भारतीय पर्यटकभन्दा बढी पश्चिमा पर्यटकले पदयात्रामा रुचि लिएको पाइन्छ । तर अन्नपूर्ण क्षेत्रमा भने भारतीय पदयात्रीको संख्याले अरू मुलुकलाई धेरै पछि पारेको छ ।
सन् २०१८ मा ४६ हजारभन्दा बढी भारतीय पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेको एक्यापका सूचना अधिकृत ऋषि बरालले जानकारी दिए । उनका अनुसार त्यो संख्या अघिल्लो वर्ष ३३ हजार थियो । अन्नपूर्ण क्षेत्रमा भारतीयपछि अर्को छिमेकी मुलुक चीनबाट गत वर्ष १३ हजार पर्यटक आएका थिए । मुक्तिनाथधाम अन्नपूर्ण क्षेत्रमा पर्ने भएकाले र गत वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमण गरेकाले त्यहाँ भारतीय धार्मिक पर्यटक थप आकर्षित भएको बताइन्छ ।
मोटर बाटो निर्माणले पदमार्ग संकटमा
अन्नपूर्ण क्षेत्रमा लमजुङ, मनाङ हुँदै मुस्ताङ पुग्ने सबैभन्दा प्रचलित अन्नपूर्ण चक्रीय पदमार्ग हो । मोटर बाटो नबन्दासम्म यो पदमार्ग छिचोल्न ३ हप्ता लाग्थ्यो । यही पदमार्गमा पर्ने ५ हजार ४ सय मिटर अग्लो थोराङला भन्ज्याङ पार गर्नु पर्यटकहरूको अभिलाषा हुन्थ्यो ।
यो निकै साहसिक पदयात्रा हो । धेरै पर्यटक थोराङ्ला पार गरेपछि खुसीले रुने त्यस क्षेत्रमा जाने नेपाली पथप्रदर्शकहरू बताउँछन् । तर लमजुङबाट मनाङसम्म र म्याग्दीबाट मुक्तिनाथसम्म मोटर बाटो बनेपछि त्यो मार्ग छोटिएको मात्र छैन, त्यस क्षेत्रको सौन्दर्य पनि हराएको गुनासो पर्यटकले गर्ने गरेका छन् ।
पदयात्रा व्यवसायीहरूको संगठन टानको पश्चिमाञ्चलका पूर्वअध्यक्ष दीपकराज अधिकारी भन्छन्, ‘पैदल मार्गका सिँढीहरू डोजर लगाएर भत्काएर मोटर बाटो निर्माण गर्ने कामले अन्नपूर्ण क्षेत्रको पदयात्रा पर्यटन नै संकटमा परेको छ ।’
उपल्लो मुस्ताङ, अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक–घोडेपानी लगायतका लामो र छोटो दूरीका पदयात्रा मार्ग ‘मोटर बाटोले ध्वस्त’ हुन लागेको भन्दै व्यवसायीहरूले वैकल्पिक पदयात्रा मार्गको खोजी र विकास गर्नुपर्नेमा जोड दिइरहेका छन् ।
जैविक विविधता
२ वटा हिमाली जिल्ला मुस्ताङ र मनाङलगायत कास्की, म्याग्दी र लमजुङका १५ गाउँपालिकाका ७ हजार ९ सय २६ वर्ग किलोमिटर भूभागमा अन्नपूर्ण संरक्षण आयोजनाले काम गरिरहेको छ । सन् २०१८ मा गरिएको पछिल्लो अध्ययन अनुसार अन्नपूर्ण क्षेत्रमा १ हजार २ सय ३३ प्रजातिका बोटविरुवा, ५ सय १८ प्रजातिका चरा, ३ सय ४८ प्रजातिका पुतली, १ सय ५ प्रजातिका स्तनधारी जनावर र ४० प्रजातिका सरीसृप पाइन्छन् ।












पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया