होमस्टेको औपचारिक उद्घाटन हुनु अगावै पर्यटनको अगमन

कृष्ण न्यौपाने
औपचारिक शुभारम्भ नहुँदै तनहुँको भिमाद ९ पाथर्दीस्थित घरबास (होमस्टे) मा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । घरबाससम्बन्धी तालिम लिएर बसेका स्थानीय आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेपछि दंग छन् । फागुनभित्रै औपचारिक रुपमा उद्घाटन गर्ने तयारी गरिएको घरबासमा देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक आउन थालेको पाथर्दी घरबास व्यवस्थापन समिति अध्यक्ष शिवकुमार आलेले बताए ।
‘औपचारिक उद्घाटनको तयारीमा छौ,’ उनले भने, ‘तर यति बेला देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक यहाँ आउन थालिसक्नुभएको छ ।’ सञ्चारमाध्यमबाट प्रचारप्रसार भएपछि झापादेखिका आन्तरिक पर्यटक केही दिनअघि मात्रै आएर घरबासमा रात बिताएको आलेले जानकारी दिए । उनका अनुसार झापाका विभिन्न ५ वटा सहकारीका सदस्यले १ रात घरबासमा बिताएका थिए ।
त्यस्तै धादिङ, स्याङ्जा र तनहुँकै विभिन्न ठाउँबाट समेत पर्यटक घरबासमा आउने गरेका छन् । आलेका अनुसार विदेशीको १ टोलीसमेत यहाँ बास बसिसकेको छ । त्रिभुवन विश्वविद्यालयबाट वन विज्ञान अध्ययनरत विद्यार्थीको टोली १ हप्ताका लागि यहाँ आउने तयारी गरेको आलेले जानकारी दिए । उनले भने, ‘यस ठाउँमा अध्ययनका लागि टोली आउने निश्चित भएको छ ।’
यहाँका १० घरमा घरबासको व्यवस्था छ । घरबासमा आउने पर्यटकलाई स्वागत, सत्कारदेखि खानाको परिकार बनाउने लगायतका तालिम स्थानीयले लिइसकेका छन् । केही दिनअघि मात्रै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले समेत खाद्य स्वच्छतासम्बन्धी तालिम पनि दिएको छ । यस ठाउँमा एकै दिनमा ३० जनासम्मले बास बस्न सक्ने क्षमता छ । यहाँ आउने पर्यटकलाई अर्गानिक खाना खुवाउने गरिएको छ ।
अध्यक्ष आलेका अनुसार पर्यटकलाई भट्ट, कोदोको रोटी, ढिडो, लोकल कुखुरा, निउरो लगायतका खानेकुरा दिइन्छ । १ छाक सादा खाना र १ छाक मासु खाना र बास बसेको १ हजार २ सय रुपैयाँ लिइने उनले बताए । पर्यटकलाई रातको समयमा स्थानीयले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गर्ने गरेका छन् ।
भिमाद ९ का वडाध्यक्ष इमान थापाले वडालाई पर्यटन र कृषिबाट समृद्ध बनाउने गरी योजना बनाइएको जानकारी दिए । यस ठाउँमा रहेका सिद्ध गुफा, चुलिडाँडा, इन्द्र झरना लगायतलाई एउटै रुटमा जोड्दै पर्यटन पूर्वाधारको लागि अध्ययन समेत गरिएको छ । त्रिभुवन विश्वविद्यालयका वन्यजन्तुविद् डा हरि शर्मा र वनस्पति एवं जडिबुटी विज्ञ डा. रिपु कुँवरको नेतृत्वमा यहाँ अध्ययन गरिएको थियो ।
सोही ठाउँमा रहेको इन्द्र झरनामा व्यावसायिक क्यानोनिङ सञ्चालनका लागि समेत तालिमको आयोजना गर्न लागिएको छ । घरबास व्यवस्थापन समितिका अध्यक्ष आलेका अनुसार नेपालभरिका प्रशिक्षक बोलाएर यहाँ तालिम गर्ने तयारी छ ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया