डिजिटल निगरानीमा स्याङ्जा

समाधान संवाददाता २०७५ चैत २६ गते १२:२३

समाधान संवाददाता, स्याङ्जा

स्याङ्जा सदरमुकाममा प्रविधीमैत्री यन्त्र सिसी क्यामेरा जडानको तयारी गरिएको छ । शान्ति सुरक्षाको दृष्टिकोणले पुतली बजारमा सिसी क्यामरा जडान गरिने अगुवा उद्योग वाणिज्य संघ स्याङ्जाले जनाएको छ ।

सदरमुकामका व्यस्त बजार क्षेत्रमा सिसी क्यामेरा जडान गरेर सदरमुकामलाई डिजिटल निगरानीमा राख्ने तयारी गरिएको हो । बजार क्षेत्रमा प्रहरीको गस्ती नियमित भए पनि सुरक्षा व्यवस्थालाई डिजिटल मैत्री बनाउन संघले डिजिटल निगरानीमा राख्न खोजेको हो । संघले स्थानीय प्रशासन, उद्योगी व्यवसायी तथा बैंकर्ससँग छलफल गरेर सिसी क्यामेरा जडान गर्ने तयारी गरेको छ ।

Advertisement

बैंक तथा वित्तीय संस्था र ठूला व्यवसायी आन्तरिकरुपमा सुरक्षित भए पनि वाह्य सुरक्षाको लागि सिसी क्यामेरा जडान गर्न लागिएको संघका अध्यक्ष विक्रान्तकुमार श्रेष्ठ ‘सुवर्ण’ ले बताए । २०५९ सालमा विभिन्न ६ ठाउँमा ५ लाख ७ हजार लागतमा सिसी क्यामेरा जडान गरिएपनि मर्मत हुन नसक्दा समस्या आएको हो । पुतलीबजारमा पहिला जडान गरेको सिसी क्यामेरा अहिले मुख्य केन्द्र सहिद चोकमामात्र चालु अवस्थामा रहेको प्रहरी प्रमुख एसएसपी राजकुमार लम्सालले बताए । बैंक तथा वित्तीय संस्था सुरक्षाको ठूलो जोखिममा रहेको बताउँदै मुक्तिनाथ विकास बैंकका शाखा प्रमुख ऋषि ढकालले जोखिमलाई डिजिटल निगरानीले सहयोग पुग्ने बताए ।

स्मार्ट सिटी वालिङमा छैन सिसी क्यामेरा
प्रविधीको विकास भए पनि स्मार्ट सिटी वालिङमा हालसम्म सिसी क्यामेरा जडान हुन सकेको छैन । उद्योग वाणिज्य संघको पहलमा ०७२ सालमा ९ ठाउँमा सिसी क्यामेरा जडान गरी डिजिटल निगरानीमा राखिए पनि मर्मत नहुदाँ सञ्चालनमा नआएको हो । यहाँ ८ लाखमा नगरपालिकाले मिर्दी, मोड, बैंकरोड, कटहरबोट, अप्ताल चोक, भुम्रेचोक, वडा प्रहरी चोक, तल्लो वालिङ, लक्ष्मी बैंक चोकमा जडान भएको सिसी क्यामेरा देखाउनेमात्र भएको छ ।

Advertisement

गल्याङमा पनि समस्या
स्याङ्जाको तेस्रो ठूलो बजार गल्याङमा जडान भएको सबै क्यामेरा सञ्चालनमा छैनन् । उद्योग वाणिज्य संघको पहलमा १२ स्थानमा जडान भएको सिसी क्यामेरा हाल ८ ठाउँमा मात्र सञ्चालनमा छ । गल्याङमा अस्पताल, टिकट काउन्टरका २ वटा र लक्ष्मी बैंक अगाडिको क्यामेरा बिग्रेका हुन् । गल्याङ उद्योग वाणिज्य संघको पहलमा ०७४ सालमा ६ लाखको लागतमा जडान भएको क्यामेरा १ वर्षमै ४ ठाउँमा बिग्रेको हो ।

तपाईको प्रतिक्रिया