पोखरामा युरोलोजिस्ट सर्जनको अन्तर्राष्ट्रिय सम्मेलन

समाधान संवाददाता २०७५ फागुन ९ गते ७:५०

समाधान संवाददाता

युरोलोजिस्ट सर्जनहरुको अन्तर्राष्ट्रिय सम्मेलन आजबाट पोखरामा हुनेभएको छ । नेपाल एसोसिएसन अफ युरोलोजिकल सर्जनको आयोजनामा ३ दिनसम्म चल्ने सम्मेलनमा बाहिरी देशका समेत गरी २ सय भन्दा बढीले सहभागिता जनाउने आयोजक समिति सदस्य प्राडा धु्रवबहादुर अधिकारीले जानकारी दिए ।

सम्मेलनको पहिलो दिन मनिपाल मेडिकल कलेजमा प्रयोगात्मक कार्याशाला हुने छ । उक्त कार्यशालामा युरोलोजिस्ट र युरोगाइनोकोलोजिस्टहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । महिलामा हुने पिसाव चुहिने रोगको निदान र आधुनिक शल्यक्रियाको बारेमा उक्त शत्रमा अनुभव आदानप्रदान हुने एसोसिएसनका अध्यक्ष प्राडा चन्द्रशेखर अग्रवालले बताए ।

Advertisement

सम्मेलनको दोस्रो र तेस्रो दिन युरोलोजीसँग सम्बन्धित विषयमा कार्यपत्र र लेक्चर प्रस्तुति हुने छ । ‘फिमेल युरोलोजी, फ्युचर प्रस्पेक्टिभ’ विषयमा सम्मेलन केन्द्रित हुने आयोजकले जनाए । सानै उमेरमा आमा बन्ने, धेरै बच्चा जन्माउने, अस्पतालमा नगइ घरमै बच्चा जन्माउने जस्ता कारणले महिलामा पिसाबसम्बन्धी समस्या देखिने गरेको छ । सुत्केरी अवस्थामा उचित स्याहार नपुगेका कारण महिलाहरुमा पिसाब चुहिने, पिसाब रोक्न नसक्ने, पाठेघर खस्ने र संक्रमण देखिएकोले सचेतना मार्फत् समस्या गर्न सम्मेलन केन्द्रित हुने एसोसिएसनका महासचिव डा. पवनराज चालिसेले बताए । उनले भने, ‘पहिला पहिला रोग लुकाउने चलन थियो, विशेषज्ञको पनि अभाव थियो, अहिले भने यी दुवै समस्या कम हुँदै आएका छन् ।’

प्रसूतिरोग विशेषज्ञलाई समेत सहभागी गराएर अनुभव साटासाट गरिने भएकाले यो सम्मेलन उपलब्धिमूलक हुने अपेक्षा गरिएको एसोसिएसन सचिव डा. हरिबहादुर केसीले बताए । सम्मेलनमा भारत, चीन, श्रीलंका, अमेरिका, मलेसिया, हङकङ, सिंगापुर लगायत देशका विशेषज्ञ सहभागी हुनेछन् । २०६१ सालमा स्थापित एसोसिएसनमा हाल १ सय ३ सदस्य आबद्ध छन् । संस्थाले स्थापनाकालदेखि नै सम्बन्धित विषयका सर्जनहरुको आपसी हितका लागि प्राज्ञिक र सेवामूलक काम गर्दै आएको दाबी एसोसिएसनको छ ।

Advertisement

पोखरामा अहिले १० जना युरोलोजिकल सर्जन कार्यरत छन् । पिसाब सम्बन्धी रोगको उपचारका लागि अब काठमाडौं र बाहिर धाउनुपर्ने अवस्था नरहेको प्राडा अधिकारीले बताए । उनले भने,‘हामीसँग पर्याप्त उपकरण भने छैनन्, अब विस्तारै भिœयाउँदै छौं ।’

तपाईको प्रतिक्रिया