कुरीकुरी प्रहरी

१७ वर्षे सन्देश रम्तेलले आफू नेपाल सरकारको सहसचिव हुँ भन्दै प्रहरीलाई छक्याए । त्यो पनि १ हैन २ हैन अनेकौ ठाउँमा । तनहुँ प्रहरीले त उनलाई राजमार्गमा स्कर्टिङसहितको सुरक्षा नै प्रदान गर्यो । तनहुँ प्रहरीको बुद्धि भुटेपछि उनी हौसिए । जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम, जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय कार्यालय मुस्ताङले पनि तनहुँकै सिको गर्दै रम्तेलको सुरक्षामा चासो दियो । २० वर्ष पनि उमेर नकटेको युवाले प्रहरी मात्र हैन जनप्रतिनिधिलाई समेत छक्याउन सफल भए । पोखरा महानगरपालिकाकी उपमेयरको तोकमा उनले १० लिटर इन्धनको कुपन नै हात पारे । गण्डकी प्रदेशका विभिन्न मन्त्रालयमा समेत सरकारी नम्बर प्लेटको गाडीसहित प्रवेश गरी सहसचिवकै हैसियतमा बातचित गर्न उनले भ्याए ।
झापाका रम्तेल कस्तो पारिवारिक पृष्ठभूमिका हुन्, अध्ययन कति छ त्यो त अनुसन्धानकै क्रममा छ । तर सन्देशले जुन तरिकाले सुरक्षा निकाय र सरकारी कार्यालयका अधिकारीलाई गुमराहमा पार्न सफल भए यसले उनी हाइप्रोफाइलकै संगतका व्यक्ति हुन भन्ने अनुमान गर्न सकिन्छ । उनले जीवन जीउन ठगीलाई नै अवलम्बन गरे । आखिर किन रोजे त उनले यस्तो बाटो ? यो अनुसन्धानपछि खुल्ने नै छ । यति सानो उमेरको व्यक्तिले भनेकै आधारमा पत्याइदिने हाम्रो प्रहरी प्रशासनको क्षमतामाथिको ठूलो प्रश्न चिह्न हो यो । प्रहरी प्रशासनले कुनै व्यक्तिलाई सुरक्षा प्रदान गर्नु अघि कुनै आधार चाहिँदैन ? जो पायो त्यहीले फोन गरेको आधारमा स्कर्टिङमा गाडी खटाउने कतिसम्मको कमजोरी गर्न सकेको ? यसबाटै प्रस्ट हुन्छ कि नेपालको सुरक्षा निकाय कति जिम्मेवार छ भन्ने । गोप्य सूचना लिनका लागि नेपाल प्रहरीले ठाउँठाउँमा घुमुवा डुलाएको हुन्छ । ती घुमुवा प्रहरी जिम्मेवारी वहन गर्न भन्दा पनि बार्गेनिङमै बढी समय बिताउँछन् । अनि हाकिमलाई जुन घुमुवाले ठूलो रकम बुझाउन सक्छ उसैलाई प्रोत्साहन गरिन्छ । अनि यस्तै सूचना प्रणालीको फाइदा लुट्छन् सन्देश रम्तेलहरु ।
नेपाल सरकारको सहसचिवस्तरमा पुगेको व्यक्तिको उमेर हेरेरै पनि हाम्रा सरकारी अधिकारीले अनुमान पनि लगाउन सक्नुपर्छ नि । अनि सहयोग माग्न आउनेबित्तिकै सही गरेर कुपन प्रदान गर्न निर्वाचित जनप्रतिनिधिलाई कति हतार भएको होला । हो उनले पोखरा महानगरबाट ठूलो परिणामको सहयोग लिएका होइनन् । तर महानगरले हावाकै भरमा इन्धन बाँड्छ भन्ने तथ्यलाई त यसले जबरजस्त पुष्टि गरिदियो नि । नेपाल प्रहरीको चुस्त अनुसन्धान र सूचना प्रणाली बनाएर जिम्मेवार ढंगले काम नगरेसम्म सन्देश रम्तेलहरुले प्रहरीलाई यसरी नै प्रयोग गरिरहनेछन् । संगठनको शाख जोगाउन पनि अब चुस्त रुपमा काम गर्नुको विकल्प छैन । केबल चर्चामा आउने एकाध घटनाका बारेमा जानकारी गराउने उद्देश्यले आफू नजिकका पत्रकार बोलाएर पत्रकार सम्मेलन गरेर मात्र प्रहरीको दायित्व पूरा हुँदैन । यस्ता कमजोरी दोहोरिरहने हो भने नागरिकले नेपाल प्रहरीलाई कुरीकुरी गर्नेछन् ।





पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया