बन्दीपुर केबलकार पूर्वाधार निर्माण सुरु

समाधान संवाददाता २०७५ फागुन २८ गते ९:११

कृष्ण न्यौपाने

तनहुँको बन्दीपुरमा केबलकार निर्माण सुरु गरेको कम्पनीले अन्य पूर्वाधारसमेत निर्माण गर्ने भएको छ । ‘पहाडकी रानी’ नामले परिचित बन्दीपुर घुम्न आउने पर्यटकलाई मनोरञ्जन र सुविधा प्रदान गर्ने उद्देश्यले विविध पूर्वाधार निर्माण सुरु गरेको परियोजनाले जनाएको छ ।

बन्दीपुर केबलकार प्रालिले निर्माण सुरु गरेको केबलकारको काम धमाधम भइरहेको छ । केबलकारका साझेदारी कम्पनीमा आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन लिमिटेड, पञ्चासे केबलकार एन्ड टुर्स लिमिटेड, टुरिजम इन्भेस्टमेन्ट फन्ड, बन्दीपुर गाँउपालिका र स्थानीय समुदाय छन् ।

Advertisement

केबलकारको समग्र बृहत परियोजनामा कम्पनीले १ अर्ब २८ करोड लगानी गर्ने आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार केबलकारको टावरका लागि पिल्लर राख्न जग खन्ने काम भइरहेको छ भने ल्यान्ड विन्डिङ र बाटो विस्तारको काम सकिएको छ ।

योजना सुरु हुँदा ५६ करोड लागतमा केबलकार निर्माण गर्ने योजना रहे पनि कम्पनीले केबलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरणसमेत जडान गर्ने योजना थप गरेको उनले बताए ।

Advertisement

कम्पनीले बन्दीपुरमा पर्यटकलाई आकर्षित गर्न ९ तले सुविधा सम्पन्न आधुनिक कम्पलेक्स निर्माण गर्नेछ । कम्पलेक्सभित्र रुफ टपमा आधुनिक भ्यु टावर, नवौं तलामा बेनक्युट हल निर्माण गरिनेछ भने आठौं, सातौं, छैठौं, पाँचौं र चौंथो तलामा अत्याधुनिक ८० कोठाका स्तरीय होटल बनाइनेछ ।

शर्माका अनुसार तेस्रो तलामा रेस्ट्रो जोन, दोस्रो तलामा सपिङ मल र पहिलो तलामा केबलकारको ड्राइभ स्टेसन, टिकट काउन्टर र उत्तर दक्षिण प्यासेजको निर्माण गर्ने गरी काम अघि बढाइएको छ ।

५ रोपनी क्षेत्रफलमा निर्माण हुने भवनका लागि ४५ करोड भन्दा बढी बजेट लाग्ने अनुमान गरिएको छ । बन्दीपुरको पर्यटनलाई प्रबद्र्धन गर्न कृत्रिम तालमा रात्रिकालीन लाइटिङ वाटर म्युजिकल सांस्कृतिक सो देखाउन उपकरण जोड्न गाउँपालिकासँग छलफल गरिएको शर्माले जानकारी दिए ।

उनले भने, ‘बन्दीपुर गाउँपालिकाले बनाउन लागेको कृत्रिम ताललाई आकर्षणयुक्त बनाउन कम्पनीले त्यसमा केही उपकरण जोड्न गाउँपालिकासँग प्रस्ताव गरेको छ ।’ साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जंगल सफारीको सेवा सुरु गर्ने गरी कम्पनीले लगानी गर्ने जनाएको छ ।

परियोजनामा सबै क्षेत्रका लगानी सुनिश्चित गर्न निजी, सामुदायिक, सहकारी, सरकारी र संस्थागत साझेदारी एवं व्यवस्थापनको मोडेलमा पुँजी निर्माण गरिने बन्दीपुर केबलकार प्रालिका अध्यक्ष तारानाथ उपाध्यायले बताए ।

यसलाई लागु गर्न कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीको रुपमा लैजाने प्रक्रिया अन्तिम चरणमा पुगेको र सबै पक्षलाई वर्गीकरण गरेर साना लगानीकर्तालाई समेत पर्यटन सहकारी बनाएर सेयर दिने कम्पनीले जनाएको छ ।

केबलकार निर्माण २०७६ साल चैतसम्म सम्पन्न गरी सञ्चालनमा ल्याउने र बाँकी पूर्वाधार साढे २ वर्षमा सम्पन्न गर्ने कम्पनीले लक्ष्य लिएको छ । कम्पनीले परियोजनामा साझेदारी गर्न तनहुँवासीसँग आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया