राजनीतिक टाइमलाइनमा प्रिय रवीन्द्र

समाधान संवाददाता २०७५ फागुन १६ गते ८:४३

भरत कोइराला

छरितो बानी व्यहोरा । सानै उमेरदेखि जिज्ञासु स्वभाव । त्यही जिज्ञासुपनले रवीन्द्र अधिकारीलाई राजनीतिमा डोर्‍यायो । राजनीतिक नेतृत्व युवाको हातमा पुगेमात्र समृद्धिको मार्ग प्रशस्त हुने भन्दै पार्टीपंक्तिमा जहिले पनि उनले बहस गर्दै आए । तत्कालीन अवस्थामा शाहज्यादा पारसको ज्यादतिविरुद्ध उनले आवाज उठाए । चर्चित गायक प्रवीण गुरुङको हत्यालगत्तै पारस विरुद्ध रवीन्द्रले ५ लाख भन्दा बढी विद्यार्थीको हस्ताक्षर संकलन गरी दरबारमा बुझाउने साहस गरे ।

यातायत लगायत सार्वजनिक क्षेत्रमा विद्यार्थीलाई ३३ प्रतिशत सहुलियत रवीन्द्रकै अगुवाइमा कार्यान्वयन भयो । विद्यार्थी आन्दोलनबाटै राजनीतिक उचाइ लिएका अधिकारी कास्की, गण्डकी प्रदेश र मुलुककै उज्ज्वल नक्षत्र थिए । आशाका केन्द्र थिए । नागरिकका प्रिय रवीन्द्रको बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा भएको अकल्पनीय निधनले अहिले उनको गृहनगर पोखरा शोकमा छ ।

पाइलट प्रभाकर केसीले उडाएको एयर डाइनेस्टीको उक्त हेलिकप्टरमा मन्त्री अधिकारीसहित प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, यती एयरलाइन्स तथा एयर डाइनेस्टीका मालिक आङछिरिङ शेर्पा, नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै ध्रुवदास भोछिभोय र मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे थिए ।

तेह्रथुमको आठराईस्थित चुहानडाँडामा एयरपोर्ट निरीक्षण गरी पाथिभरा मन्दिर दर्शन गरी फर्किंदा मन्त्री अधिकारी चढेको हेलिकप्टर दाह्रेभीरमा दुर्घटनाग्रस्त भएको थियो ।

स्कुले जीवनबाटै २०३८ सालमा रवीन्द्र राजनीतिमा होमिएका थिए । अनेरास्ववियु जिल्ला अध्यक्ष, पृथ्वी नारायण क्याम्पस स्ववियु सभापति हुँदै उनी अनेरास्ववियुकै अध्यक्ष भएर विद्यार्थी आन्दोलनलाई चुलीमा पुर्‍याए ।
२०२६ वैशाख २२ गते आइतबार कास्कीको भरतपोखरी जामुनाबोटमा उनी जन्मे । बाबु इन्द्रप्रसाद मावि तहका अवकाशप्राप्त शिक्षक हुन् । आमा लक्ष्मी र बाबु इन्द्रप्रसाद अहिले रवीन्द्रले नै पोखरा ५ मालेपाटनमा बनाएको घरमा बस्दै आएका छन् । २ छोराका बाबु रवीन्द्रकी पत्नी विद्या भट्टराई पद्मकन्या क्याम्पसमा प्राध्यापनरत छिन् ।

गाउँकै व्रह्मज्योति प्राविबाट बाह्रखरी सिकेका रवीन्द्रले शान्तिउदय माविबाट एसएलसी उत्तीर्ण गरे । सानै उमेरदेखि नेतृत्व लिनसक्ने खुबी भएका रवीन्द्र, रेडक्रस, र बालक्लबमा आबद्ध थिए । मावि तहमा पढ्दाताका गीति नाटक तथा प्रगतिशील सांस्कृतिक कार्यक्रममा उनी हजारौं दर्शकमाझ उनी प्रस्तुत हुन्थे ।

एसएलसीलगत्तै उनी अभिभावकको चाहना अनुसार वन विज्ञान अध्ययन संस्थानमा भर्ना भए । प्राविधिक पढाइतिर रुचि नभएरै होला उनी त्यही वर्ष अर्थात् २०४२ सालमा पृथ्वीनारायण क्याम्पसमा भर्ना भए । २०४४ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटी अध्यक्ष, २०४५ सालमा स्ववियु सदस्यमा निर्वाचित रवीन्द्र २०४५ सालमै अनेरास्ववियु कास्की जिल्ला अध्यक्ष हुन सफल भए । उनको राजनीतिक यात्र यति तीव्ररुपमा अघि बढ्यो कि २०४७ सालमा गण्डकी अञ्चल अध्यक्ष तथा केन्द्रीय सदस्य भए । २०४९ सालमा पृथ्वीनारायण क्याम्पस २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस स्ववियु सभापति निवार्चित भए । २०५६ सालमा अनेरास्ववियुको राष्ट्रिय नेतृत्व हाँक्न उनी सफल भए ।

उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका थिए । पञ्चायतकालमा स्वतन्त्रता, प्रजातन्त्र, प्राज्ञिक स्वतन्त्रताको पक्षमा क्रियाशील रहेकै बेला उनी पटकपटक जेल र हिरासतमा परे ।
२०३९ सालमा पार्टीको रेडगार्ड अर्गनाइजेसनमा संगठित रवीन्द्रले २०४५ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गरेका हुन् । २०४० मा इलाका कमिटी, २०४६ मा पोखरा नगर कमिटी र २०४८ मा पार्टी जिल्ला कमिटीमा उनी अबद्ध रहे । रवीन्द्र २०६० र २०६३ मा कास्की जिल्ला कमिटी सचिव भए ।

रवीन्द्रको विचारमा राजनीति र विकास अन्तरसम्बन्धित विषय हुन् । मुलुकको दीर्घकालीन विकासमा उनी जहिले पनि चिन्तित रहे । पोखराको पर्यटन विकास, ग्रामीण बाटो, फेवा बेगनास, रूपा लगायत ताल तलैयाको संरक्षण, सरसफाइमात्र नभएर पोखराको खानेपानी, क्लब, खेलकुदको क्षेत्रमा पनि उलेख्य भूमिका खेलेका छन् । उनी पछिल्लो सयम मेलम्ची खानेपानी आयोजना, कर्णाली करिडोर, बागमती करिडोर, कालिगण्डकी करिडोर, नेपाल–चीन जोड्ने नाकाहरु, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, निजगढ–काठमाडौं फास्टट्रयाक, नीजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल लगायतका आयोजनाको अनुगमन तथा निरीक्षण र उक्त आयोजनाहरु कार्यान्वयनका लागि क्रियाशील थिए ।

पत्रपत्रिकामा राजनीति र विकास सम्बन्धी लेख रचना प्रकासित गरिरहने रवीन्द्रका संविधानसभाः लोकतन्त्र र पुनर्संरचना र समृद्ध नेपाल गरी २ पुस्तक बजारमा आइसकेका छन् । समृद्ध नेपाल अंग्रेजी संस्करणमा पनि उपलब्ध छ ।

अधिकारीसहितको शव दुर्घटनास्थलबाट ताप्लेजुङको सुकेटार पु¥याइए पनि बुधबारै काठमाडौं ल्याइएको छैन । मौसम खराब हुँदा शव काठमाडौं ल्याउन नसकिएको हो । बिहीबार उनका जेठा छोरा विराज भारतको बैंगलुरुबाट काठमाडौं आउने भएका छन् । शुक्रबार मन्त्री अधिकारीको शव पोखरा ल्याइने पारिवारिक स्रोतले जनाएको छ ।

यसैबीच गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ताप्लेजुङमा बुधबार दिउँसो मन्त्रीसहित ७ जनाको ज्यान जाने गरी भएको एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीले पनि शोक वक्तव्य जारी गरेको छ । ‘अधिकारीले विकास समितिको सभापतिका साथै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीका रुपमा आफूलाई अग्रणीरुपमा स्थापित गर्नुभएको थियो । उहाँले निर्वाह गर्नु भएको भूमिका मुलुक तथा विशेषगरी गण्डकी प्रदेशले सधैं सम्झिरहने छ,’ प्रदेश अध्यक्ष हितराज पाण्डेद्वारा वक्तव्यमा भनिएको छ । अधिकारीको निधनबाट पार्टी र देशले एकजना होनाहर सिर्जनशील तथा लोकप्रिय युवा नेता, विकासप्रेमी जनप्रतिनिधि गुमाएको वक्तव्यमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया