पोखरामा एमबिएस लक्षित प्रतियोगिता

समाधान संवाददाता २०८१ वैशाख १४ गते १२:१६

पोखरा ।
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको अगुवाइमा पोखरामा केस डाइग्नोसिस एण्ड एनालाइसिस प्रतियोगिता बिहिबारबाट सुरु भएको छ ।


२ दिने प्रतियोगिता एमबिएस विद्यार्थीहरुको क्षमता अभिवृद्धि गराउने लक्ष्यसहित पोखरामा पहिलोपटक आयोजना गरिएको हो । प्रतियोगिताको उद्घाटन गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले गरेका थिए ।

उनले पोखरामा पहिलो पटक एमबिएस विद्यार्थीहरुलाई लक्ष्य गरी केससँग सम्बन्धित प्रतियोगिता निकै उपयोगी हुने सुनाए ।
गुप्तेश्वर क्याम्पस प्रमुख धर्मराज बरालले पोखरा र आसपासमा रहेका क्याम्पसबिचको सम्बन्धलाई सुमधुर सँगै ज्ञान आदानप्रदान गर्नु नै प्रतियोगिताको मुल उद्देश्य रहेको बताए ।

Advertisement


सोही अवसरमा बोल्दै आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले सामुदायिक क्याम्पस सिमित साधन स्रोतबाट संचालित भएपनि यसको प्रभावकारिता भने उल्लेखनीय रहेको सुनाए ।


पिएन क्याम्पसका व्यवस्थापन संकायका सहायक प्रमुख ध्रुव बुढाथोकीले क्षमता अभिवद्धिका निम्ति अध्यापनमा सिप सिक्ने प्रविधिको बिकास गर्न आवश्यक रहेको औंल्याए ।

Advertisement


प्रतियोगितामा बिहीबार विद्यार्थीलाई पोखरा विश्वविद्यालयका विशेषज्ञ प्राडा उमेशसिंह यादवले तयार पारेको केस उपलब्ध गराइएको आएक्युएसी प्रमुख एवं कार्यक्रम संयोजक राजकुमार सुवेदीले जानकारी दिए ।


प्रतियोगितामा विभिन्न क्याम्पसबाट ३/३ जना प्रतिस्पर्धी एवं क्याम्पस प्रतिनिधिसहित ६ टिमको सहभागिता छ । गुप्तेश्वर क्याम्पसबाट २ र अन्य जनप्रिय क्याम्पस, कन्या क्याम्पस, पिएन क्याम्पस र दमौलीको आदिकवि भानुभक्त क्याम्पसबाट १/१ जना टिमको सहभागिता छ ।


उपलब्ध गराइएको केसको प्रतियोगीहरुले १ घण्टामा घटनाको निदान गरेका थिए । सोही घटनाको निदानलाई हूबहू शुक्रबार विशेषज्ञ प्रा.डा यादव माझ प्रस्तुतीकरण गर्ने संयोजक सुवेदीले जानकारी दिए । सोही घटना निदान र प्रस्तुतीकरणको आधारमा विजयी घोषणा हुनेछ ।


विजयी हुने क्याम्पसले ५ हजार नगद सहित प्रमाण–पत्र प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः ४ हजार, ३ हजारसहित प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुने सम्पूर्ण प्रतियोगिलाई सहभागिताको प्रमाण–पत्र प्रदान गरिने छ ।

तपाईको प्रतिक्रिया