सिपबिनाको सर्टिफिकेट काम छैन: मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राविधिक शिक्षामा जोड दिएका छन् । कास्की सार्दिखोलाको माछापुच्छे« मावि स्वर्ण महोत्सव समापन समारोहलाई आइतबार सम्बोधन गर्दै उनले प्राविधिक शिक्षाका लागि प्रदेश सरकारले सहयोग गर्ने पनि बताए ।
‘सिपबिनाको सर्टिफिकेट काम छैन,’ मुख्यमन्त्री गुरुङले भने, ‘अब हाम्रा बाबुनानीलाई एउटा हातमा सर्टिफिकेट र अर्काे हातमा सिप दिन चाहन्छौं ।’ व्यावसायिक र जीवनोपयोगी शिक्षा नभएकैले आज ब्रेनड्रेन भइरहेको उनको भनाइ थियो । मुख्यमन्त्रीले भने, ‘गत वर्ष नेपाली विद्यार्थी विदेश पढ्न जाँदा १२ अर्ब रुपैयाँ बाहिरिएको छ ।’
गण्डकी प्रदेश सरकारले ८० प्रतिशत प्राविधिक विषय पढाइ हुने विश्वविद्यालय खोल्न लागेको जानकारी पनि उनले दिए । शिक्षालयहरुमा भइरहेको राजनीतिक भागबन्डालाई अन्त्य गर्दै प्राज्ञहरुको जिम्मा लगाउनुपर्ने उनले बताए । ‘गत वर्ष अस्ट्रेलियामा कुल गार्हस्थ उत्पादनको योगदानमा शिक्षाको स्थान तेस्रो रह्यो,’ उनले भने, ‘अस्ट्रेलियामा बाहिरबाट पढ्न जाने र खर्च गर्नेमध्ये नेपालको स्थान तेस्रो थियो ।’
विश्वविद्यालय खोल्ने अधिकार प्रदेशसँग भएकैले विश्वविद्यालय खोल्न लागेको उनले सुनाए । संघीय प्रणाली खर्चिलो भन्नेहरुलाई कामबाट जवाफ दिने पनि उनले बताए । ‘काठमाडौं गएर गर्नुपर्ने काम काम पोखरामै हुने भएपछि जनताको खर्च धेरै घटेको छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘जनताका लागि सबैभन्दा सस्तो शासन प्रणाली संघीयता हो ।’
मुख्यमन्त्री गुरुङले आउँदो ५ वर्षभित्र गण्डकी प्रदेशको प्रतिव्यक्ति आम्दानी २ हजार डलर पुर्याउने उद्घोष गरे । गरिबीको रेखामुनि रहेका ३ लाख गण्डकीबासीमध्ये आधाको जीवनस्तर ५ वर्षमै माथि उकास्ने पनि उनले बताए । सार्दिखोला र घाचोक, माछापुच्छ्रे जोड्ने गरी सेतीनदीमाथि मोटरेबल पुन प्रदेश सरकारले २ वर्षमा बनाउने बचन मुख्यमन्त्रीले दिए ।
संविधान सभा सदस्य सीता गिरी ओलीले गुणस्तरीय शिक्षाको निक्र्याैल नभइसकेको भन्दै अंग्रेजी माध्यमलाई मात्रै आधार मान्न नसकिने तर्क गरिन् । गण्डकी प्रदेश सभा सदस्य बिन्दुकुमार थापाले चिनियाँ पर्यटक लक्ष्य गरी चिनियाँ भाषाका कक्षाहरु पनि चलाउनुपर्ने आवश्यकता औंल्याए । माछापुच्छ्रे गाउँपालिकाकी उपप्रमुख कृष्णकुमारी पौडेलले अर्काको सहयोगबाट कोही उँभो नलाग्ने विचार व्यक्त गरिन् । ‘विद्यालय हाम्रो हो भन्ने भावना भएमात्रै विद्यालय राम्रो हुन्छ,’ उनले भनिन् ।
विद्यालयका प्रधानाध्यापक सन्तोष आचार्यले अंग्रेजी माध्यममा पढाइ सुरु भएदेखि विद्यार्थी आकर्षित भएको जानकारी दिए । परार साल जिल्लाको उत्कृष्ट छैटौं विद्यालय हुन सकेको र त्यसअघि देशभरिका उत्कृष्ट ४० मा परेको पनि प्रअ आचार्यले सुनाए । विद्यालयलाई सहयोग गरेका दातालाई मुख्यमन्त्री गुरुङसहितका अतिथिले समारोहमा सम्मानपत्र अर्पण गरेका थिए ।
विद्यालय व्यवस्थापन अध्यक्ष मित्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, नेपाल कम्युनिस्ट पार्टीकी नेतृ मीना गुरुङ, समाजसेवी बमबहादुर गुरुङ, माछापुच्छ्रे गापाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ आचार्य लगायतले मन्तव्य राखेका थिए ।
तपाईको प्रतिक्रिया