परिवर्तनको लागि ‘प्रजातन्त्र’, आखिर भयो के ?

प्रतापलाल श्रेष्ठ
वास्तविकताको उद्घाटन हुँदै जाँदा इतिहास नयाँ ढंगले पनि लेखिंदैजान्छ । सत्यको खोज निरन्तर भइरहन्छ । लेखिएको इतिहास समयक्रममा गलत हुन सक्छ । गलत लेखिएको इतिहासको ठाउँमा सहि इतिहास लेखिनु निरन्तर सत्यताको खोज गर्नु एउटा निरन्तर प्रक्रिया हो । शक्तिको आधारमा बंग्याएर लेखिएको इतिहास त्यही शक्ति रहँदाको अवस्थासम्म मात्र स्वीकार हुन सक्छ । परिस्थिति परिवर्तन हुँदा यदि त्यो गलत छ भने अस्वीकृत हुन्छ । परिस्थिति परिवर्तन हुने बित्तिकै सत्यताको आधारमा लेखिनु विलकुल बान्छनीय काम हो, यस्तो हुने गर्छ । सत्यता यस्तो कुरा हो जो उद्घाटित नभइ छाडदैन, केवल ढिलोचाँडोको कुरा हो, समय र परिस्थितिको पनि कुरा हो । बादशाहाको नयाँ कपडाको कथा हामी सबैले सुनेका छौं । यो पनि भन्नु उपयुक्त हुन्छ कि सत्यताको इतिहास लोकतन्त्रमा मात्र लेखिन्छ । किन कि निर्भयता त्यही हुन्छ । सही लेखेकै आधरमा सजाय खानुपर्दैन ।
यसै क्रममा ००७ सालको परिवर्तनका बारेमा लेखिनु जरुरी भएको छ र लोकतन्त्र आएको बेला सत्यताको निव भांचिन सक्दैन र लोकतन्त्रका लागि लडेकाको कलम धरमराउनु पनि हँुदैन । ००७ सालको परिवर्तन भनेको राणामा भएको शक्ति र शासन राजामा सरको घटना हो । यदि यस्तो हो भने प्रजातन्त्र दिवस भनेर कसरी मनाउन सकिन्छ ? राजा त सामन्तका प्रतिक हुन् । अन्य देशका राजा जस्ता होइनन् नेपालका राजा । राजाको रगतमा निरंकुशता र दमनका बीज छ । जो जनतालाई माया र दया होइन , दमन र पीडा दिएको छ । कयौंको सुन्दर जीवन उजाड बनाएको छ ।
प्रजातन्त्र प्रजाको शासन भनिन्छ । प्रजा सर्वोपरी हुने व्यवस्था हो प्रजातन्त्र । तर त्यसो भएन । राणा शासनभन्दा पनि अगाडि पनि जनअधिकार थिएन । सबै अधिकार राजामा केन्द्रित थियो । १९०३ को कोतपर्व पछि राजाको शासन बलपूर्वक रगतको खोला बगाएर राणाले खोसे । राजा त रहे तर राजाको शासन रहेन । राणाको शासन रह्यो । राणाले चाहेको भए राजा समाप्त गरी दिन सक्थे तर तिनीहरुले त्यसो गरेनन् । नाम मात्रको राजा रहे । शासन मात्र रहेन । ००७ सालमा राणाको अधिकार जनताले खोसेर लिए तर जनतासँग जनताको प्रतिनिधिको हातमा शासन सरेन । शासन राजाको रह्यो । वंश परिवर्तन भयो । तर शासनशैलीमा कुनै परिवर्तन भएन । जनताको अवस्था जस्तो पहिले थियो परिवर्तनपछि पनि त्यस्तै रह्यो ।
राणाले चाहेको मानिसलाई मुक्तिहार बनाउन सक्थ्यो, अब त्यही काम राजाले गर्न थाल्यो । राजाले चाहेको मान्छेलाई प्रधानमन्त्री बनाउन सक्थ्यो । सहमतिको प्रधानमन्त्री मोहन शमशेर भएको भए पनि त्यसपछि फटाफट राजाले प्रधानमन्त्री नियुक्त गर्न थाले । कोही कसैले केही बोल्न सक्दैनथ्ये । उसमा रहेको निहीत अधिकारको प्रयोग जस्तो भयो । उनले चाहेमा नियुक्त गर्न सक्थे र नचाहेमा फालिदिन सक्थे । मातृकाप्रसाद कोइरालालाई यस्तो भयो डा. केआइसीमा पनि यस्तै भयो । टंकप्रसादमा पनि यस्तै भयो । खोइ कसरी आयो त प्रजातन्त्र । प्रजाको शासनमा राजालाई यस्तो मनपरि गर्ने छुट रहँदैन । ०१५ सालमा नियुक्त भएका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष सुवर्ण शमशेर राणा पनि राजाबाटै नियुक्त भएका थिए ।
संसारका तानाशाहाले आफ्नो शासन प्रजातन्त्रका नाममा गरे । प्रजातन्त्र भन्दै निरंकुश शासन चलाए । निरंकुश अत्याचारी शासकले आफ्नो शासनलाई प्रजातान्त्रिक शासन भनेर चलाए । जनताको अगाडि यस्तो भ्रम छरे । प्रजातन्त्रको नाममा निरंकुश तानाशाही शासन सञ्चालन गरे । त्रिभुवनले पनि यहि गरे । आफूले चलाएको राजतन्त्रात्मक शासनलाई प्रजातान्त्रिक शासन भने । प्रजातन्त्रको नाममा जे पनि गर्न पाइन्छ भन्ने राजाको शैली रह्यो ।शासन जस्तो चलाय पनि भयो तर प्रजातन्त्र भने चर्को स्वरमा भन्नु प¥यो । ००७ सालको परिवर्तनपछिको शासन प्रजाको शासन भनेर राजाले भन्न सुहाउँछ तर जनताले प्रजातान्त्रिक शक्तिले पनि भन्न सुहाउँछ ? राजामा सम्पूर्ण अधिकार निहीत भएर आएको शासन प्रजातान्त्रिक हुन सक्दैन । राजाले भन्ने र गर्ने कुरालाई प्रजातान्त्रिक शक्तिले पनि भन्ने र गर्ने कुरा कसरी ठीक हुन सक्छ ? कसरी राजाको लोली र बोलीमा यो कुरा मिलेको छ ।
शाहावंशको इतिहासमा पृथ्वीनारायण शाहपछि बलियो राजा भएनन् । भाइ–भारदारबीचमा दाउपेच चल्यो । कुटाकुट–मारामार भयो । दरबारलाई प्रयोग गरी कहिले कसले त कहिले कसले गरी हत्याकाण्डहरु रचिए । बदलाका काम कार्वाहीहरु भए । कहिले को समाप्त हुने, कहिले को । ठेगान नै भएन । बांचेकाहरु पनि सन्त्रासमा बांचे । दरबारको आडमा खाली षड्यन्त्र मात्र रचिए । स्वयं जंगे पनि निशानामा थियो चलाख र चतुर भएर बांच्यो । षड्यन्त्रलाई समयमै बुझ्न सक्यो । षड्यन्त्रलाई चिरे पछिको फाइदा उठाउन जंगे पछि परेन । यही अवस्था छोपेर राणाले राजाबाट शासन अधिकार खोसेर लिए । एकलौटी र निरंकुश शासन गर्ने अवसर शाह वंशले १ सय ४ वर्ष गुमाए । यसपछि नेपालमा सबभन्दा तानाशाहा र निरंकुश थिए । त्रिभुवन यस्तै थिए, महेन्द्रको त कुरै भएन राजा विरेन्द्र पनि यस्तै राजा थिए । यहाँ उल्लेख गर्नु राम्रो होला कि राणा विरुद्धको पहिलो शक्ति प्रजापरिषद् हो । प्रजापरिषद्को ४ सदस्यलाई फांसीमा लडकाउने पंजापत्र दिने तिनै त्रिभुवन थिए (यादव देवकोटा बाह्य हस्तक्षेपको भुंग्रो २०७४ फागुन ५) । सायद उनी निरीह भएर पनि यस्तो भयो कि ?
राणा शासनपछि आएका राजाले यति नराम्रोसँग शक्तिको दुरुपयोग ग¥यो कि कुनै प्रतिबद्धताको ख्याल गरेन । जनतालाई दिएका अधिकार एकपछि अर्काे निमोठिरह्यो । आम निर्वाचनपछि बनेको नेपाली कांग्रेसको दुई तिहाईको सरकार जबरजस्ती सेनाको आडमा निमोठियो । सरकारलाई अपदस्त मात्र गरेन, जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतलाई जेलमा कोचियो । तर पनि नेपाली राजनीतिक पार्टीमा जेठो राजनीतिक पार्टी नेपाली कांग्रेस ००७ लाई प्रजातन्त्र आएको मान्छ । निकै ठूलो परिवर्तन मान्छ । यसको विरोध गर्यो भने प्रजातन्त्र माथिको आक्रमण ठान्छ । साचो अर्थमा प्रजातन्त्र नआएको कारण आफू शिकार भएको कुरालाई यति नजर अन्दाज गर्छ कि वास्तविकता खोज्ने प्रयत्नै गर्दैन ।
प्रजातन्त्र नआएकै र नभएकै कारण ०१७ सालमा नेपाली कंग्रेसले यो दुर्गति भोग्नुपरेको होइन र । १९७९, ८० तिर इरानमा ठूलो आन्दोलन चल्यो । त्यसबेलाको राजा शान शाह फालिय आयातुल्लाहा खुमैनी आए । जनताले त जिते तर शासनमा कुनै फरक आएन । झन निरंकुश शासकको आवगमन थियो । हाम्रो देशमा पनि यस्तै भयो । त्यहाँको परिवर्तन र यहाँको ००७ सालको परिवर्तनले दिएको सन्देश जनता सर्वाेपरी हो र जनता निर्णायक शक्ति हो । निर्णायक शाक्ति जनताले खेलेको भूमिकाकै कारण बल प्रयोगले आएको परिवर्तन हो ।
००७ सालको प्रजातन्त्र दिवसको सन्दर्भमा राजनीतिक पार्टीको फरकफरक धारणा छ । राजाले अब उप्रान्त शासन निजहरुले निर्वाचन गरेको १ वैधानिक सभाले तर्जूमा गरेको गणतन्त्रात्मक व्यवस्था अनुसार हुनेछ भने पनि त्यो कहिल्यै भएन । एकपछि अर्काे गरी समय बिताउँदै लगि संविधान सभाको निर्वाचन लत्याएर छाडिदिए । राजनीतिक पार्टी हेरेको हेरै भए । यस्तो धुर्त कामका विरुद्ध कडा जवाफ दिनुपथ्र्याे । तर जवाफ दिनुको साटो उसैको योजनामा लुरुलुरु हिँड्ने काम भयो । इतिहासले भन्छ यदि नेपाली कंग्रेसले दुई तिहाई बहुमत आउने राजालाई लागेको भए ०१५ सालको आमनिर्वाचन नै हुँदैनथ्यो ।
राणा शाहीलाई फाल्ने उद्देश्यले प्रजापरिषद् गठन भएको थियो । यिनै परिषद्का सदस्यसँग राजाको राम्रो सम्बन्ध थियो भनिन्छ । वास्तवमा प्रजापरिषद्का सदस्यको उनी सँगको सम्बन्ध कुनै प्रजातान्त्रिक योजनाको लागि थिएन । बरु हुकुमी राणाको ठाउँमा हुकुमी शाहको थिति बसाल्ने योजना थियो । उसद्धारा चालिएको अप्रजातन्त्रिक कदमबाट यो कुराको प्रमाणित हुन्छ । यसैले ००७ सालको परिवर्तन केवल मुखिया फेर्ने खेलो मात्र थियो । जनताको हातमा केही आएन । कम्युनिस्टमा त झन प्रतिबन्ध नै लाग्यो । प्रतिबन्धित अवस्थामा राजनीतिक गर्नु पर्यो ।
इतिहासमा यस्तो अप्रीय कुरा पनि पाइन्छ कि जो विश्वास गर्न गार्हो हुन्छ । जब राणाशाही विरोधी आन्दोलनहरु स्वत स्फूर्त चल्न थाले भारत, राणा र कंग्रेस सकेसम्म यो आन्दोलनमा कम्युनिस्ट समावेसै नहुन भन्ने चाहन्थ्ये । जोजो भए ती देशभित्र पनि र देश बाहिर पनि छानिछानि पक्राउ परे । ००७ सालको आन्दोलनमा भारतको सहयोग थियो । तर ००७ सालको आन्दोलनमा लागेका तुलसीलाल अमात्य, केदार उपाध्याय, पिएन राणा तथा अन्य कम्युुनिस्ट र किसान नेतालाई भारत सरकारले रक्सौलमा पक्राउ गरी जेल हाल्यो । भारतमा रहेका पुष्पलाललाई बंगालमा वारेन्ट जारी गरियो र उनी गिरफ्तारीबाट बचे । उनी भारतमै पनि भूमिगत भएर रहनुपर्यो । अझ आश्चर्य यो छ कि ००७ सालमा विराटनगरमा गठन भएको विद्रोही सरकारले मनमोहन अधिकारी, डिपी अधिकारी, नरबहादुर लगायतलाई गिरफ्तार गरी कैद गर्यो । राजा, राणा र कांग्रेसलाई राणा विरोाधी मात्र नभएर अधिकार खोज्नेलाई दमन गर्ने पनि लक्ष्य थियो भनेर विभिन्न घटनाबाट पुष्टि हुन्छ ।
००७ सालको परिवर्तनपछि प्रजातन्त्र आएको भए यस्तो दुर्घटना नहुनुपर्ने तर भयो । यसको अर्थ हुन्छ देशमा परिवर्तन त आयो तर प्रजातन्त्र आएन । यो त वास्तवमा राजामा आएको प्रजातन्त्र हो उसलाई मनपरी गर्ने अवसर प्राप्त भयो । ००७ सालको परिवर्तनपछि राजाको शासन आएको हो । राजा प्रजा थिएनन्, राजा कहिल्यै प्रजा भएनन् । हुन चाहेनन् । उनी जनताप्रति कहिल्यै जवाफदेही भएनन् । प्रजातान्त्रिक शासन व्यवस्थामा शासक जनताप्रति बफादारी हुन्छन् । प्रजातन्त्र आएको थियो कि थिएन भनेर हामीले १९०३ सालको कोतपर्व पछि कसको शासन थियो र ००७ सालको परिवर्तनपछि पनि कसको शासन स्थापित भयो हर्नु पर्छ । उही शाहा वंशको राजतन्त्रात्मका शासन । खोइ कहाँ थियो प्रजाको शासन । राणाले कोतपर्वको घटना घटाएर शासन हातमा लिए र ००७ सालको क्रान्ति–आन्दोलनमा जनताको शक्तिको माध्यामद्धारा राजाको हातमा शासन फिर्ता भयो । राणाले आफूले सक्दासम्म वर्वर जंगली शासन चलायो । आफूले नसकेपछि त्यसरी शासन चलाउँदै आएको शाह वंशलाई सुम्पियो ।
हामीले राजा त्रिभुवनलाई त्यागि राजा भन्छौ । राजगद्दीको जोखिम मोल्यो भन्छौ । राष्ट्रपिता पनि भन्ने गरेका छौं । भारतबाट अंग्रेज हटिसकेको थियो त्यसपछि आएको नेहरु शासन र राणाको सम्बन्ध राम्रो थिएन । भारत राणालाई हटाउन चाहन्थ्यो र भारत कठपुतली सरकार निर्माण गर्न चाहन्थ्यो । राणाले अंग्रेजलाई सहयोग गरेको थियो र उसको बलमा यहाँ नेपालमा टिकिरहेको थियो । यो कुरा त्रिभुवनले पनि बुझिरहेका थिए । उसले गद्दी त्यसबेला मात्र त्याग गरेका थिए जब उनको शाही शासन पुनरस्थापित हुने र कही कतै तल माथि नहुने भएपछि दिल्ली भासिएका थिए । भारतको आडमा राणा शासन फालिएपछि भारतले नेपालमा हर क्षेत्रमा हस्तक्षेप गर्न थाल्यो । भारतीय आड–भरोषा र सहयोगमा गरिएको भनिएको ००७ सालको परिवर्तनपछि भारतले आफ्नो सहयोग सदासहायता सबैको एक मुष्ठ बाली उठाउन थाल्यो । यहाँको सुरक्षादेखि न्यायलयसम्म, मन्त्री परिषद्देखि कूटनीतिसम्म सिकाउने सहयोग गर्ने, संरचना निर्माण गर्न , नीति बनाउने आदि कामको लागि ल्याइए भारतीय कर्मचारी, सुरक्षाफौज र तालिमेहरु । भइदियो कतिसम्म भने ००७ सालपछि बनेको सरकारमा सामेल मन्त्री भद्रकाली मिश्रले ट्यांकरसहितको भारतीय सेना नेपालमा झिकाउनुपर्ने भन्ने प्रस्ताव मन्त्रीपरिषद्मा दर्ता गराएपछिको विवाद सुल्झाउन नेपालको मन्त्रीपरिषद् नै दिल्ली पुग्यो ।
नेपालको प्रधानमन्त्री मोहन शमशेर, अर्थमन्त्री सुवर्ण श्मम्शेर, गृहमन्त्री विश्वेश्वर कोइरालासहित नेपाली मन्त्रीमंण्डलको बैठक ००८ साल माघ २ गते दिल्लीमा नेपालका लागि भारतीय राजदूत चन्द्रेश्वरप्रसाद सिंह, विदेश सचिव गिरीजाप्रसाद सिंह वाजपेयीसहित उपस्थितिमा बैठक बस्यो । त्यही बैठकले नेपाली सेनाको संरचना निर्माण, आधुनिकीकरण, फौज सुधार समिति गठनको निर्णय ग¥यो (राठौर कमल राज सिंह नेपाली सेनाको इतिहास पेज २६४) । सोहि बैठकको निर्णयअनुसार नेपाली सेनाको तालिम भारतीय सेनाबाट गर्ने र नेपालको उत्तरी सीमामा भारतीय सैनिक राखेर चेकपोस्ट खडा गर्ने निर्णय ग¥यो । त्यसरी आएको भारतीय सेनाको म्याद २०११ फागुन ३ मा थप भयो (उही पेज) । जसलाई पञ्चायतकालका प्रधानमन्त्री कृतनिधि विष्टले राजाले नमान्दा नमान्दै यदि भारत रिसायो भने मलाई प्रधानमन्त्रीबाट बर्खास्त गर्नु, अपजस जति मलाई हाली दिनु भनेर उत्तरी चेकपोस्ट हटाइ दिए । आखिर उनै कृतनिधि विष्टलाई राजाले हटाइदिए । तर पुन चेकपोस्ट कहिल्यै स्थापित भएन ।
००७ सालको परिवर्तनमा एउटा कुरा उल्लेख गर्नु जरुरी हुन्छ, ००७ सालको परिवर्तन जनताको पक्षमा नआइ शाह वंशको हातमा शासन आएको भए पनि यो परिवर्तनमा जनताको भूमिका रह्यो । जनतामा कति तागत र शक्ति छ भन्ने कुरामा पहिचान भयो । त्यसपछि भएको नेपालको परिवर्तनमा नेपाली जनता निर्र्णायक रहे । शासन पनि धेरथोर उनै जनताको हातमा । अहिले त जनता सार्वभौम भएका छन् । हर कुराको फैसला गर्र्ने निर्णायक शक्तिका रुपमा छन् । श्रेष्ठ नेकपाका केन्द्रीय सदस्य हुन् ।






पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया