एसइई दिने छात्रालाई सेनेटरी प्याड

समाधान संवाददाता २०७५ चैत २ गते ८:५६

समाधान

एसइई परीक्षामा सम्मिलित छात्रालाई तनहुँमा सेनेटरी प्याड वितरण गरिने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा महिनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको तथ्यांकलाई मध्यनजर गर्दै गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले सेनेटरी प्याड वितरण गर्न लागेको हो ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका प्रमुख महिला विकास अधिकृत तुलसा अर्यालले प्राकृतिक नियमानुसार छात्रामा हुने महिनावारीलाई सहजरुपले व्यवस्थापन गरी परीक्षामा सहभागी गराउन यस्तो कार्यक्रम अघि सारिएको बताइन् । उनले भनिन्, ‘परीक्षा सञ्चालन भइरहेको समयमा महिनावारी भइहालेमा सहजरुपमा आफूलाई व्यवस्थापन गर्न सकिन्छ भन्ने आत्मविश्वास दिलाई परीक्षा दिने वातावरण बनाउन परीक्षा केन्द्रबाटै सेनेटरी प्याडको व्यवस्था गर्न लागेका हौं ।’ चैत १० गतेदेखि सुरु हुने एसइई परीक्षामा तनहुँमा ६ हजार ३ सय ५७ विद्यार्थी सहभागी हुँदैछन् । तनहुँमा तोकिएका २४ परीक्षा केन्द्रमा ३ हजार भन्दा बढी छात्राले भाग लिने छन् ।

Advertisement

सामाजिक विकास मन्त्रालयले छात्रा संख्याको अनुपातका आधारमा सेनेटरी प्याड खरीदका लागि जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ तनहुँलाई ४१ हजार रकम बराबरको चेक प्रदान गरेको छ । उनका अनुसार परीक्षा केन्द्रमा सहभागी जम्मा छात्राको संख्याको १५ प्रतिशतलाई समस्या हुन सक्ने अनुमान गरी बजेट व्यवस्थापन गरिएको छ । चेक जिल्ला शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले समन्वय इकाईका निमित्त प्रमुख डिल्लीरमण भट्टराईलाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा शिक्षा समितिका अध्यक्ष वाग्लेले मन्त्रालयले निकै सान्दर्भिक र महत्वपूर्ण कार्यक्रम सञ्चालन गर्न लागेको बताए । चेक रकम ग्रहण गर्दै समन्वय इकाईका निमित्त प्रमुख भट्टराईले समयमै प्याड खरीद गरेर परीक्षा केन्द्रमा पुर्‍याइने जानकारी दिए । उनले केन्द्राध्यक्षलाई अभिमुखीकरणको समयमा यस विषयमा जानकारी गराई सहज प्याड वितरणको व्यवस्था मिलाइने जानकारी दिए ।

सामाजिक विकास मन्त्रालयले गण्डकी प्रदेश अन्तर्गतका मनाङ र मुस्ताङबाहेकका ९ जिल्लामा सेनेटरी प्याड खरीदका लागि ५ लाख रकम प्रदान गरेको छ । मनाङ र मुस्ताङमा छात्राको संख्या कमी रहेकाले रकम उपलब्ध गराउन नसकिएको मन्त्रालयले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया